Aamsanchar

अनुगमन गर्ने निकाय कहाँ छ ? बजारमा अस्वस्थकर माछामासु खुलेआम विक्री

Author Image
सोमवार, माघ २८, २०७५

बिर्तामोड।

इजाजतपत्र नलिई कसैले पनि पशु बधशाला स्थापना गर्न वा मासु विक्री वितरण गर्न पाइँदैन । तर, झापामा खुलेआम रुपमा अस्वस्थकर मासु बिक्री भइरहँदा पनि नियमनकारी निकाय वेखवर जस्तै छ । दैनिकजसो लाग्ने हाटमा समेत खुला रूपमा मासु बेचिन्छ ।

छाला भएको मासु बिक्री गर्न नपाइने, खुला स्थानमा राखेर बेच्न नपाइने, जाली तथा सिसाले छोपिएको हुनुपर्ने, ढल निकासको व्यवस्था, एकैजातको एक स्थानबाट मात्र बिक्री गर्नुपर्ने, बासी, सडेगलेको मासु बेच्न नपाइने नियम भए पनि सडक, साँघुरा गल्लीमा समेत मासु काटेर बेचिन्छ । ठेलामा राखेर घर–घर घुमाउँदै मासु बिक्री गर्दा समेत नियमनकारी निकाय रमिते बन्ने गरेको छ । जसका कारण खुला रुपले बिक्री गरिएको अस्वस्थकर मासु खान उपभोक्ता बाध्य छन् ।

बिर्तामोड, सुरुङ्गा, भद्रपुर, दमकजस्ता ठूला वजारमा पनि व्यवस्थित वधशाला छैनन् । भएका वधशालाको पनि नियमित अनुगमन नगरिँदा उपभोक्ता अस्वस्थकर मासु खरिद गर्न बाध्य छन् । दिनहुँ सयौंको संख्यामा खसी, राँगा, बंगुर, हाँस, कुखुरा काटेर खुलेआम रुपमा अस्वस्थकर मासु बिक्री भइरहेको छ । तर, नियमनकारी निकाय जिल्ला प्रशासन कार्यालयले यस विषयमा न अनुगमन गर्छ न त स्थानीय तहले नै ।

कतिपय ठूला होटलले भारतबाट समेत मासु आयात गर्ने गरेका छन् । खासगरी सीमावर्ती शहरमा भारतबाट खुलेआम मासु भित्रिन्छ । भारतका पानीट्यांकी, नक्सलबारी र शिलगढीजस्ता शहरबाट दैनिक सयौं किलो मासु अवैध रूपमा आउँछ । खसी, माछा र गोरुको मासु भित्र्याई होटलमा बेचिन्छ । साना होटल र भट्टी पसलले भारतीय बजारबाट खसीको आन्द्राभुँडी ल्याएर बिक्री गरिरहेका छन् । आन्द्राभुँडी स्वास्थ्यका दृष्टिले खान उपयुक्त नमानिने भएकाले भारतमा बिक्री हुँदैन । तर, त्यही झापाका होटलमा जताततै बिक्री हुँदै आएको छ ।

सरकारले सर्वसाधारण जनताको स्वास्थ्य रक्षाका लागि मासु तथा मासुबाट बन्ने खाद्य पदार्थमा मिसावट रोक्न र मासुमा हुने स्वस्थता तथा मासुको स्वाभाविक गुण बिग्रन नदिई उपयुक्त स्तर कायम राख्नको लागि पशु वधशाला र मासु जाँच ऐन २०५५ऐन नै बनायो । तर, उक्त ऐनको कार्यान्वयन जिल्ला प्रशासन कार्यालयबाटै उल्लंघन हुँदा झापाली उपभोक्ताले वर्षाैदेखि अस्वस्थकर मासु सेवन गरिरहेका छन् ।

कुनै पशु वध गर्नुभन्दा अघि पशु वधशाला स्थापना भएको क्षेत्रमा पशु वधशालामा र पशु वधशाला नभएको क्षेत्रमा सुपरीवेक्षकले तोकेको स्थानमा त्यस्तो पशु जँचाउनुपर्ने ऐनले नै व्यवस्था गरेको छ । पशु जाँच गर्ने कार्यविधि समेत छ । कार्यविधिमा भनिएको छ– ‘जाँच गरिएको पशु वध गर्न उपयुक्त देखिएमा मासु निरीक्षकले चिन्ह समेत अंकित गरी त्यस्तो पशु बध गर्ने अनुमति दिनेछ । (३) उपदफा (१) बमोजिम जाँच गरिएको पशु रोगी देखिएमा त्यस्तो पशु वध गर्न मासु निरीक्षकले रोक लगाउन सक्नेछ । रोग लागी वा नलागी कालगतिले मरेको पशुको मासु बिक्री र छालासहितको मासु बिक्री गर्न पाइने छैन ।

ऐनको उल्लंघन गर्ने व्यक्तिलाई पहिलोपटक भए दशहजार रुपैयाँसम्म र दोश्रोपटकदेखि पटकै पिच्छे बीसहजार रुपैयाँसम्म जरिवाना वा तीन महिनासम्म कैद वा दुवै सजाय हुने व्यवस्था समेत छ । यस ऐन अन्तर्गतको कसूर सम्बन्धी मुद्दा समेत प्रमुख जिल्ला अधिकारीले हेर्नेछ र प्रमुख जिल्ला अधिकारीको निर्णय उपर चित्त नबुझ्ने व्यक्तिले जिल्ला अदालतमा पुनरावेदन गर्न सक्ने ऐनमै व्यवस्था गरिएको छ ।

उता दमक नगरपालिकाले नयाँ सब्जी बजार नजिकै केही बर्षअघिदेखि सञ्चालनमा ल्याएको सुरक्षित बधशाला भनिएको नमूना माछामासु बजार फोहोर र दुर्गन्धित रहेको पाइएको छ । नाम नमूना भए पनि फोहोर बधशालाको रुपमा परिणत भएको बजार ब्यवस्थापन समितिका अध्यक्ष घनेन्द्रकुमार राईले बताए ।

बधशालाको सटरमा माछामासु काट्नका लागि छुट्याइएको ठाउँमा नभएर ढलमाथि राखेर काट्ने गरेको पाइएको छ, भन्दा नटेरेपछि अहिले केही भन्न छाडेको अध्यक्ष राईले बताए । शुरुवातका केही दिनमा सुरक्षित रुपमा नै माछामासु काटिए पनि अहिले लापरवाही भएको उनी स्वीकार गर्छन् । हामीले नगरपालिका र वडा कार्यालयलाई बारम्बार अनुगमन गर्न भनेका छांै, तर वास्ता भएन– राईले भने– यहाँ १७ वटा माछामासुको ब्यवस्थित सटरहरु रहेका छन् ।

दमक–३बाट माछा किन्न भनेर बधशालामा छिरेका कुमार राईले आफू माछा नै नकिनी फर्केको बताए । ढलमा दुर्गन्धित पानी र फोहोरको माथि नै राखेर माछा काटिरहेको देखेपछि घिन लाग्यो– बधशालामा भेटिएका राईले भने ।

सुरक्षित रुपमा खसीबोका, कुखुरा, माछा काट्ने स्थलसहित बिक्री बितरणको प्रवन्ध गरिएको दमक नगरपालिकाले बताउँदै आएको छ । तर, यहाँ माछामासु काट्दा सबैभन्दा बढी लापरवाही हुने गरेको छ । दमक नगर बजार अनुगमन समितिका अध्यक्ष भीम पौड्यालले यस बिषयमा गुनासो आएको बताउँदै तत्कालै अनुगमन गरिने जानकारी दिए ।

खसीबोका, कुखुरा र माछा काट्दा भएको फाहोर नलीमा बग्ने र ढलको ढकनी पनि नभएको अवस्थामा त्यहाँमाथि राखेर माछामासु बिक्री भएको पाइन्छ । स्वस्थ माछामासु बिक्री गर्न नगरपालिकाले बनाएको नमूना माछामासु बजारको हविगत लाजमर्दो रहेको दमक उद्योग बाणिज्य संघका कार्यसमिति सदस्य ज्ञानु पौड्यालले बताए । नमूना बधशालाको अवस्था नै यस्तो छ भने अरु अवस्था के होला ?– उनले प्रश्न गरे । बधशालाभित्र पस्दा नाक थुनेर पस्नुपर्ने अवस्था रहेको छ ।

पशु बधशाला र मासु जाँच नियमावली, २०५७मा मासु बिक्रेताले पालन गर्नुपर्ने शर्त अन्तर्गत आप्mनो पसलबाट बिक्री गरिने मासु सुरक्षित भएको भनी जाँच गराई छाप वा चिन्ह लगाइएको हुनुपर्ने, छाप वा चिन्ह लगाइएको मासुको अंश बिक्रीको अन्तिम समयसम्म देखिने गरी राख्नुपर्ने, मासुमा पानी छर्कन वा मासु पानीमा डुबाउन वा पानीमा भिजाइएको कपडाले छोप्न नपाइने, मासु झुण्ड्याउँदा छाना, भित्ता, भुइँ वा खम्वामा नछोइने गरी झुण्ड्याउनुपर्ने रहेका छन् ।

यसैगरी मासु तौलने ढक तराजुहरु अन्य वस्तु वा भुइँमा लसपस नहुने गरी राख्नुपर्ने, प्रयोग नभएको अवस्थामा अचानो तथा टेबुल सफासुग्गर रहने गरी छोप्नुपर्ने, मासुको आकर्षण बढाउन वा मासु सड्नबाट बचाउन कुनै प्रकारको रंग, औषधि वा रसायन प्रयोग नगर्ने, वध गरिएको पशुको भित्र्यांश, आन्द्राभुंडी, टाउको, खुट्टी, रक्ति जस्ता भाग मासु पसलमा नै राखी बिक्री गर्न चाहेमा मासुसँग लसपस नहुने गरी अलग्गै राखी बिक्री गर्न पर्ने उल्लेख भए पनि यो केही गरेको पाइँदैन ।

मासु बिक्री कक्ष पानी नजम्ने र नसोस्ने गरी सजिलैसँग सफा गर्न सकिने र चरा, किरा, मुसा प्रबेश गर्न नसकिने गरी बनाइएका, पसलको भित्ता पक्का खालको र सजिलैसँग सफा गर्न सकिने तथा सिलिङ धुलो मैलो नखस्ने र पानी नतप्किने गरी बनाइएको, तौल गर्नको लागि प्रयोग हुने तराजु झुण्ड्याइएको वा अलग्गै टेबुलमा राखिएको र पर्याप्त स्थान भएको, खेर गएको मासुका टुक्रा, तरल पदार्थ वा अन्य पदार्थ सहज किसिमले तह लगाउने व्यवस्था मिलाइएको हुनुपर्नेमा यो समेत यहाँ छैन ।

दमकमा एक सय ५० भन्दा बढी मासु पसलहरु रहेका छन् । अधिका्रश खुलमखुल्ला सडक आसपासमा नै रहेको बताइन्छ । यसको प्रभावकारी अनुगमन हुन सकेको छैन ।

Views: 193

प्रतिक्रिया (०)