भद्रपुर।

घरेलु मदिरा नियन्त्रण अभियानबिरुद्ध झापाका आदिवासी जनजाति समुदाय आन्दोलित बनेका छन् ।

सरकारले वैकल्पिक रोजगारको व्यवस्था नगरेको अवस्थामा झापाका स्थानीय सरकारसहित प्रहरी, प्रशासनले माघ १ गतेदेखि घरेलु मदिरा उत्पादन गर्ने उद्योग र बिक्री वितरणमाथि रोक लगाएपछि उनीहरु आन्दोलित बनेका हुन् ।

आन्दोलित बनेका हल्दिवारी गाउँपालिकाका आदिवासी जनजाति समुदायले सोमबार सदरमुकाममा र्याली प्रदर्शन गर्दै जिल्ला प्रशासन कार्यालय झापा, आन्तरिक राजश्व कार्यालय मेची र जिल्ला समन्वय समिति झापामा लिखित ज्ञापनपत्र बुझाएको छ ।

घरेलु मदिरा नियन्त्रण अभियानले जातीय संस्कृति तथा परम्परामाथि प्रहार भएको, निम्नवर्गका नागरिकले रोजीरोटी गुमाउनु परेको भन्दै घरेलु मदिरा अभियान तत्काल रोक्न उनीहरुले सरोकारवाला निकाय समक्ष माग गरेका हुन् ।
मेचे, राई, लिम्बू, मगर, तामाङ, गुरुङ लगायतका समुदायले जन्मदेखि मृत्युसम्मका संस्कारमा आवश्यक पर्ने घरेलु मदिरा निम्न वर्गका लागि रोजगारी समेत भएकोले विदेशी रक्सी स्थापित गर्न प्रशासनले चलखेल गरेको आरोप लगाएका छन् । अभियानकी सदस्य सचिव इब्वरा मगरले भनिन्– ‘संघीय लोकतान्त्रिक राज्य व्यवस्थामा नागरिकको पहिचान र परम्परामाथि बन्देज लगाउन पाइँदैन ।’
जनताको गाँस, बास र कपाससहितको प्रत्याभूति गर्ने कामबाट राज्य व्यवस्था टाढिँदै जानु बिडम्बना भएको ठहर गर्दै हल्दिवारी गाउँपालिका क्षेत्रका ६ सयभन्दा बढी घरेलु मदिरा उत्पादक व्यवसायी महिलाहरूले रोजगारको विकल्प स्थानीय सरकार र झापा प्रशासनले दिनुपर्ने उनीहरुको माग छ ।
स्थानीय मदिरा व्यवसाय सञ्चालनको वातावरण निर्माण गर्न स्थानीय सरकारदेखि प्रदेश, संघसम्म संघर्ष गर्ने गरी स्थानीय अगुवा झमवीर नेम्वाङको नेतृत्वमा २१ सदस्यीय संघर्ष समिति गठन गरेर उनीहरु आन्दोलित बनेका छन् । संर्घष समितिले स्थानीय सरकार हुँदै प्रदेश सरकार र केन्द्रीय सरकारलाई पनि आफ्नो माग बारे जानकारी गराउने संघर्ष समितिका संयोजक नेम्वाङले जानकारी दिए ।
गत कात्तिक ७ गते झापाको कनकाई नगरपालिकामा सम्पन्न स्थानीय तहको संयुक्त निर्णयले झापामा घरेलु मदिरा नियन्त्रण अभियान शुरु गरेको र माघ १ गतेदेखि यसलाई जिल्लामा कार्यान्वयनमा ल्याइएको हो ।

