अमित खम्बू / अर्जुनधारा।



छोरीको घरमा आएकी सुनसरी चकरघट्टी निवासी ४५ वर्षीया चन्द्रकला चौधरी विहिबार अर्जुनधारा–९मा रहेको सुखानी शहीद स्मृती उद्यान परिसरमा हर्षीत् मुद्रामा भेटीइन् ।
श्रीमानसँग उद्यान घुम्न पुगेकी उनलाई टिकटसँगै ‘प्रणय दिवस’को सन्दर्भमा उद्यान व्यवस्थापन समितिकोतर्फबाट मूल गेटमा उपहारस्वरुप प्रदान गरिएको एक थान गुलाब फूलसँगै दुई वटा चक्लेट प्राप्त हुँदा थप आश्चर्यमा परेकी उनी भन्छिन्– श्रीमानको साथमा घुम्न पाउँदा र समितिको उपहार दुवै राम्रो लाग्यो ।

केटी अवस्थामा घुम्न नपाए पनि अहिले घुम्न पाँउदा खुशी भएकी उनले समितिको उक्त कार्यको प्रशंसा समेत गरेकी थिइन् । त्यस्तै समितिकी सदस्य अस्मिता चिमरीया नेपाललाई उनको श्रीमान राजनले समितिले राखिदिएको ‘ह्याप्पी भ्यालेन्टाइन डे’ लेखिएको चेकर बोर्ड अघि गुलाब फूल दिँदै माया व्यक्त गरेको दृश्यले खुशी बनाएको प्रतिक्रिया दिइन् ।
चन्द्रकला र अस्मिताको जोडी मात्र नभई उद्यानमा पुग्ने सबै जोडीहरु समितिले उपलब्ध गराएको उपहार पाउँदा आश्चर्यसँगै खुशी व्यक्त गरेको देखिन्थ्यो । त्यसैगरी समितिले मूल गेटमा राखेको चेकर बोर्डमा उद्यानमा आउने जोडीहरुसँगै उद्यान नजिकको सडकमा आवातजावत गर्ने सर्वसाधारणहरु पनि खुशी भई तस्वीर खिचिरहेका थिए ।

दिवस केन्द्रित कार्यक्रम फरकरुपमा सञ्चालन गर्ने अभियान अन्र्तगत सुरु गरिएको उक्त कार्यक्रममार्फत् उद्यानमा पुग्ने पहिलो एक सय जना जोडीलाई गुलाबको फूलसँगै चक्लेट र सबैको लागि तस्वीर खिचाउन चेकर बोर्डको उपलब्ध गराइएको सुखानी शहीद स्मृती प्रतिष्ठान नेपालका व्यवस्थापक पूष्प तिवारीले जानकारी दिए ।
दिवसको दृष्टीकोणले उपहार पहिलो सय जना जोडीको लागि मात्र उपलब्ध भएपनि अभियानको उद्धेश्य सबैलाई प्रेमको महत्व बुझाउनु भएको समितिका अध्यक्ष टंकनाथ बरालले बताए । “जोडीबिचको प्रेम मात्र होइन,‘संसारका सम्पूर्ण जीवबिच प्रेम गर्न सकिन्छ भन्ने हो”–उनले प्रष्ट पारे ।
पश्चिमी संस्कृती शहीद उद्यानमा भन्ने प्रश्नमा अध्यक्ष बरालले समय सान्दर्भिक सबै प्रकारको दिवसहरुलाई मौलिक ढाँचामा रुपान्तरण गर्दै समितिले गतिविधिहरु सञ्चालन गर्ने उनले बताए ।


