बिर्तामोड।
‘पानी अचल’ भन्दै ब्राम्हण पुरोहितले एक बालकको ब्रतबन्ध गर्न नमानेको घटना सार्वजनिक भएको छ । पानी अचल जातको ब्रतबन्ध गर्न नमिल्ने भन्दै ति पुरोहितले जातीय विभेद गरेको पीडितको गुनासो छ ।
घटना मोरङको रतुवा माई नगरपालिका–४ सिंगारीको हो । घटना विवरण अनुसार गत माघ २५ गते शुक्रवार आठ बर्षीय बालक प्रतीक निरौलाको ब्रतबन्धको मिति तोकिएको थियो । सबैलाई निम्तो समेत गरिएको थियो । ब्रतबन्धको विधि पूरा गरेर जनै लगाइ दिने पुरेत स्थानीय डिल्लीराम पोखरेललाई टुंगो समेत गरियो । तर, पुरेत पोखरेलले बालकको ब्रतबन्ध गर्न मानेनन् ।
स्रोतका अनुसार स्थानीय केही व्यक्तिले अन्तरजातीय सम्बन्धबाट जन्मिएका बालक ‘पानी अचल’ भएकोले उसको ब्रतबन्ध गरे पुरेतलाई नै बहिष्कार गर्ने चेतावनी दिएपछि उक्त परस्थिति सृजना भएको बताइएको छ । सञ्जय निरौलाले नेवार जातकी महिलासँग प्रेम विवाह गरेको र उनीहरुबाट जन्मिएका प्रतीक ४ बर्षको भएपछि आमाले छोडेर गएको बताइएको छ । आमाले छोडेपछि प्रतीकको पालनपोषण बुबा सञ्जय र हजुरबुबा त्रिलोचनले नै गर्दै आएका छन् ।
ब्राम्हण परिवारमा जन्मिएको बालकलाई विधिपूर्वक ब्रतबन्ध गराउन लाग्दा स्थानीय केही व्यक्तिको दबाबमा परेर पुरेतले नमानेको र अहिलेको अवस्थामा पनि आफूहरु जातीय विभेदको सिकार भएको प्रतीकका हजुरबुबा त्रिलोचनले गुनासो गरे । पुरेतले ब्रतबन्ध गर्न नमानेपछि राष्ट्रियता संरक्षण युवा मञ्च नेपालको अगुवाईमा सोही दिन निम्तालुकाबीच प्रतीकलाई जनै पहि¥याउने काम सम्पन्न भएको छ ।
पुरेत पोखरेललाई त्यहाँ कर्म नगर्न अन्य पुरेतहरुले पनि विभिन्न त्रास र दबाब दिएको बताइन्छ । सामाजिक विकृतिबिरुद्ध क्रियाशील मञ्चले अहिलेको अवस्थामा जातीय विभेदको शिकार हुनु नपरोस् भनी बालक प्रतीकलाई जनै पहि¥याएको मञ्चका अध्यक्ष रञ्जन देवकोटाले बताए ।
त्यहाँ मञ्चका सल्लाहकार शान्तवीर बुढाथोकी, अध्यक्ष देवकोटा, कोषाध्यक्ष जीवन रिजाल तथा प्रेम खड्का, किरण भण्डारी, शिव बास्कोटा लगायत १० जनाको युवा टिम निरौला निवासमा पुगेर सामाजिक विकृतिको भण्डाफोर गर्दै जनै पहि¥याएका थिए । भागवत गीतालाई साक्षी राखी उक्त टोलीले प्रतीकका हजुरबुबा त्रिलोचनद्वारा भिक्षादान दिँदै जनै पहि¥याएको बताइएको छ । उक्त टोलीले निम्तालु सबैलाई वैदिक सनातन हिन्दू धर्म उदार र बृहत् भएकोले धर्मको नाममा विभेद र संकुचित व्यवहार नगर्न सबैलाई सुझाएका थिए ।
उनीहरुले जातीय र अन्य कुनै विभेद गर्नेलाई संविधानमार्फत नै कडा कानूनी कार्वाहीको व्यवस्था रहेको हुनाले समाजमा हुने त्यस्ता विकृतिको भण्डाफोर गर्नुपर्ने र दोषीलाई कानूनको कठघरामा उभ्याउनुपर्नेमा जोड दिएका छन् । आफूहरु अन्यायमा परेको भन्दै उनीहरुले विकृतिविरुद्ध लड्ने उक्त मञ्चलाई गुहारेका थिए ।
त्रिलोचनका पिताको एक बर्षअघि निधन भएको बेला समेत सो परिवारले विभेदको सामना गर्नु परेको बुझिएको छ । उक्त बालकलाई पानी अचलको संज्ञा दिँदै केही स्थानीयले बालक बसेकै घरमा मृतकको किरिया गर्न नमिल्ने तथा यो समाजमा बस्ने हो भने अर्कै घरमा किरिया गर्नुपर्ने अडान राखेका थिए । स्थानीयको अडान अनुसार नै त्रिलोचनले आफ्नो पिताको किरिया अर्कै घरमा गरेका थिए ।
पिताको बार्षिकीसँगै लगाइएको पुराण समापनमा नाति प्रतीकको ब्रतबन्ध गर्न लाग्दा समेत सो परिवारले त्यस्तै बिभेदको सामना गर्नुपरेको छ । यस विषयमा स्थानीय अगुवा र प्रशासन तथा जनप्रतिनिध मौन देखिएका छन् ।