Aamsanchar

कैदीबन्दीको आन्दोलनपछि जेलर दाहालको सरुवा

Author Image
बुधवार, फागुन ८, २०७५

चन्द्रगढी ,

जिल्ला कारागार झापाका कैदी बन्दीहरुले एक सुत्रीय माग राखी आन्दोलन गरेपछि जेलर राजु दाहाललाई सरुवा गरिएको छ ।

कैदीबन्दीहरुले जेलर दाहाललाई कारागारबाट सरुवा गर्नु पर्ने माग राख्दै बुधबार नाराबाजी गरेपछि जिल्ला प्रशासन कार्यालय झापाले दाहालको सरुवा गरेको हो । जिल्ला प्रशासन कार्यालय झापाले अर्काे व्यवस्था नभएसम्मका लागि बुधवार नै झापा कारागारको जेलरमा चुँडाराज भट्टराईलाई पठाएको छ भने दाहाललाई इलाका प्रशासन कार्यालय गौरीगञ्ज सरुवा गरेको छ ।

कैदीबन्दीहरुले बिहान १० बजेदेखि नै कारागारको छतमा चढेर दाहाललाई सरुवा गर्नु पर्ने माग राख्दै नाराबाजी गरेका थिए । कैदीबन्दीहरुको नाराबाजीको जानकारी पाउनसाथ प्रमुख जिल्ला अधिकारी जनकराज दाहाल, एसपी दिनेशराज मैनाली, सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेललगायतको टोली कारागार पुगेर कैदीबन्दीको मागलाई सम्बोधन गर्ने भनेपछि आन्दोलन रोकिएको थियो । कैदीबन्दीहरुले जेलर दाहालले आफुहरुलाई बारम्बार शोषण र अत्यचार गर्दै आएको आरोप लगाएका छन् ।

उनीहरुले १७ वटा बुँदामा आफुहरुलाई जेलर दाहालले बारम्बार अत्याचार गर्दै आएको कुराहरु उल्लेख गर्दै आरोप लगाएका थिए । जसमा कैदीबन्दीहरुले कारागारको गाडीको इन्धन खर्च, अस्पताल जाँदा आउँदाको खर्च, स्वास्थ्य उपचारको खर्च, कारागारको मर्मत सम्भार लगायतका खर्च बेहोर्नु पर्न बाध्यता भएकाले त्यसको अन्त्य गर्नु पर्ने कुरा उल्लेख गरेका छन् ।

यसैगरी, समयमा उपचार गर्न अस्पताल नलगेका कारण कैदी अनिल उराउको मृत्यु भएको र अन्य विरामीहरुको पनि ज्यान जान सक्ने जोखिम रहेको उल्लेख छ । साथै उनीहरुले जेलर दाहालले चौकीदारसँग पटक पटक पैसा माग्ने गरेका र चौकीदार र नाइकेहरुलाई जेलरको कार्यकक्षमा बोलाइ आफुले भने अनुसार नगरे असक्षमको आरोप लगाइ सरुवा गर्ने सम्मको धम्की दिँदै आएको आरोप लगाएका छन् ।

साथै कारागारको बाहिरी भागमा रहेको पोखरी पुर्नका लागि कैदीबन्दीहरुको प्रयोग गरिएको तर, त्यसबापत आएको पैसा भने जेलरले राख्ने गरेको आरोप लगाएका छन् । उक्त ज्ञापन पत्र कैदीबन्दीहरुले प्रमुख जिल्ला अधिकारी दाहाललाई बुझाएका थिए ।

यता, जेलर दाहालले कैदीबन्दीहरुले लगाएका आरोप कुनै पनि आफुलाई थाहा नभएको बताए । ‘मलाई केही पनि थाहा छैन’ जेलर दाहालले भने–‘उनीहरुले एक्कासी आन्दोलन गरेपछि मात्र थाहा भयो ।

उनीहरुले उल्लेख गरेका कुनै पनि कुरा सत्य होइनन्् । मैले कहिले पनि उनीहरुको .अहित हुने काम गरेको छैन । र यस विषयमा उनीहरुसँग केही कुरा भएको छैन ।’ जेलर दाहालले आफु भद्रपुरबासी नै भएको बताउँदै कारागारको स्तरउन्नतीका लागि विभिन्न योजनाहरु ल्याएर काम गरेको बताए ।

यता प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले कैदीबन्दीहरुको मागलाई सम्बोधन गर्दै समस्या समाधानका लागि जेलर दाहाललाई अर्काे स्थान पठाइएको बताए । उनले कैदी बन्दीहरुले दाहालमाथि लगाएको आरोपको विषयमा केही दिन भित्रमा छानविन समिति गठन गरेर सत्यतथ्य पत्ता लगाउने बताए ।

Views: 159

प्रतिक्रिया (०)

सम्बन्धित खबर