Aamsanchar

हीरा थापाले विनियोजन गरे २ करोड

Author Image
शनिवार, फागुन ११, २०७५

सुरुङ्गा।

झापा क्षेत्र नं. ४ (ख) का प्रदेशसभा सदस्य माननीय हीराकुमार थापाले आफ्नो क्षेत्रको विकासनिर्माणका लागि २ करोड रुपैयाँ विनियोजन गरेका छन् ।

निर्वाचन क्षेत्र पूर्वाधार विकास कोषबाट आफ्नो क्षेत्रमा २ करोड रुपैयाँका विभिन्न विकासनिर्माणका परियोजनाका लागि बजेट विनियोजन गरिएको हो । माननीय हीराकुमार थापाको अध्यक्षतामा बसेको निर्वाचन क्षेत्र पूर्वाधार विकास कोष समितिको बैठकबाट बजेट बिनियोजनको निर्णय भएको हो ।

सीमित साधनस्रोत भएता पनि चुनावताका गरिएका प्रतिबद्धता अनुरुप क्रमशः विकास परियोजनालाई लगानी गर्दै जाने प्रदेशसभा सदस्य थापाले बताए । उनको क्षेत्रमा झापा गाउँपालिकाका ७ वटै वार्डहरु, शिवसताक्षी नगरपालिकाका ३ वटा वार्डहरु र कनकाई नगरपालिकाका १ देखि ७ सम्मका वार्डहरु गरी जम्मा १७ वटा वार्डहरु पर्दछन् ।

विनियोजित बजेट अनुसार झापा गाउँपालिका अन्तर्गत सडकवारी–स्यालमारा सडकका लागि १० लाख, प्राथमिक तहका मदरसाहरुको स्तरोन्नतिका लागि ६ लाख, नमुना प्रा. वि गैरीगाउँका लागि ५ लाख, कुवाडी–सुगाबथान सडकका लागि ९ लाख र होकलबारी पक्की पुलका लागि ६० लाख गरी जम्मा ९० लाख रुपैयाँ छुट्याइएको छ ।

त्यसै गरी, शिवसताक्षी नगरपालिका अन्तर्गत नुनमाटी खानेपानी आयोजनाका लागि १५ लाख, बालज्योति प्रा. वि. सर्दारे का लागि ५ लाख, संगमचोक सडकका लागि ११ लाख, धरमपुर–मंगलबारे सडकका लागि ११ लाख गरी जम्मा ४२ लाख रुपैयाँ छुट्याइएको छ । कनकाई नगरपालिका जम्मा ६६ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

जस अनुसार, सन्काहा खोला तटबन्धनका लागि २० लाख, नर्वदेश्वर सामुदायिक भवनका लागि ११ लाख, परोपकार सामुदायिक भवनका लागि ११ लाख, जनजागृति सामुदायिक भवनका लागि ११ लाख, एकान्तटोल सामुदायिक भवनका लागि ५ लाख र प्रगतिपथ सहकारी कृषि भण्डार कनकाई–५ का लागि ८ लाख विनियोजन गरिएको छ ।

त्यसै गरी, माननीय थापाकै पहलमा जामुनाबारी सामुदायिक वन समूह अन्तर्गतको जामुनखाडी सिमसार तथा पर्यटकीय क्षेत्रमा खुला चिडियाखाना निर्माणका लागि प्रदेश सरकारका तर्फबाट १ करोड ३० लाख रुपैयाँ विनियोजन गरिएको बताइएको छ । नमुना विद्यालयको रुपमा प्रस्तावित कनकाई–३ सुरुङ्गास्थित कनकाई माध्यमिक विद्यालयका लागि विज्ञान प्रयोगशालाको स्तरोन्नतिका लागि विद्यालयका सहायक प्रधानाध्यापक एवम् विज्ञान कार्यक्रम इञ्चार्ज हरिप्रसाद तिम्सिनाले जानकारी दिए ।

आफ्नो निर्वाचन क्षेत्रभित्र प्राथमिकताका आधारमा बजेट विनियोजन गरिएको र स्वीकृत बजेटका आधारमा काम सम्पन्न गर्नका लागि स्थानीय जनता र जनप्रतिनिधिसँग सहकार्य गर्दै अघि बढ्ने सांसद थापाका स्वकीय सचिव एवम् युवा नेता बिनोद रानाले जानकारी दिए ।

Views: 298

प्रतिक्रिया (०)

सम्बन्धित खबर