सुरुङ्गा।

झापामा वैकल्पिक ऊर्जा उत्पादन गर्ने लक्ष्यका साथ स्थापित झापा इनर्जी लिमिटेडले आफ्ना गतिविधि अघि बढाएको छ ।

पब्लिक लिमिटेड कम्पनीको रुपमा स्थापित उक्त संस्थाले पहिलो प्रोजेक्टको रुपमा १० मेगावाटको सोलार पावर प्रोजेक्ट शुरु गर्ने भएको हो ।

कम्पनीले विद्युत विकास विभागबाट विद्युत उत्पादनको सर्वेक्षण अनुमतिपत्र समेत लिइसकेको छ । यसका लागि शिवसताक्षी नगरपालिका–४ स्थित बुलुचौक २५ बिगाहा जमिनको टुंगो लागेको र थप ५० बिगाहा जमिन किन्नका लागि पहल अघि बढाइएको छ ।

८७.९८ करोडको लागतमा सो स्थलमा इको–टुरिज्मसहितको सोलार पावर प्रोजेक्ट सञ्चालन गरिनेछ । ऊर्जा उत्पादनसँगै परियोजनालाई अझै लाभदायक बनाउनका लागि पुष्प गार्डेन, मत्स्यपालन, रिसोर्ट, फनपार्क जस्ता योजनाहरु पनि समावेश गरिने बताइएको छ ।
सानो लगानी ठूलो अवसर राष्ट्र निर्माणमा भन्ने सोचका साथ शुरु गर्न लागिएको उक्त परियोजनाका लागि नेपाल सरकारसँग २५ वर्षको विद्युत खरिद बिक्री सम्झौता (पीपीए एग्रिमेन्ट) गरिने तथा जडित सोलार प्यानलको जोखिम न्यूनीकरणका लागि परियोजनाको बिमा गरिनेछ । परियोजनाको सहकार्य झापा इनर्जी लिमिटेड र कोरियन कम्पनी एन.के. सोलार वीच हुनेछ ।
‘सुखी नेपाली, समृद्ध नेपाल’ को सपना पूरा गर्न जनस्तरबाट पनि पहल हुनुपर्ने सोच अनुरुप सम्पूर्ण झापालीलाई विश्वासको डोरीले बाँधेर आर्थिक सञ्जालमा राख्ने उद्देश्यका साथ विश्वसनीय र फलदायी परियोजना शुरु गर्न लागिएको बताइएको छ । सो संस्थाको ११ सदस्यीय सञ्चालक समितिमा अध्यक्ष एलपी साँवा, सदस्यहरुमा झलकसिंह दर्लामी, प्रेम गिरी, रामचन्द्र उप्रेती, गणेश पोखरेल, गणेश ढकाल, ज्ञानुराम प्रसाई, सुवास भट्टराई, बसन्त बानियाँ, शिवकुमार ढुंगेल र देवीभक्त श्रेष्ठ रहेका छन् ।
त्यसै गरी, झापाका १५ वटै स्थानीय तह, काठमाण्डौ उपत्यका, युरोप, इजरायल, निर्माण व्यवसाय, सहकारी, शिक्षा लगायतका क्षेत्रका लागि संयोजक तथा सहसंयोजकहरु तोकेर प्रचारप्रसार तथा आवश्यक व्यवस्थापनको काम अघि बढाइएको कनकाई नगरपालिकाका संयोजक ख्यामप्रसाद ओलीले जानकारी दिए ।
समग्र राष्ट्रको आर्थिक समृद्धि र मुलुकले भोगिरहेको ऊर्जा संकटलाई मध्यनजर गर्दै उक्त परियोजना शुरु गर्न लागिएको र यसका लागि १ लाख, २ लाख, ५ लाख र १० लाख रुपैयाँको शेयर २५ प्रतिशत रकम बराबरको पहिलो किस्ता फागुन मसान्तभित्र र बाँकी रकम ३ वटा बराबर किस्तामा ३÷३ महिनामा भुक्तानी गर्ने गरी खुला गरिएको सञ्चालक समिति अध्यक्ष एलपी साँवाले जानकारी दिए ।

