चारपाने । झापा गोल्डकप नजिकिए संगै खेल प्रेमीहरु उत्साहित बनेकाछन । गोल्डकप आयोजक समितिका अनुसार प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको छ । बिर्तामोड स्थित डोमालाल राजवंशी रंगशालामा १८ फागुन देखि २७ सम्म सञ्चालन हुने प्रतियोगिताको विजेताले नगद १२ लाख ५५ हजार तथा उपविजेता टोलीले ६ लाख ५ हजार रुपैयाँ पाउनेछ । प्रतियोगिताको मुख्य प्रायोजन मगमग चाउचाउले गरेको छ । प्रतियोगितामा आयोजक झापा–११ फुटबल क्लबसहित मुलुकका ९ र हङकङको एउटा टोलीको सहभागिता रहने झापा गोल्डकपका अध्यक्ष महेन्द्रकुमार गिरीले बताए ।
आयोजक झापा–११, तीन विभागीय टोलीहरु त्रिभुवन आर्मी, शसस्त्र प्रहरी बल र नेपाल पुलिसका साथै मनाङ मस्र्याङ्दी क्लब, थ्री स्टार, मोरङ–११, रुपन्देही फुटबल क्लब, सहारा क्लब पोखरा र हङकङ नेप्लिज एकाडेमीले प्रतियोगितामा सहभागीता जनाउने भएका हुन् । यस वर्ष मस्ट भ्यालुएवल प्लेयरलाई एउटा मोटरसाइकल प्रदान गरिने झापा गोल्डकपका संरक्षक जलकुमार गुरुङले बताए ।
गुरुङका अनुसार प्रतियोगिताका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र उत्कृष्ट प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रत्येक खेलको म्यान अफ द म्याचले नगद १५ हजार रुपैयाँ पाउनेछन् ।अघिल्ला वर्षहरुमाझैँ चौथो संस्करणको उद्घाटन समारोहमा झापाका दुईजना पुराना फुटबल खेलाडीलाई नगद २५ हजारसहित सम्मान गरिने छ । खेल सञ्चालन हुने डोमालाल राजवंशी रंगशालाका जग्गादाता परिवारलाई नगद २५ हजार रुपैयाँसहित सम्मान गरिने जनाइएको छ । यो रकम हरेक वर्ष गोल्डकप उद्घाटनका दिन प्रदान गरिने आज विर्तामोडमा आयोजित पत्रकार सम्मेलन मार्फत बताईयो ।
फोटो : विनोद पाण्डे कमल/आमसंचार