काठमाडौं 

ऊर्जा, जलस्रोत एवं सिँचाइमन्त्री वर्षमान पुन अचानक अस्वस्थ भएपछि बिहीबार अपराह्न उपचारका लागि थापाथलिस्थित नर्भिक अस्पताल भर्ना भएका छन। मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे बुझ्न प्रधानमन्त्री केपी शर्मा ओली नर्भिक पुगेका छन।

प्रधानमन्त्रीले मन्त्री पुनको उपचारमा हरसम्भव प्रयत्न गर्न चिकित्सकहरूलाई अनुरोध गरेको अस्पतालले जनाएको छ। मन्त्री पुनको स्वास्थ्य अवस्थाबारे वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, कृषि तथा पशुपक्षीमन्त्री चक्रपाणि खनाल, पूर्वगृहमन्त्री जनार्दन शर्मा, गृहसचिव प्रेमकुमार राईले जानकारी लिएका छन।

मन्त्री पुनको स्वास्थ्यबारे जानकारी लिन सभामुख कृष्णबहादुर महरा नर्भिक अस्पताल पुगेका थिए। मन्त्री पुनको स्वास्थ्य अवस्था सामान्य हुन लागेको उनका संचार सल्लाहकार रोशन खड्काले जानकारी दिए। उनका अनुसार मन्त्री पुन बेहोस भएपछि अस्पताल भर्ना गरिएको हो।


