अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाले विरोधमात्र गरे विकासका कार्य ठप्प हुने चेतावनी दिएका छन् ।
मङगलबार उद्योग वाणिज्य संघको आयोजनामा होली मिलन साथै शनिश्चरे बजार विषयक अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख रानाले व्यस्तताकारण मन्तव्य राखेर हिँडन खोज्दा कार्यक्रममा उपस्थित स्थानीय व्यवसायिहरुले विरोध जनाएका थिए ।

नगरप्रमुख रानाले वडाध्यक्षहरुसँग छलफल गर्नुस् आफ्नो माग राख्नुस् नगरले नितिगत हिसाबले सम्बोधन गर्नेछ भन्दै आग्रह गर्दा पनि व्यवसायिहरुले बजारको अन्तरक्रिया कार्यक्रममा नगरप्रमुख अनिवार्य हुनैपर्छ भन्दै विरोध जनाएपछि रानाले आक्रोशित बन्दै यसरी विरोध मात्र गरे विकासका कार्य ठप्प हुने चेतावनी दिए ।

उनले भने– विरोधले मात्र शनिश्चरे बजारलाई विकास गर्न सकिँदैन भोलि पुरानो बजारको नामले परिचित शनिश्चरे बजार किन विकास हुन सकेन भनेर प्रश्न उठ्दा स्थानीय व्यवसायिको विराध भन्ने कारण आउने हुँदा विकास ठप्प बनाउन आफै भागिदार नहुनु भनेका थिए । बजार व्यवस्थित बनाउन नगरले प्रयास गरिरहेको छ ।सहकार्य नभए विकास पनि नहुने जिकिर गरे ।बजार व्यवस्थापनमा नगरले बनाएको निति अनुरुप चल्ने बताए ।जनसंख्या बढेको तर क्षेत्रफल नबढेकोले बजार व्यवस्थापन गर्न जटिल भएको उनको भनाइ थियो ।तर कठिनाइ भए पनि नगरपालिका बजार व्यवस्थापन गर्न मानसिक तयार रहेको भन्दै प्रतिबद्धता जनाएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि नगरप्रमुख राना कार्यक्रम स्थलबाट बिदा भइसकेपछि शनिश्चरे बजारको भावी योजनाको वृत्तचित्र प्रस्तुत गर्दा स्थानीय व्यवसायिहरुले स्वीट्जरलेण्डको बनाको की शनिश्चरेको भन्ने प्रश्न गर्दै कार्यक्रमलाई नै बहिस्कार गरी कार्यक्रम स्थल शनिश्चरे बजारको सामुदायिक हलबाट बाहिरिएका थिए ।
करिब चालीस जना व्यवसायिको उपस्थिती रहेको उक्त कार्यक्रममा विवाद बढेपछि कार्यक्रम नै चिथलबिथल भएको थियो ।


