Aamsanchar

एसइइ : मुलुकभरका प्रश्नपत्र आजै रुजु गरिने

Author Image
शुक्रवार, चैत १५, २०७५

काठमाण्डौं ।

एसइइ परीक्षाको प्रश्नपत्र परीक्षा अगावै बाहिरिएपछि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा बसेको केन्द्रीय सुरक्षा समितिको आकस्मिक बैठकले आजै मुलुकभर पठाएका प्रश्नपत्र रुजु गर्ने निर्णय गरेको छ ।

मुलुकभरका १ हजार ९ सय ६९ वटै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र जिल्ला परीक्षा समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी वा उसले तोकेको अधिकारीको रहोबरमा जाँच गर्ने निर्णय गरिएको हो । देशभरका सबै परीक्षा केन्द्रका लागि पठाएका प्रश्नपत्र नजिकको प्रहरी चौकीमा राखिएका छन् । साँझ ६ बजेसम्म प्रश्नपत्रको सुरक्षा अवस्था जाँच सकेर सुरक्षा समितिको बैठक पुनः बस्ने मन्त्रालयले जनाएको छ ।

त्यसपछि मात्रै थप निर्णय लिने परीक्षा नियन्त्रक विष्णुप्रसाद अधिकारीले बताउनुभयो । परीक्षाको सुरक्षा व्यवस्थापनका लागि शिक्षा सचिवको अध्यक्षतामा केन्द्रीय सुरक्षा समिति रहने व्यवस्था छ । परीक्षा अगावै हिजो र आज समेत प्रश्नपत्र बाहिरिएपछि शिक्षामन्त्री गिरिाजमणि पोखरेलको निर्देशनमा आज बैठक बसेको हो । यसैबीच प्रदेश २ मा प्रश्नपत्र बाहिरिएकोबारे अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले विशेष टोली खटाएको छ ।

यसअघि प्रश्नपत्र बाहिरिएपछि एसईई अन्तर्गत प्रदेश नम्बर २ मा आज हुने भनिएको सामाजिक विषयको परीक्षा पनि स्थगित भएको छ । सप्तरीमा प्रश्नपत्र बाहिरिएपछि हिजो हुने भनिएको विज्ञान बिषयको परीक्षा पनि चैत २२ गतेका लागि सारिएको थियो । प्रश्नपत्र बाहिरिएकाले परीक्षा दिन नपाएको भन्दै रौतहट, बारा लगायत जिल्लामा विद्यार्थीहरुले केहीबेर प्रदर्शन गरेका थिए ।–रेडियो कान्तिपुरबाट

Views: 152

प्रतिक्रिया (०)

सम्बन्धित खबर