काठमाण्डौं ।
संसदको सार्वजनिक सुनुवाई समितिले सर्वोच्च अदालतका लागि सिफारिस ५ जना न्यायाधीशविरुद्ध उजुरीका लागि सार्वजनिक आहृवान गरेको छ । समितिको आज बसेको बैठकले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस प्रकाशकुमार ढुंगाना, सुष्मालता माथेमा, कुमार रेग्मी, हरि फुयाँल र मनोजकुमार शर्माविरुद्ध उजुरीका लागि १० दिनको समय दिएको छ ।
उजुरीका लागि दिएको समयसिमा सकिएपछि थप प्रक्रिया अगाडी बढाईने समिति सदस्य योगेश भट्टराईले जानकारी दिनुभयो । अस्ति मंगलबार बसेको न्यायपरिषद् बैठकले उच्च अदालत पाटनका मुख्य न्यायाधीश ढुंगाना, उच्च अदालत सुर्खेतकी मुख्यन्यायाधीश माथेमा तथा बरिष्ठ अधिवक्ताहरु रेग्मी, फुयाँल र शर्माको नाम पनि न्यायाधीशका लागि सिफरिस सिफारिस गरेको छ ।
सोही दिनको बैठकले १८ जनालाई उच्च अदालतको न्यायाधीशमा सिफारिस पनि गरेको थियो । यसैबीच, न्यायाधीशहरुको काठमाडौंमा जारी तेस्रो राष्ट्रिय सम्मेलनमा अहिले बन्द सत्र जारी छ । बन्द सत्रमा कार्यसम्पादन, कार्यप्रगति, जनअपेक्षा, आगामी दिनको चुनौती लगायत बिषय समेटिएका कार्यपत्रहरु प्रस्तुत भइरहेका छन् । समुह विभाजन गरी ती प्रतिवेदनहरुमाथि छलफल हुने र निष्कर्ष भोली प्रस्तुत गर्ने तयारी छ ।

न्यायपालिकाको स्वतन्त्रता, न्यायीक सुशासन हाम्रो प्रतिवद्धता भन्ने नारा सहित जारी सम्मेलनमा बिशेष, उच्च र जिल्ला अदालतका न्यायाधीशहरु सहभागी छन् । सम्मेलन भोली सकिनेछ ।-रेडियो कान्तिपुरबाट


