Aamsanchar

ब्लास्ट रोगले सखाप पार्दैछ,सबै चिन्तित

Author Image
शनिवार, भदौ ४, २०७३

blast rog

सर्लाही ।

अन्नको भण्डार मानिने मध्य तराईको सर्लाहीमा धानबालीमा ब्लास्ट रोगको प्रकोप फैलिन थालेको छ । गाँजिएर गाढा हरियो देखिनुपर्ने धान दुई सातादेखि वर्षा नहुँदा अहिले पहँेलिएर ब्लास्ट रोगको प्रकोप फैलिन थालेपछि त्यहाँका किसान चिन्तित भएका छन् ।

मोतीपुर गाविसका किसान खेत रायले तीन बिगाहा क्षेत्रफलमा लगाएको धान खेतमा पानी अभावका कारण बिरुवा पहँेलिएर ब्लास्ट रोगको प्रकोप फैलिन थालेको बताए ।

वरिष्ठ जिल्ला कृषि विकास अधिकृत युगलकिशोर तिवारीले अझै एक साता वर्षा नहुने हो भने, धानबालीमा ब्लास्ट रोगको प्रकोप फैलिँदै जाने उच्च जोखिम रहेको छ भन्दै जिल्लाको पश्चिमी क्षेत्रमा पर्ने मोतीपुर, कौडेना तथा मुसैली लगायतका गाविसमा ब्लास्ट रोगको प्रकोप देखापर्न थालेको बताउनुभयो ।

बागमती सिँचाइ आयोजनाको टर्सरी नहरवाट मोतीपुर, कौडेना तथा मुसैली लगायतका गाविसका जग्गा सिञ्चित नहुने भएकाले त्यहाँका किसानलाई आकासे पानीको भर पर्नुपर्ने बाध्यता रहेको छ । खेतमा पानीको अभावले धानको पातमा स–साना सेता टीकाको बीचमा लाम्चिला खैरा थोप्ला (ब्लास्ट रोग) देखिएको छ । ब्लास्ट रोग सँगसँगै रिट्ठे, ट्वाटी, किर्थो, गबारो, खपटे हिस्पा, फड्के कीराको प्रकोप बढ्ने जोखिम पनि उच्च रहेको जिल्ला कृषि विकास कार्यालय सर्लाहीले जनाएको छ ।

यस बर्ष समयमै मनसुन सक्रिय भएकाले सर्लाहीको कूल धानखेती गरिने ५६ हजार हेक्टरमध्ये ९५ प्रतिशतभन्दा बढी क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको थियो । यहाँका अधिकाँश किसानले राधा–११, लल्का बासमती, करिया कमोद, हर्दिनाथ, तरहरा, वर्षे–२०१४ जातका धान लगाएका छन् भने बेंसी र मध्य पहाडमा उब्जाइने रामपुर कपोजिट जातका धान पनि केहि किसानले लगाएका छन् ।

जिल्ला कृषि विकास कार्यालयका अनुसार, जिल्लामा ५६ हजार हेक्टर क्षेत्रफलमा धानखेती गरिन्छ । सो क्षेत्रफलमध्ये २८ हजार ३८२ हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा रहेको छ । जिल्लाको दक्षिण–पश्चिम क्षेत्रमा मनुष्मारा सिँचाइ आयोजना र मध्य भागमा बागमती सिँचाइ आयोजनाले किसानलाई सिँचाइ सुविधा दिँदै आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 181

प्रतिक्रिया (०)

सम्बन्धित खबर