Aamsanchar

सिजनल फ्लुले आठ जनाको मृत्यु

Author Image
शनिवार, वैशाख १४, २०७६

हुम्ला। ।

जिल्लाको दक्षिणी क्षेत्रको ताँजाकोट गाउँपालिकामा एक हप्तामा आठ जनाको मृत्यु भएको छ । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावले गर्दा मृत्यु भएकाहरुको रोग पत्ता नलागे पनि सिजनल फ्लुको आशंका गरिएको छ ।

गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत बिष्णु बहादुर शाहीका अनुसार छाती दुख्ने, ज्वरो आउने, खोकी लाग्ने, सास फेर्न गाह्रो हुने, टाउको दुख्ने जस्ता लक्षणहरु बिरामीमा देखिने गरेको र त्यस लगत्तै मृत्यु हने गरेको छ । मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा रहेको अधिकृत शाहीले बताउनु भयो । बिरामी परेको दुई देखि एक हप्तामा मृत्यु भएको उहाँले बताउनु भयो ।

यसरी मृत्यु हुनेमा कुशुम रिठ्याल, सुरजित खड्का, रंगे कोली, सुनकेसा सुनार, अम्मकली मल्ल, बजिरे सुनार, लक्ष्य सुनार र दश महिनाका बालक सन्जिव थापा रहेको उहाँले बताउनु भयो । यी मृतक वडा नम्बर एक, दुई र तीनका रहेका छन् । मृत्यु हुने दश महिने एक बालक भए पनि अरु सबै पचास वर्ष भन्दा माथिका रहेका छन् ।

अहिले बिरामीको चाप स्वास्थ्य चौकीमा बढेको छ । पालिकाले स्वास्थ्यकर्मीलाई पनि सबै वडामा परिचालन गरेको उहाँले बताउनु भयो । औषधी पनि अभाव रहेको स्थानीयले गुनासो गरेका छन् । अब अज्ञात रोग फैलिएको आशंका गरिए पछि औषधीको अभाव हुन नदिन गाउँपालिका लागि परेको शाहीले बताउनु भयो ।

यसका लागि जिल्ला र प्रदेश सरकारसंग विशेषज्ञ चिकित्सक सहितको टोली गाउँमा ल्याउनका लागि पत्राचार गरिएको र प्रदेश सरकारको स्वास्थ्य महाशाखाबाट औषधी सहित चिकित्सकको टोली गाउँमा आउने तयारी भइ रहेको उहाँले बताउनु भयो । उक्त टोलीले ताँजाकोट र अदानचुलीमा स्वास्थ्य शिविर पनि संचालन गर्ने भएको छ ।

यता स्वास्थ्य कार्यालय पनि नयाँ खबर आउन वित्तिक्कै औषधी, चिकित्सक सहित टोली जाने तयारीमा रहेको कार्यक्रम सम्पर्क व्यक्ति लबी रावतले बताउनु भयो । ताँजाकोट सिमकोटबाट चार दिन पैदल लाग्ने गरेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 137

प्रतिक्रिया (०)

सम्बन्धित खबर