१ जेठ, सोलुखुम्बु ।

साहसिक आरोही कामीरिता शेर्पाले २३औँ पटक विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्दै नयाँ कीर्तिमान बनाएका छन् ।
४९ वर्षीय कामिरिताले आफ्नै रेकर्ड बुधबार बिहान ७ः५० मा विश्वको सर्वोच्च शिखर सगरमाथामा पाइला टेकेर तोडेका हुन् ।उनले सेभेन समिट ट्रेक्स कम्पनीबाट आरोहण गरेका हुन् । सोलुखुम्बुका कामीरितासँगै वाङ्दी शेर्पा र केही विदेशीले समेत सगरमाथाको सफल आरोहण गरेका छन् ।

२२ औंपटक सगरमाथाको चुचुरोमा पुग्ने कीर्तिमानी पनि कामीरिताकै नाममा छ । उनीपछि बढी सगरमाथा आरोहण गर्नेको सूचीमा आप्पा शेर्पा र फुर्वातासी शेर्पाको नाम आउँछ । उनीहरुले समान २१ पटक सगरमाथा चढेका छन् । यद्यपि, उनीहरुको नाममा थप कीर्तिमान बन्ने छैन । आरोहणबाटै सन्यास लिइसकेका छन् ।
पर्यटन विभाग पर्वतारोहण शाखाका नायबसुब्बा रामेश्वर निरौलाले सोलुखुम्बु थामेका शेर्पाले बुधबार हिमाल आरोहणमा नयाँ कीर्तिमान कायम गरेको बताए ।

सन् १९९४ मा पहिलोपटक सगरमाथाको आरोहण गरेका कामीरिताले आरोहणअघि सञ्चारकर्मीसँग कुरा गर्दै २५ पटक चुचुरोमा पुगेपछि आराम गर्ने बताएका थिए । बौद्ध धर्मअनुसार एक महिनाअघिदेखि गुम्बामा पूजापाठ गरी आरोहणमा गएका शेर्पाले आरोहण कठिन हुने भए पनि आफूलाई सामान्य लाग्ने बताए ।


