धनकुटा,
धनकुटा जिल्ला कारागारका एक कैदी फरार भएका छन् । बजारमा तरकारी खरीद गर्न निस्केका कैदी मिलन खड्का आइतबार साढे २ बजेदेखि फरार भएको जिल्ला कारागार धनकुटाका प्रमुख ईश्वरीप्रसाद रेग्मीले बताउनु भयो ।
कारागारमा चौकीदारको जिम्मेवारी पाएका कैदी खड्का कैदीको मेसको लागि तरकारी खरीद गर्न बजार निस्केका थिए । सधैँ तरकारी र अन्य उपभोग्य सामग्री खरीद गर्न बजार निस्कने गरेका खड्का सुरक्षाकर्मीको आँखा छलेर फरार भएका हुन् ।
२०६२ सालदेखि डाँका मुद्दामा १२ वर्षे जेल सजाय भुक्तान गरिरहेका खड्काले १५ महिना मात्रै जेल सजाय भुक्तान गर्न बाँकी रहेको थियो ।
संखुवासभा जिल्लाको मावदिन गाविस-७ निवासी खड्का फरार भएपछि उनलाई निगरानी गर्न खटिएका असई चन्द्र थापालाई हिरासतमा राखिएको छ । घटनाको छानविन भइरहेको छ । फरार कैदीको खोजी भइरहेको र जिल्लाको सबै क्षेत्रमा सुरक्षाकर्मी परिचालन भएको धनकुटाका प्रहरी उपरिक्षक विभुतिराज पाँण्डेले बताउनु भयो ।