Aamsanchar

फेसबुक कै कारण श्रीमती ‘पोइल’

Author Image
मङ्गलवार, भदौ ७, २०७३

यादवराज पुरी, रौतहट ।

9caa602a07489ebeef7681a2b9823222_L

सामाजिक सञ्जाल फेसबुकले बिछोड भएको साथीभाई, इष्टमित्र, प्रेमी प्रेमिकालगायत धेरैलाई मिलन गराएको उदाहरणहरू प्रसस्तै भेटिन्छ । तर फेसबुककै कारण रौतहट चन्द्रपुर नगरपालिका–५ बेल्डीका २५ वर्षीय रामबाबु चौधरीको भने बिजोग भएको छ । घरबारै लथालिंग भएको छ ।
दुई वर्षअघि दाङ तुलसीपुरकी पूर्णिमा परियारसँग प्रेम बिवाह गरेका रामबाबुले बिजुलीको पसल गर्न भनी जम्मा पारेका चार लाख ३२ हजार रुपियाँ लिएर श्रीमती भागेपछि उहाँको बिजोग भएको हो ।
एक वर्षको छोरा समेत घरमै छोडेर श्रीमती चितवन भरतपुरको केटासँग भागेको दुखेसो पोख्दै उहाँले ‘पैसा त लगी लगी छोराको बिजोग बनाएर घरबारै लथालिंग पारेर गई’ । साउन ३२ गतेदेखि श्रीमती घरमा नभएको उहाँ बताउनुहुन्छ ।
श्रीमती प्रायः फेसबुकमै तल्लिन हुने गरेको र गाली गर्दा उल्टै रिसाउने अनी अर्कै केटासँग भाग्ने धम्की समेत बारम्बार दिने गरेको पीडित रामबाबुले बताउनुभयो । श्रीमतीले फेसबुकमा नाम परिवर्तन गरी शिल्पा बर्मा राखेको र आशिक शर्मा नाम गरेको केटासँग घण्टौंसम्म व्यस्त रहने गरेको उहाँको भनाई छ । फेसबुकअनुसार केटा होटलमा काम गर्ने व्यक्ति हुन् ।
इलेक्ट्रिसियनको तालिम लिएर सोही काममा लामो समयदेखि अनुभव बटुलेका रामबाबुको श्रीमती अर्कैसँग पोइल गएपछि बिजुली पसल खोल्ने सपना चकनाचुर भएको छ । परिवारका अन्य सदस्य आफुसँग नरहेकोले एक वर्षीय बालकको हेरचाह गर्ने समेत कोही नहुँदा उहाँ निकै पिरोलिनु भएको छ ।
उहाँले चितवनको भरतपुरमा श्रीमतीको निकै खोजतलास गर्नु भयो । फेला नपरेपछि प्रहरीमा उजुरी समेत दिनु भएको छ । पैसा फिर्ता लिने उद्देश्यले केटाको मोबाइल नम्बर समेत लिएर खोजतलास गरिरहनु भएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)