गोविन्द पोखरेल
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको एक महिने जागरण अभियान समाप्त भएको छ । यो एक महिने जागरणले निकै कमजोर अवस्थाबाट गुज्रिरहेको नेपाली कांग्रेस कति तङ्ग्रियो होला रु शिथिल अवस्थामा रहेका केन्द्रदेखि टोलसम्मका नेता–कार्यकर्तामा कत्तिको गतिशीलता पैदा भयो होला रु जिज्ञासा लाग्नु स्वाभाविकै हो । कसैले मन पराए पनि नपराए पनि नेपाली कांग्रेससँग गौरवपूर्ण इतिहास छ । यसले नेपालमा व्यवस्था परिवर्तनका लागि भएका आन्दोलनमा महत्वपूर्ण भूमिका निर्वाह गरेको पनि विर्सन मिल्दैन ।
साँच्चै सवल र सक्षम त्यो नेपाली कांग्रेस अहिले भने अत्यान्तै जिर्ण अवस्थामा पुगेको प्रतीत हुन्छ । यस्तो कसरी र किन भयो भन्ने विषय नेपाली कांग्रेसका नेता कार्यकर्ताले खोज्न जरुरी छ । एक महिने जागरण अभियानले मात्र मुर्झाएको नेपाली कांग्रेसमा ताजगी आउने अवस्था छैन । यसका नेता–कार्यकर्ता नै निरास छन् । यो निरास मानसिकताबाट उनीहरू मुक्त भएनन् भने नेपाली कांग्रेस अझ रसातलतिर धस्सिने सम्भावना देखिन्छ । यो प्रसंग नेपाली कांग्रेसको मायाले उठाएको होइन । पुरानो र ऐतिहासिक पार्टी सवल र सक्षम हुनुपर्छ भन्ने मान्यता राखेको मात्र हो ।
केही समयअघि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले ‘कठैबरा१ नेपाली कांग्रेस’ भन्दा यसका नेता–कार्यकर्तालाई रिस उठेको थियो । कतिले त आक्रोशपूर्ण जवाफ पनि फर्काएका थिए । तर, वास्तविकता भने त्यस्तै छ । सानेपा पार्टी कार्यालयमा नेता नरहरि आचार्यले पत्रकारहरू सामु ‘बिचरा१ हामी कांग्रेस’ भनेर आफूहरू निरीह बनेको अभिव्यक्ति दिए । उनको आशय पार्टी गतिवधि ठप्प भएको, दैनिक गर्नुपर्ने कामहरू पनि नभएको र कांग्रेस खिइँदै गएको भन्नेतर्फ थियो ।
एक महिने जागरण अभियानमा गएका केन्द्रीय नेतालाई पनि कार्यकताले उल्टै नेतृत्व नसुध्रिए जागरण अभियानको कुनै तुक नरहने जवाफ दिए । पार्टी सभापति शेरबहादुर देउवाले एउटा कार्यक्रममा भ्रष्टाचार उन्मूलन गर्न कांग्रेसले मात्र सक्छ भन्दा आफ्नै कार्यकर्ता गलल्ल हाँसे । यसो भइरहनुका पछाडिको कारण कांग्रेसले आफैँभित्र खोज्न जरुरी छ । अहिलेको अवस्थामा नेपाली कांग्रेस सबल र सक्षम हुनुपर्छ । किनभने सरकारलाई ठीक ट्र्याकमा हिँडाउन पनि प्रतिपक्ष दह्रो हुन आवश्यक छ ।
नेपाली कांग्रेसको पार्टी संगठन आठ तहको छ । टोलदेखि केन्द्रसम्म । तर, बिडम्वना के छ भने ती संरचनाहरू अस्तित्वमै देखिँदैनन् । कांग्रेसमा स्थानीय तहको निर्वाचन भई सक्नु पर्ने थियो । तर, भएन । भातृ संगठनहरू पनि छैन । कार्यकर्ता उत्पादन गर्ने थलोका रुपमा परिचित नेविसंघ, तरुण दल, लगायतको म्याद गुज्रिसकेको छ । केन्द्रीय नेता नवीन्द्रराज जोशीले एक पत्रकारसँग भनेका छन् – भ्रातृ संस्थाहरू वर्षौदेखि तदर्थवादमै छन् ।
लेखक पोखरेल । पार्टीका तल्ला तहका सबै संरचनाको हविगत त्यस्तै छ । नेविसंघ विघटन भएको चार महिना भयो, तदर्थ समिति समेत बन्न सकेको छैन, यसले पार्टीको फ्याक्ट्री नै सुकेको छ, फ्याक्ट्री बन्द गरेपछि पार्टीको भविष्य कहाँ रहन्छ रु अर्का केन्द्रीय सदस्य शेखर कोइराला भन्छन् – ‘पार्टी कमजोर होस्, हामी कुर्सीमा बसिराखौं भन्ने भावनाले नेतृत्व तह अघि बढेको छ । अधिवेशनको सुरुवातको काम समेत भएको छैन । जागरण अभियानमा जाँदासमेत कार्यकर्ताहरू हामीलाई होइन, तपाईहरूलाई पहिला जागरण चाहिएको छ भन्छन् । विधान पालना भएन, पार्टी तदर्थवादमा चल्यो भन्छन् । अहिले त स्थानीय तहमा तदर्थवाद होइन, पार्टीका संरचना नै छैन भने पनि हुन्छ’ ९कान्तिपुर २३ जेठ० ।
नेपाली कांग्रेसका नेताहरूले पनि निराश बन्दै अभिव्यक्ति दिइरहेको अवस्था छ भने कार्यकर्ताको मनस्थिति कस्तो होला, सहजै अनुमान गर्न सकिन्छ । वास्तवमा कुनै पनि राष्ट्रिय पार्टी बिग्रनु, सकिनु र भत्किनु हुँदैन । यसले राष्ट्र र जनतालाई फाइदा गर्दैन । नेपाली कांग्रेसभित्र अरु पार्टीमा जस्तै नराम्रोसँग गुट फस्टाएको छ । यसका कार्यकर्ता भन्छन्( जबसम्म यी गुटहरू पार्टीको नेतृत्व तहमा हावी हुन्छन्, तबसम्म नेपाली कांग्रेस तङ्ग्रिदैन ।
अर्को नबिग्रएसम्म आफू अगाडि बढ्न सकिँदैन भन्ने भावनाबाट ग्रस्त नेपाली कांग्रेसको नेतृत्व ‘आ‘जेसुकै होस्’ भन्ने अवस्थामा पुगेको बुझिन्छ । स्थानीय तहको निर्वाचनपछि पनि कांग्रेसमा अलिअलि उत्साह वाँकी थियो । तर, त्यो धेरै टिकेन । संघीय संसदको निर्वाचनको नतिजापछि चहल–पहल उत्साह पनि स्खलित भयो । अहिले यसको एक सूत्रीय काम भनेको वर्तमान सरकारको विरोध गर्नु मात्र भएको छ । २०४६ साल पछि सबैभन्दा लामो समय सत्तामा बसेको कांग्रेस अब लामो समयसम्म सत्ता बाहिरै बस्नुपर्ने अवस्था पचाउन नसकेर छट्पटाएको छ ।
२०५१ सालपछि नौं–नौं महिनामा सरकार ढाल्ने र गठन गर्ने खेल गज्जबले फस्टाएको थियो । त्यो पनि अब बन्द भयो । जसले गर्दा कांग्रेसी नेताहरू तिलमिलाहटमा छन् । यो अवस्थामा कांग्रेसले आफूभित्रका गुटहरू ध्वस्त पार्दै एकतावद्ध भएर अगाडि बढ्नुपर्ने थियो । तर, सकेन । अहिले मुर्झाएको कांग्रेससँग जनतालाई आकर्षित गर्न सक्ने मुद्दा र नारा छैन । सरकारको विरोध गर्छ, तर, एक दुई दिन पनि नटिक्ने मुद्दा उचालेर । ओजनदार र राष्ट्रिय मुद्दा बन्न सक्ने विषय पनि नेपाली कांग्रेसले पाउन सकेको छैन । सारै झिनामसिना मुद्दाप्रति सरकार आकर्षित हुँदैन भन्ने कुरा कांग्रेसीजनले बुझ्नै सकेनन् ।
नेपाली कांग्रेसमा जे जति ऊर्जा छ, त्यो ऊर्जा अहिले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोध गर्नलाई खर्च भइरहेको छ । जब कि त्यो विरोध ‘झिङ्गाको सरापले डिंगा मर्दैन’ युक्तिसँग मेल खाइरहेको छ । कांग्रेस सभापति शेरबहादुर देउवा भन्छन् – ‘यो सरकार निरंकुश भयो, तानाशाह बन्दै छ । कम्युनिष्टहरू प्रजातान्त्रिक हुनै सक्दैनन् ।’ सभापतिको यो खालको कुरा सुनेर नेता प्रदीप गिरी खित्का छोडेर हाँस्छन् । यस्ता विनातुकका कुरा गर्नुभन्दा संगठन सुदृढीकरणका लागि पार्टीभित्र गहन छलफल चलाउँदा मुर्छान्न अवस्थाबाट कांग्रेसलाई थोरै भए पनि राहत मिल्छ होला । प्रधानमन्त्री ओलीलाई सराप्ने र आरोप लगाउन सक्ने अवस्थामा कांग्रेस छ जस्तो लाग्दैन ।
जबसम्म कांग्रेस मुर्छान्न अवस्थाबाट बौरिँदैन, तबसम्म कसैमाथि तीर नचलाए हुन्छ । अहिलेको कांग्रेस किसुनजी, गणेशमान वा गिरिजाको कांग्रेस होइन । रस चुसेर फ्याँकेको उखुको खोस्टा जस्तो भएको छ कांग्रेस । रसिलो, भरिलो हुन्जेल रस चुस्नलाई झुम्मिने थरिथरीका हुन्छन्, रस सकिएपछि कसैले हेर्दैन । रस हुन्थ्यो भने कांग्रेस छाड्ने लहर चल्ने थिएन । गोरखा, ताप्लेजुङ, डोल्पा वा वैतडीमा कांग्रेस छोड्नेहरू रस खोज्दै हिँडेका हुन् । पछि कांग्रेस रसिलो भरिलो भयो भने सबै त्यतै झुत्ति खेल्न आइपुग्छन् । तर, कांग्रेस तङ्ग्रिन्छ, रसिलो र भरिलो हुन्छ भने विश्वास क्षीण हुँदै गएको छ । यसले के देखाउँछ भने वर्तमान सरकार प्रतिपक्ष विहीन बन्दै गएको छ । यो अवस्था तोड्ने हो भने नेपाली कांग्रेस बौरिनुपर्छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई सरापेर कांग्रेसको फलिफाप हुँदैन । साँच्चैका मुद्दा खोजेर उफ्रिए जनता आकर्षित हुन्थे कि १ नत्र उँभो लाग्ला जस्तो छैन ।
यो लेख धनकुटा अनलाइनबाट साभार गरिएको हो ।