Aamsanchar

भारतीय प्रधानमन्त्रीको भुटान भ्रमण, विपक्षी नेतासँग भेटघाट

Author Image
आइतवार, भदौ १, २०७६

थिम्पु।  

भुटानको दुई दिने औपचारिक भ्रमणमा रहनुभएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार त्यहाँका मुख्य विपक्षी पार्टीका नेता डा पेमा ग्याम्त्सोसँग भेटवार्ता गर्नुभएको छ ।

भारतीय विदेश मन्त्रालयका अनुसार दुबै नेताबीच भारत–भुटानबीचको द्वीपक्षीय सम्बन्धलाई अझ प्रगाढ बनाउने विषयमा विचार विमर्श भएको थियो । डा पेमा भुटानको राष्ट्रिय सभामा मुख्य विपक्षी दलका नेता हुनुहुन्छ ।

आइतबार नै रोयल युनिभर्सिटी भुटानमा आयोजित समारोहमा सम्बोधन गर्दै प्रधानमन्त्री मोदीले दुवै देशबीचको ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक परम्पराले विशिष्ट स्थिति निर्माण गरेको र सम्बन्ध अझ प्रगाढ बनाएको चर्चा गर्नुभयो ।

प्रधानमन्त्री मोदीले भुटानसँग जलविद्युत बाहेकका अरु क्षेत्रमा पनि सहयोग गर्न तत्पर रहेको बताउनुभयो । त्यस समारोहमा विद्यार्थीहरुका साथै सांसदहरुको बाक्लो उपस्थिति थियो । उक्त सम्बोधनपछि प्रधानमन्त्री मोदीले चोर्तेनको भ्रमण गरी खद्दर अर्पण गर्नुका साथै दीप प्रज्ज्वलन गर्नुभएको थियो ।

मोदी भुटानको दुई दिने भ्रमणका सिलसिलामा शनिबार यहाँ आइपुग्नु भएको थियो । भ्रमणका क्रममा ७२० मेगावाटको मे¬ङदेछु जलविद्युत परियोजनाको शुभारम्भ गर्नुका साथै भारतीय अन्तरिक्ष विज्ञान संस्थान (इस्रो)को ग्राउन्ड अर्थ स्टेसनको उदघाटन गर्नुभएको थियो ।

प्रधानमन्त्री मोदी र भुटानका प्रधानमन्त्री लोटे छिरिङको उपस्थितिमा दुई देशबीच नौ वटा समझदारी पत्र र एउटा ऊर्जा खरिद सम्झौतामा हस्ताक्षर भएका थिए ।  मोदी आइतबार स्वदेश फर्कनु हुनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर