Aamsanchar

गर्भ जाँच गराउनबाट वञ्चित

Author Image
आइतवार, भदौ १२, २०७३

 

खोटाङ । जिल्लाका गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका छन् ।

जिल्ला अस्पताल खोटाङमा सञ्चालित एकमात्र भिडियो एक्स–रे मेसिनसमेत बिग्रिएपछि गर्भवती महिला आफ्नो गर्भ जाँच गराउनबाट वञ्चित भएका हुन् ।

विद्युत्को हाइभोल्टेजका कारण अढाइ महिनाअघि बिग्रिएको एक्स–रे मेसिन पुनः सञ्चालन गर्न नसक्दा गर्भ जाँच गराउनबाट वञ्चित भएका अस्पतालका प्रमुख चिकित्सक रामबहादुर केसीले बताउनुभयो । “बिग्रिएको एक्स–रे मेसिन नेपालमा नबन्ने रहेछ ।” उहाँले भन्नुभयो – “विभाग तथा दाताहरुलाई नयाँ उपलब्ध गराइदिन अनुरोध गरिरहेका छौँ ।”

अस्पतालमा भिडियो एक्स–रे नभएपछि गर्भवती महिलालाई जोखिम मोलेर बच्चा जन्मने महिना कुर्नुपर्ने अवस्था रहेको स्वास्थ्यकर्मीले बताएका छन् । विसं २०४८मा स्थापना भएको जिल्ला अस्पतालमा दक्ष जनशक्ति तथा भौतिक सुविधा नहुँदा जिल्लाका अधिकांश बिरामी उपचारका लागि बाहिर जानुपर्ने अवस्था छ । जिल्लाको एकमात्र प्रसूति सेवासहितको अस्पतालमा भिडियो एक्स–रे मेसिन बिग्रिएको लामो समय बितिसक्दासमेत सम्बन्धित निकायले चासो नदिएको सेवाग्राहीको आरोप छ ।

वृद्धवृद्धाको भजनगृह भवन निर्माणका लागि रकम अभाव

दिक्तेलमा सामूहिक भजनगृह भवन निर्माणका लागि जुटेका खोटाङका वृद्धवृद्धालाई रकम अभाव भएको छ । सदरमुकाम दिक्तेलको कर्म मन्दिर नजिक निर्माण सुरु गरिएको भजनगृह पूरा गर्नका लागि रकम अभाव भएको हो ।

जिल्ला विकास समितिले रु चार लाख ७१ हजार र दिक्तेल नगरपालिकाले रु एक लाख ३० हजार दिएपछि ज्येष्ठ नागरिक सङ्घले दिक्तेलमा भजनगृह भवन निर्माणको काम थालेको थियो । जिविस र नगरपालिकाले दिएको रकमले भवन निर्माण पूरा नहुने भएपछि आर्थिक सङ्कलन सुरु गरिएको सङ्घका उपाध्यक्ष दुर्गाप्रसाद घिमिरेले बताउनुभयो ।

सङ्घमा आबद्ध वृद्धवृद्धाले भजन कीर्तन गर्दै अहिलेसम्म रु ५० हजारभन्दा बढी रकम सङ्कलन गरेको उपाध्यक्ष घिमिरेले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 107

प्रतिक्रिया (०)

सम्बन्धित खबर