Aamsanchar

कन्याम, अन्तुलगायतका क्षेत्रको पर्यटकीय प्रचारका लागि सूर्योदयमा महोत्सव गरिने

Author Image
शनिवार, असोज ४, २०७६

इलाम,

मुलुककै प्रमुख पर्यटकीयस्थलमा पर्ने यहाँस्थित कन्याम, अन्तुलगायतका क्षेत्रको पर्यटकीय प्रचारका लागि आउँदो मङ्सिरमा महोत्सव लगाइने भएको छ ।

केही समय मात्र प्रदेश नं १ को पर्यटकीय नगरी नामकरण भएको सूर्योदय नगरपालिकाको आयोजनामा महोत्सव गरिन लागिएको हो । भ्रमण वर्ष–२०२० लाई लक्षित गर्दै लाग्ने महोत्सवमा स्थानीय पर्यटकीय क्षेत्रको प्रचार र प्रवद्र्धनका लागि आयोजना गर्न लागिएको हो । महोत्सव आगामी मङ्सिर १४ देखि २१ गतेसम्म लाग्ने छ ।

महोत्सव पर्यटन प्रवद्र्धनका लागि लाग्ने भएकाले सूर्योदय क्षेत्रका प्रमुख पर्यटकीय क्षेत्रभर लगाइने नगरपालिकाका उपप्रमुख दुर्गादेवी भट्टराईले जानकारी दिनुभयो । महोत्सव श्रीअन्तु, कन्याम, पशुपतिनगर, फिक्कल बजार, गोर्खे थुम्के र पञ्चकन्या तथा करफोकमा आयोजना गरिने छ ।

भट्टराईका अनुसार महोत्सवको उद्घाटन श्रीअन्तुमा हुनेछ भने फिक्कल बजारमा समापन कार्यक्रमको आयोजना गरिनेछ । महोत्सवमा स्थानीय उत्पादनको समेत प्रदर्शन गरिनेछ भने साहित्यिक कार्यक्रमसमेत सञ्चालन हुनेछ । इलाममा रहेर साहित्यिक सिर्जना गर्दै रहेका साहित्यकारसँगै जिल्ला बाहिरका साहित्यकारको समेत महोत्सवमा जमघट रहनेछ ।

महोत्सवलाई भव्य र व्यवस्थित बनाउन मुख्य कार्यक्रम हुने छ स्थानमा क्षेत्रगत उप–समितिको संयोजक तोकिएको उप–प्रमुख भट्टराईको भनाइ छ । नगरभित्र धेरै उल्लेख्य पर्यटकीय क्षेत्र र सांस्कृतिक विषयवस्तु भए पनि प्रचारप्रसार हुन नसक्दा गुमनाम बन्ने खतरा बढेको भन्दै नगरले महोत्सव आयोजना गर्न लागेको हो ।

सूर्योदयका लागि महत्वपूर्ण मानिने अन्तु, घुम्नका लागि मनोरम क्षेत्र कन्याम भएकाले पनि बर्सेनि यहाँ घुम्न आउने पर्यटकको ओइरो लाग्ने गरेको छ । नेपालमा मात्र नभई पछिल्लो समय भारतीय क्षेत्र दार्जिलिङ, सिक्किम र कालेम्पुङ क्षेत्रमा घुम्न पुग्ने पर्यटक पनि यी क्षेत्रमा आउने गरेका छन् ।

केही महीनाअघि मात्र प्रदेश नं १ का मुख्यमन्त्री शेरधन राईको उपस्थितिमा एक कार्यक्रमबीच यस नगरलाई ‘पर्यटकीय नगरी’ घोषणा गरिएको थियो ।

Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर