Aamsanchar

किन रोक लगाइयो रानीपोखरीको पुनःनिर्माणमा ?

Author Image
सोमवार, भदौ १३, २०७३

काठमाडौँ ।

ranipokhari

रानीपोखरी पुनःनिर्माणको काम मापदण्ड विपरीत रहेको जनाउँदै पुरातत्व विभागले काठमाडौँ महागरपालिकालाई आजदेखि काम रोक्न निर्देशन दिएको छ ।

हालसम्मको निर्माण कार्य मापदण्ड विपरीत देखिएकाले उक्त संरचना तत्काल भत्काउन पनि निर्देशन दिइएको पुरातत्व विभागमा महानिर्देशक भेषनारायण दाहालले जानकारी दिनुभयो ।

ऐतिहासिक महत्वको बालगोपालेश्वर मन्दिर भत्कनु पूर्व जस्तो अवस्थामा थियो सोही अवस्थामा हुनुपर्ने विभागको दाबी छ । हाल निर्माण गरिएको जति पनि भाग छ ती सबैमा सिमेन्ट, गिट्टी, बालुवा रडलगायतका बस्तु प्रयोग भएकाले विभागले आजैदेखि निर्माण कार्यमा रोक लगाएको हो ।

पुनःनिर्माणको जिम्मा लिएको वल्र्डवाइड कँडेल केएन केजी जेभीका निर्देशक अर्जुन कँडेलले भत्किनु मन्दिरमा कङ्क्रिट प्रयोग भएकाले आफूहरुले अहिले पनि सोहीअनुरुपको सामान प्रयोग गरेको भन्दै नियम विपरीत कुनै काम नभएको दाबी गर्नुहुन्छ ।

गत वैशाख दोस्रोसातादेखि सुरु गरिएको पुनःनिर्माणअन्तर्गत मन्दिरमा पिल्लर राख्ने क्रमसँगै पोखरीको बाहिर भागमा पर्खाल लगाउने काम पनि भइरहेको छ ।

रानीपोखरी निर्माणका लागि रु छ करोड २९ लाखमा ठेक्का पाएकामा हालसम्म रु एक करोड ५० लाख खर्च भइसकेको सो कम्पनीले जनाएको छ ।

विसं २०७२ वैशाखमा गएको भूकम्पका कारण पोखरीको बीच भागमा रहेको बालगोपालेश्वर मन्दिर पूर्णरुपमा क्षतिग्रस्त भएको थियो भने मन्दिर वरपरका पर्खालमा पनि आंशिक क्षति पुगेपछि पुरातत्व विभागले काठमाडौँ महानगरपालिकालाई बनाउने जिम्मा दिएको थियो ।

पोखरीमा रहेको केही पानी निकालिसकिएको भए पनि वर्षात्को कारणले बाँकी पानी फाल्ने काम गर्न समस्या रहेको निर्माण कम्पनीले जनाएको छ । बर्षा कम भएपछि पानी फल्ने र झन्डै ४०० वर्षदेखि सफा नगरिएको पोखरीको हिलो फाल्ने योजना थियो ।

पोखरीलाई पर्यटकीय गन्तव्यका रूपमा विकास गर्नका लागि रानीपोखरीको पुनःनिर्माणअन्तर्गत केही स्थानमा विद्युत् जडान गरी झिलीमिली बनाइने, पोखरीे संरक्षणका लागि चारैतिर बार बारिने, बगैँचा बनाइने, हरियाली र रङ्गीन पानीको फोहोरा राखिने महानगरपालिकाको योजना छ ।

त्यसैगरी, पोखरीको वरिपरि घुम्नका लागि दुईवटा बाटोसँगै छेउछेउमा कफी पसल राखिने, चारसय वर्ष पुरानो ऐतिहासिक महत्व बोकेको रानीपोखरी प्रताप मल्लले कान्छा छोरा चक्रवर्तिन्द्र मल्लको मृत्युपछि रानीलाई शोकबाट मुक्त गराउन निर्माण गराएको इतिहासमा उल्लेख छ ।

दुई वर्ष लगाएर विसं १७२७मा बनाइएको पोखरीको दक्षिण कुनामा हात्तीमाथि चढेका प्रताप मल्ल र उनका छोराहरूसहितको सेतो मूर्ति छ । पोखरीको चारै कुनामा सोह्रहाते गणेशसहितका मन्दिर छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 102

प्रतिक्रिया (०)

सम्बन्धित खबर