काठमाडौंः

सरकारले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सुरक्षाकर्मीको संख्या दोब्बर पार्न तयार रहेको जानकारी राष्ट्रसंघलाई गराएको छ ।

नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका उपमहासचिव अतुल खेरसँग सोमबार भएको भेटमा रक्षामन्त्री बालकृष्ण खाणले राष्ट्रसंघीय शान्ति सेनामा नेपाली सेनाको संख्या बढाउनमात्र नभएर राष्ट्रसंघीय शान्ति सेनामा नेतृत्व लिनसमेत तत्पर रहेको बताए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहालले पनि राष्ट्रसंघीय शान्ति सेनामा नेपालीहरूको संख्या बढाउनुपर्ने बताएका छन् । राष्ट्रसंघका उपमहासचिव खेरसँग सोमबार भएको भेटमा प्रधानमन्त्री दाहालले नेपाली सेनाले राष्ट्रसंघ शान्ति मिसनमा कार्यरत रही विश्वका कठिन ठाउँहरूमा शान्ति स्थापनामा गरेको महŒवपूर्ण योगदानको मूल्यांकन गर्दै नेपालीहरूको संख्या बढाउनुपर्ने धारणा राखेका हुन् ।

उपमहासचिव खेरले नेपालले अन्तर्राष्ट्रिय शान्ति स्थापनाका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निजामती कर्मचारीहरूले पुर्याएको योगदानको प्रशंसा गरेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उनले विश्वको शान्ति कायम गर्ने कार्यमा थप शान्ति सेना पठाएर योगदान गर्ने नेपालको इच्छाको सराहना गरे ।
बाँकी शान्तिप्रक्रियालाई निष्कर्षमा पुर्याउने नेपालको प्रयासप्रति राष्ट्रसंघले सहयोग गर्नेसमेत उपमहासचिव खेरले बताए । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघको बडापत्रप्रति नेपालको प्रतिबद्धता जनाउँदै नेपाल आफैंले सुरु गरेको शान्तिप्रक्रियामा राष्ट्रसंघको सहयोगी भूमिकाका लागि धन्यवाद दिए । राष्ट्रसंघ उपमहासचिव खेरले मंगलबार परराष्ट्रमन्त्री डा. प्रकाशशरण महतसँग दिवाभोजसहित भेटवार्ता गर्दैछन् ।

