Aamsanchar

‘एक ट्राफिकको भागमा नौ सय सवारी’

Author Image
बुधवार, भदौ १५, २०७३

नारायण काफ्ले,काठमाडौँ।

traffic-

सडक सुशासन कायम गर्न एक ट्राफिक प्रहरीले कति सवारी व्यवस्थापन गर्न सक्छन् ? सामान्यतः सबैले अनुमान लगाउँछन् एक सय दुई सय यस्तै ।  तर, अहिले सडक सुशासनमा खटिने ट्राफिक प्रहरीले औसत दैनिक ९०६ सवारी व्यवस्थापन गर्नुपर्छ ।

पछिल्लो समय सवारी दुर्घटना बढेसँगै सवारी नियम कार्यान्वयनको उच्च प्रयास सरकारले गरे पनि नियम पालना गराउने जनशक्ति भने सारै न्यून रहेको पाइएको हो । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले संसद्को राज्य व्यवस्था समितिमा मङ्गलबार दिनुभएको जानकारी अनुसार ट्राफिक प्रहरीको अहिले स्वीकृत दरबन्दी दुई हजार ३६५ छन् ।  अन्य ५०० प्रहरीलाई काजमा लगाइएको छ ।  तर, यातायात व्यवस्था विभागको २०७२ फागुनसम्मको रेकर्ड अनुसार मुलुकभर २१ लाख ४३ हजार १८६ सवारी दर्ता छन् ।  एक ट्राफिकले अहिले पाँच दशमलव २८ किलोमिटर सडकमा सवारी व्यवस्थापन गर्नुपर्छ ।  जनसङ्ख्या अनुपातमा एक ट्राफिकले १२ हजार १९९ जना व्यक्तिको सवारी व्यवस्थापन गर्नुपर्छ ।
गत वैशाख १ देखि भदौ १३ सम्म सवारी दुर्घटनामा ८१६ जनाको ज्यान गएको छ ।  मासिक औसत झण्डै २०० का दरले सवारी दुर्घटनामा नागरिकको ज्यान गएको गृह मन्त्रालयको तथ्याङ्क छ ।

वैशाखमा सबैभन्दा बढी नागरिकको ज्यान गएको छ ।  २०४ नागरिकले वैशाख महिनामा सवारी दुर्घटनामा ज्यान गुमाएका छन् ।  साउन महिनामा दुर्घटनामा परी १८० जनाको निधन भएको छ ।  साउनमा काभ्रेको बिर्ता देउरालीमा बस दुर्घटनामा २७ जनाको ज्यान गएको थियो ।
गृहको तथ्याङ्क अनुसार जेठ महिनामा २००, असारमा १५४, साउनमा १८० र भदौ १३ सम्मका दुर्घटनामा ७८ जनाको ज्यान गएको छ ।  गत शुक्रबार त्रिशूलीमा भएको दुर्घटनामा एकै स्थानमा २२ जना र आइतबार अर्घाखाँचीमा भएको जिप दुर्घटनामा १२ जनाको ज्यान गएको थियो ।
गृहको तथ्याङ्क अनुसार सबैभन्दा बढी दुर्घटनामा दुईपाङ्ग्रे सवारी पर्ने गरेका छन् ।  पाँच महिनाको अवधिमा दुई हजार ६५६ दुईपाङ्ग्रे सवारी दुर्घटनामा परेका छन् ।  दुर्घटनामा एक हजार ७७६ गम्भीर घाइते भएको मन्त्रालयको रेकर्ड छ ।  प्रहरी तथ्याङ्कले दुर्घटनाको मुख्य कारण चालकको लापरबाहीलाई मानेको छ ।
बाढीपहिरोबाट १३१ को मृत्यु    
गृहको तथ्याङ्क अनुसार साउन १ देखि भदौ १३ सम्म बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट १३१ नागरिकको ज्यान गएको छ ।  बाढीपहिरोका कारण २४ जना बेपत्ता भएका छन् ।  प्रकोपमा परी ६६ जना घाइते भएका छन् ।  बाढीपहिरो तथा प्रकोपमा परी ९५२ घर पूर्ण रूपमा क्षति भएका छन् ।  ६०६ घर आंशिक क्षति भएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर