अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिकामा तीन दिने सामुदायिक विपद प्रतिकार्य तालीम बुधबार सम्पन्न भएको छ ।
सम्भावित जोखिम न्यूनीकरण गर्ने उद्देश्यले नगरपालिकाको आयोजना र नयाँ श्रीनाथ गण चारआलीको प्राविधिक सहयोगमा तालीम सम्पन्न भएको हो । सोमबारदेखि शुरु भएको तालीममा सहसेनानी सुजित बुढाथोकी लगायतले प्रशिक्षण दिएका थिए ।
तालीममा बाढीमा डुबेका मानिसलाई गर्ने उद्धार कला, डोरी, रबर बोट, ट्युव र घरायसी सामग्रीको प्रयोग गरेर पानीमा डुबेका मानिसलाई उद्दार गर्ने कला सिकाइएको थियो ।
तालीम समापनको अवसरमा अर्जुनधारा–११ स्थित सालबारीको झिलमा सुनियर रेडक्रस सोसाइटीका सदस्यले प्रयोगात्मक क्रियाकलाप गरेका थिए । उनीहरुले झिलको पानीमा पसेर पौडी खेल्ने, उद्धार गर्ने लगायतका क्रियाकलाप देखाए । तालीममा एक सय जनाभन्दा बढीको सहभागिता रहेको थियो । कार्यक्रम अर्जुनधारा नगरपालिकाका नगरप्रमुख हरिकुमार रानाको अध्यक्षतामा भएको थियो ।