Aamsanchar

हवाईमैदान निर्माण प्रक्रिया अघि बढेन

Author Image
बिहिवार, भदौ १६, २०७३

पाँचथर।

20150708349957-600x0

विस्तृत अध्ययन प्रतिवेदन ९डिपिआर० तयार भएको दुई वर्ष बितिसक्दा पनि पाँचथरको रानीटारमा हवाईमैदान निर्माण प्रक्रिया सुरु हुन सकेको छैन । रानीटार–५ र ६ को सङ्गमस्थलमा पर्ने स्याउडाँडामा हवाई मैदान निर्माणार्थ स्थानीयस्तरबाट आवश्यक प्रक्रिया पूरा गरिएपनि सरोकारवाला निकायले ठोस कदम नचाल्दा काम अघि बढ्न नसकेको हो ।

मैदानका लागि आवश्यक पर्ने करिब ४२५ रोपनीमध्ये ८० प्रतिशत जग्गा स्थानीयवासीले उपलब्ध गराउन मञ्जुरिनामा दिइसकेको भएपनि सरकारी मातहतमा ल्याउन पहल नहँुदा कामले गति लिन नसकेको आरोप जग्गादाताले लगाउन थालेका छन् ।

स्थानीयस्तरमा आवश्यक तयारी पूरा गरेपछि मन्त्रिपरिषद्को २०६९ असोज २८ गते बसेको बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई स्याउडाँडामा विस्तृत अध्ययन गर्न निर्देशन दिएको थियो । सोही निर्देशनअनुसार प्राधिकरणले सोही वर्ष सर्भेक्षण सकेको थियो ।

तर डिपिआर सम्पन्न भएको तीनवर्ष बित्दा पनि स्थानीयवासीले उपलब्ध गराएको जग्गा सरकारी स्वामित्वमा ल्याउने र हवाई मैदानका लागि पूर्वाधार निर्माण गर्ने काम सुरु नहुँदा निराश हुनु परेको जग्गादाता बलबहादुर गुरुङको गुनासो छ । उक्त स्थानमा हवाई मैदान निर्माणका लागि उपयुक्त हुने विभिन्न अध्ययन प्रतिवेदनले स्पष्टरुपमा उल्लेख गरेका छन् ।

स्थानीयवासीले उत्साहका साथ लिएको हवाई मैदान निर्माणका लागि जिल्लाकै महत्वपूर्ण विकास योजनाका रुपमा अगाडि बढाउनका लागि प्रयास गरिएपनि जिल्लाका राजनीतिक दल र जिविसजस्ता सरोकारवाला निकायले उक्त कामलाई उच्च प्राथमिकतामा नराख्दा काममा ढिलाइ भएको आरोप अर्का स्थानीयवासी देव गुरुङको छ ।

प्राधिकरणले जिल्लाका पाँच स्थानमा गरेको प्रारम्भिक अध्ययनका क्रममा उक्त स्थान छनोट भएको थियो । हवाई मैदानको भौगोलिक अवस्था, मौसमजस्ता विषयमा विस्तृत अध्ययन गरिएको थियो । हवाई मैदानलाई आवश्यक पर्ने सो क्षेत्रको करिब ४२५ रोपनी जग्गा जग्गाधनीले प्रदान गर्ने लिखित निर्णय भएको छ भने जग्गाधनीलाई सरकारी मूल्याङ्कनका आधारमा मुआब्जा दिन गाविस र जिल्लास्तरमा सहमति भइसकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 182

प्रतिक्रिया (०)

सम्बन्धित खबर