Aamsanchar

बिजुलीको खपत बढाउन प्राधिकरणको आग्रह

Author Image
बिहिवार, कार्तिक २८, २०७६


काठमाडौं । तीन वर्षअघिसम्म नेपाल विद्युत् प्राधिरकणले दैनिक लोडसेडिङको तालिका निकाल्थ्यो, त्यही तालिका हेरेर नागरिकहरू आफ्नो दैनिकीको पनि तालिका बनाउँथे । तीन वर्षमा त्यस्तो कहालीलाग्दो लोडसेडिङ हटेर परिवेश ठ्याक्कै उल्टो बनेको छ, कतिसम्म भने अब विद्युत् प्राधिकरणले हिउँद सुरु भएपछि पनि विद्युत् खपत बढाउन प्रोत्साहन गर्नेगरी चाहिएजति बिजुली लिन आग्रह गर्दै सूचना निकाल्न थालेको छ ।

प्राधिरकरणको १ नम्बर प्रादेशिक कार्यालय, विराटनगरले एक सूचना निकाल्दै आफ्नो घर, उद्योग, पसलहरूमा बिजुली नयाँ लाइन जोड्न तथा पुरानो लाइनको क्षमता बढाउन कुनै समस्या नरहेको जानकारी दिएको छ ।

कार्यालयले प्राधिकरणमा थ्रि–फेज, सिंगल–फेज र ट्रान्सफर्मरको सहज आपूर्ति भइरहेको जानकारी दिँदै नयाँ लाइन जडान गर्नुपरेमा, क्षमता बढाउनुपरेमा तथा लो–भोल्टेजको समस्या भएमा कार्यालयमा सम्पर्क राख्न आग्रह गरेको छ ।

‘यस्तो सेवा नागरिक बडापत्रमा उल्लेख भएको सेवा शुल्क बुझाइ सञ्चालन गर्नुहुन सबैमा जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ । ग्राहकलाई ५० केभीएभन्दा तलको लोड आवश्यक भएमा प्राधिरकणको ट्रान्सफरबाटै सेवा दिन सकिने कार्यालयले जनाएको छ ।

कार्यालयले लोड बढाउन प्रोत्साहित मात्रै गरेको छैन, लाइन लिनका लागि विगतजस्तो प्राधिरकणका कर्मचारीलाई नजराना बुझाउनुपर्ने र अनेक तवरले मनाउनुपर्ने अवस्था नरहेकोले सचेत बन्न सांकेतिक रुपमा सर्वसाधारणलाई जानकारी पनि गराएको छ ।

‘छिटोरछरितो सेवाप्राप्त गर्ने बहानामा कुनै पनि अतिरिक्त शुल्क भुक्तानी नगर्नरनगराउन हुन पनि जानकारी गराइन्छ,’ सूचनामा भनिएको छ ।

समयमै सेवा उपलब्ध नभए वा सेवा सञ्चालन गर्न कठिनाइ आएमा वितरणकेन्द्र प्रमुख र प्रादेशिक कार्यालय प्रमुखलाई सम्पर्क गर्न आग्रह गरिएको छ ।
सूचनामा विराटनगर वितरणकेन्द्र प्रमुख राजिवकुमार सिहं, १ नम्बर प्रदेशका प्रादेशिक प्रमुख श्रीरामराज पाण्डको मोबाइल नम्बर पनि राखिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर