Aamsanchar

असोजमै मेलम्चीको पानी काठमाडौँमा

Author Image
शुक्रवार, भदौ १७, २०७३

लक्ष्मण दर्नाल ,काठमाडौँ । 

Melamchi

तोकिएको समयमा मेलम्ची खोलाको पानी काठमाडौँ उपत्यकामा ल्याउने सम्भावना बढेको छ ।  कामको गति र तोकिएको अवधि हेर्दा समयमै पानी आउन सक्ने सम्भावना देखिएको हो ।  हाल १९ किलोमिटर सुरुङ निर्माण सम्पन्न भएको छ ।  जम्मा २७.५ किमी सुरुङ निर्माण गर्नुपर्नेमा अब ८ किमी मात्र बाँकी छ ।  समितिका अनुसार अगस्ट महिनामा सबैभन्दा धेरै १ किमी सुरुङ खनिएको छ ।
यही गतिमा महिनाको १ किमी सुरुङ खनियो भने पनि ८ महिनामा सुरुङ सम्पन्न हुनेछ ।  तोकिएको मिति अझ १२ महिना बाँकी छ ।  अर्थात् २०७४ असोज महिना पानी ल्याउने मिति हो ।
दैनिक ३५ मिटरका दरले सुरुङ खनिएको समितिका उपकार्यकारी निर्देशक रमाकान्त दुवाडीले बताउनुभयो ।
निर्माण कम्पनीसँगको सम्झौता अनुसार २०७३ असोज महिनासम्ममा सुरुङ निर्माणको काम सम्पन्न गरिसक्नुपर्ने थियो तर भूकम्प र नाकाबन्दीका कारण ६ महिना काम हुन सकेन ।  सोही कारण देखाउँदै निर्माण कम्पनीले एक वर्ष म्याद थप गर्न समितिलाई निवेदन दिएपछि समितिले तत्काल अन्तरिम रूपमा ६ महिना म्याद थपेको छ ।  कामको प्रकृति हेर्दा एक वर्ष थप गर्नुपर्ने सम्भावना रहेको समितिले जनाएको छ ।
मेलम्चीको पानी काठमाडौँ उपत्यकामा आइसकेपछि प्रशोधन, भण्डारण तथा घर–घरमा वितरणका लागि पाइपलाइनको काम पनि तीव्र पारिएको छ ।  उपआयोजना–२ अन्तर्गतको पाइपलाइन विस्तारको कार्य पनि सोही समयअघि नै सम्पन्न गरिनेछ ।  आयोजना कार्यान्वयन निर्देशनालयले पहिलो चरणमा वितरण सञ्जाल सुधारमा ५ सय किमी पाइपलाइन बिच्छ्याएको छ ।  ३ सय किमी बिच्छ्याउन बाँकी छ ।  निर्देशनालयका प्रवक्ता लीला ढकालले भन्नुभयो, “६० प्रतिशत काम सम्पन्न भइसकेको छ, ०७४ असोजभित्रै हामीले काम सम्पन्न गर्छौं, त्यही लक्ष्य अनुसार काम भएको छ, हामी समयमै काम  गर्न सक्छौँ । ”
निर्देशनालयका अनुसार मेलम्चीबाट सुरुङ मार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई सोही स्थानमा प्रशोधन गरी उपत्यकाका विभिन्न स्थानमा वितरण गरिनेछ ।  सुन्दरीजलबाट प्रमुख वितरण लाइन हुँदै चक्रथपका विभिन्न स्थानमा पानी टङ्की निर्माणको काम भइरहेको छ ।  काठमाडौँको आरुबारी, महाङ्कालचौर, बाँसबारी, पानीपोखरी, बालाजु र ललितपुरको खुमलटारमा पानी सङ्कलन केन्द्रको निर्माण भइरहेको प्रवक्ता ढकालले जानकारी दिनुभयो ।   थोक वितरण प्रणालीतर्फ सुन्दरीजलदेखि महाकाङ्ल चौरसम्म १४ सय मिलिमिटर ब्यासको ९.५ किमी बिच्छ्याउने काम भएको छ ।  आयोजनाले ८३ हजार ५ सय ४९ वटा धारा जडान गर्नुपर्नेछ ।  हालसम्म २४ हजार ४ सय ५० धारा जडान गरिसकेको छ ।
मेलम्चीको पानी घरघरमा पुगेपछि ८० प्रतिशत पानी फोहोर पानीका रूपमा बाहिर आउने समितिले जनाएको छ ।  त्यसको व्यवस्थापनका लागि पनि आयोजना सञ्चालन भइरहेका छन् ।  फोहोर पानी प्रशोधन केन्द्र, नदी किनारमा मुख्य ढललाइन र फोहोर पानी सङ्कलन शाखा पनि निर्माण हुनेछन् ।  गुह्येश्वरी, सल्लाघारी, कोडकु, धोबीघाटलगायतका क्षेत्रमा प्रशोधन केन्द्र निर्माण गरिनेछ ।  साथै, ढल प्रशोधन केन्द्रबाट बायोग्यास र विद्युत् उत्पादन गरिनेछ ।  गुह्येश्वरीबाट २ सय ४० किलोवाट विद्युत् उत्पादन हुने बताइएको छ ।
मेलम्चीबाट पहिलो चरणमा दैनिक १७ करोड लिटर पानी आउने छ तर दोस्रो चरणको परियोजना सुरु भए पनि याङरी र लार्के खोलाको पानी पनि सोही सुरुङबाट ल्याएपछि दैनिक ५२ करोड लिटर पानी आउने छ ।  याङरी र लार्के खोलाको पानी मेलम्चीको सुरुङ मार्गमा मिसाउन थप ९ किमी सुरुङ खन्नुपर्ने हुन्छ ।  समितिका अनुसार सन् २०१८ देखि २२ सम्ममा याङरी र लार्के खोलाको पानी पनि आउने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर
आज सप्तमी श्राद्ध
सोमवार, असोज ७, २०८१