Aamsanchar

५ हजारमै धमाधम लाइसेन्स

Author Image
शनिवार, भदौ १८, २०७३

laisens

दमौली ।

जिल्ला प्रहरी कार्यालय तनहुँले नक्कली सवारी चालक अनुमति पत्र (लाइसेन्स) बनाउने एक समूहलाई पक्राउ गरेको छ ।

पृथ्वीराजमार्ग सडकको कोत्रेमा चेकजाँजका क्रममा शङ्का लागेर अनुसन्धान प्रक्रिया अगाडि बढाएको प्रहरीले नक्कली लाइसेन्स बनाउने २ जना र ३ जना नक्कली लाइसेन्सवालालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा नक्कली लाइसेन्स बोकेर ट्रक चलाउँदै आएका तनहुँ बन्दिपुर नपा–२ का २१ वर्षीय प्रेम गुरुङ्ग, देउराली गाविस–९ का २० वर्षीय धन प्रसाद गुरुङ र सोही गाविस–६ का २१ वर्षीय धनबहादुर गुरुङ्ग रहेको प्रहरी उपरीक्षक कृष्णकुमार महतले जानकारी दिए ।

प्रहरीले नक्कली लाइसेन्स बनाई वितरण गर्ने उदयपुर भलायडाडा गाविस–९ स्थायी घर भई पोखरा उपमहानगरपालिका–१५ रामबजारमा मुनाल ड्राइभिङ इन्स्टिच्युट सञ्चालन गर्ने २४ वर्षीय विनोद खड्का र पोखरा उपमहानगरपालिका–१३ स्थायी घर भई वडा न. ८ नयाँबजारमा दिपशिना प्रिन्टर्स सञ्चालन गर्ने ३१ वर्षीय दीपक पौडेललाई समेत पक्राउ गरेको छ ।

पौडेलले नक्कली लाइसेन्स तथा सरकारी छाप बनाउने गरेको प्रहरीले जनाएको छ ।

दिपशिना प्रिन्टर्सबाट प्रहरीले यातायात व्यवस्था कार्यालय गण्डकीको छाप, शाखा अधिकृत, नविकरण, परीक्षणकाल लेखिएको नाइलनछाप, विभिन्न स्कुल, क्याम्पसहरुको छाप, नक्कली लाइसेन्स र एसएलसीका मार्कसिट बनाउन प्रयोग भएका उपकरणहरू समेत बरामद गरेको प्रहरी उपरीक्षक महतले जानकारी दिए ।

पक्राउ परेका सबैलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा तनहुँ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

यसरी पत्ता लाग्यो नक्कली लाइसेन्स धन्दा
बढ्दो सवारी दुर्घटना न्यूनीकरण तथा ट्राफिक नियम पालनाबारे जानकारी गराउने उद्देश्यले थालिएको अभियानका क्रममा भदौ १३ मा शुक्लागण्डकी नपा–१ कोत्रेमा ग१क २४७३ नम्बरको ट्रकका चालक प्रेम गुरुङ्गको लाइसेन्समा शङ्का लागि चेकजाँच गर्दा उनको नाममा यातायात व्यवस्था कार्यालय भेरीबाट सवारी चालक अनुमतिपत्र जारी भएको पाइएको थियो ।
गुरुङ्गको सवारी चालक अनुमति पत्र नं. ०३–५२१४७८ नम्बरको यातायात व्यवस्था कार्यालय भेरीसँग अभिलेख माग्दा निज गुरुङको नाममा कुनै पनि सवारी चालक अनुमति पत्र जारी नभएको जानकारी उक्त कार्यालयले गराएपछि गुरुङसँग सोधपुछ गर्दा उनले  आफ्नै भिनाजु धनकुमार गुरुङमार्फत बनाएको बयान दिएका थिए ।

प्रहरीले भदौ १५ गते धन कुमार गुरुङलाई नियन्त्रणमा लिँदा उनको साथबाट यातायात व्यवस्था कार्यालय भेरीबाट जारी भएको ०३–५२१४१२ नम्बरको सवारी चालक अनुमतिपत्र बरामद गरेको थियो ।

सोधपुछ गर्दा सोही प्रकारको लाइसेन्स धनबहादुर गुरुङसँग समेत रहेको र उक्त लाइसेन्स पोखरास्थित मुनाल ड्राईभिङ इन्स्टियुटका सञ्चालक विनोद खड्काबाट खरिद गरेको बताएका थिए ।

लगत्तै धनबहादुर गुरुङलाई नियन्त्रणमा लिँदा उनीबाट पनि यातायात व्यवस्था कार्यालय भेरीबाट जारी भएको ०५–६३५५१९ नम्बरको सवारी चालक अनुमतिपत्र फेला परेको थियो ।

त्यसपछि मुनाल ड्राइभिङ इन्स्टियुट रामबजारका सञ्चालक विनोद खड्कालाई नियन्त्रणमा लिई सोधपुछ गर्दा ती लाइसेन्सहरु नयाँबजारस्थित दिपशिना प्रिन्टर्सबाट ५÷५ हजार रुपैयाँमा बिक्री गरेको खुलेको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 174

प्रतिक्रिया (०)

सम्बन्धित खबर