लोकसेवा आयोगको पाँचौं तहको परीक्षामा एक परीक्षार्थीलाई सातौं तहको प्रश्न–पत्र दिई गम्भीर लापरबाही गरेको पाइएको छ ।
शनिबार धनकुटामा सम्पन्न प्रदेश १ सामाजिक विकास मन्त्रालय अन्तर्गतको प्रदेश स्वास्थ्य निर्देशनालय विद्यालय नर्सिङ सेवाको परीक्षामा मोरङ विराटनगरकी सुस्मिता साहलाई सातौं तह (विद्यालय संयोजक) को परीक्षाको प्रश्न–पत्र दिएको पाइएको हो । प्रश्न–पत्र अर्कै पदको दिए पनि परीक्षा निरीक्षकलगायत केन्द्राध्यक्षहरू गल्ती स्वीकार्न चाहँदैनन् । उनीहरूले उल्टै परीक्षार्थीले नै परीक्षाको समयमा प्रश्न–पत्र हेर्नुपर्ने दाबी गर्दै आएका छन् ।
‘५० वटा प्रश्नका लागि ४५ मिनेटको समय दिइएको हुन्छ, त्यो समयमा उत्तर दिनै हतारो हुन्छ’– साहले भनिन् । परीक्षार्थी साहका अनुसार कर्मचारीहरूबाटै त्रुटि भएको हो । प्रश्न–पत्रको बारेमा बाहिर निस्किसकेपछि जानकारी गराउँदा त्यो प्रश्न–पत्र पनि उनीहरूले नै लिएको बताइन् । ‘अन्यसँग प्रश्न–पत्र कम्पेयर गर्दा मात्रै मेरो सातौं तहको रहेछ भन्ने पत्ता लाग्यो’ उनले भनिन्, ‘प्रश्न–पत्र माग्दा पनि खोइ कहाँ गइसक्यो भनेर भने ।’
प्रश्न–पत्र अर्कै पदको भएको विषयमा प्रशासनमा कुरा राख्दा केही गर्न नसक्ने उत्तर दिएको उनले बताइन् । उनले क्षेत्रीय स्वास्थ्य निर्देशनालयलाई सो विषयमा खुलाई निवेदन दिएकी छन् । ‘उहाँहरूकै त्रुटिले गर्दा मेरो जीवन बर्बाद भयो’ उनले भनिन्, ‘निवेदनसमेत लिन अस्वीकार गरिरहेको थियो ।’
क्षेत्रीय स्वास्थ्यका अधिकृत चन्द्रदेव मेहतालाई निवेदन दिएको उनले बताइन् । उनका देवर रोशन साहले पुनः दिन पाउनुपर्ने माग राखे । ‘उनीहरूको त्रुटिले यस्तो भएको छ भने हामीले उपचार त पाउनुप¥यो नि’–उनले भने । शनिबार नै सातौं तहको पनि परीक्षा भएको थियो । ‘सातौं तहको परीक्षा भइसकेकोमा पाँचौं तहमा कसरी आयो रु यो कर्मचारीको मिलेमतोमै भएको छ’–देवर रोशनले भने ।
यस विषयमा ब्लाष्टकर्मीले अधिकृत मेहतालाई फोन सम्पर्क गर्दा उनले परीक्षा हलभित्र भएको भए केही समाधान हुनसक्ने तर, अब केही हुन नसक्ने बताए । ‘परीक्षा हलभित्र भएको भए केही हुन सक्थ्यो, तर अब बाहिर आएपछि केही गर्न सकिँदैन’–उनले फोन सम्पर्कमा भने । उनी कर्मचारीहरूबाट त्रुटि भएको कुरालाई मान्न तयार थिएनन् । ‘त्रुटि भएको भए त अरूलाई पनि पर्नुपथ्र्यो नि रु’ उनले भने, ‘केन्द्राध्यक्ष, सह–केन्द्राध्यक्षलगायत थुप्रै कर्मचारीले प्रश्न–पत्र जाँच गरेको हुन्छ ।’ उनले जानेर आफूहरूबाट त्रुटि नभएको दाबी गरेका छन् ।