नेपालमा यतिबेला माक्र्सवाद–लेनिनवादलाई मार्गदर्शक सिद्धान्त मान्ने दलको मुख्य नेतृत्वमा दुई तिहाइको मतादेशसहित सरकार क्रियाशील छ । कम्युनिष्टको यति भारी जनसमर्थनसहित एकमना सरकार बन्नुले नेपाली लेखकहरुसहित नेपाली समाजका विविध तप्काका जनसमुदायको दशकौंदेखिको सपना पुरा भएको छ । कम्युनिष्ट सरकार त बनेको छ, तर वास्तवमा सरकार त साधन मात्र हो, साध्य होइन । जनअपेक्षालाई मूर्तिकरण गरेर योजना, परियोजनाका श्रृंखलामार्फत सबै प्रकारका विकास निर्माणका कामलाई अघि बढाउन सरकार साधन मात्र हो । अब प्रश्न उठेको छ– प्रगतिवादी तप्काका लेखक तथा साहित्यकारको अबको भूमिका के हो ? लेखक र सत्ताको सम्बन्ध कस्तो हुने ? सचेत लेखकहरु सत्ताको धुपौरे बन्ने कि समाज विकासको गतिशीलतालाई आत्मसात गर्दै आलोचनात्मक चेतसहित क्रान्ति र परिवर्तनका लागि क्रियाशील हुने ?
प्रगतिवादी साहित्य माक्र्सवादी दर्शनमा आधारित हुन्छ र सरकारको नेतृत्व पनि आफूलाई माक्र्सवादी भन्न रुचाउने दलकै हातमा छ । बोल्सेभिक रुसी अक्टुबर क्रान्तिको मुख्य नेतृत्व गर्ने लेनिन कै समयदेखि चरम विवादमा पर्दै आएको लेखकीय स्वतन्त्रता कि पार्टी प्रतिबद्धताको प्रश्न फेरि एकपटक नेपालमा उठेको छ र उठिरहेको छ । कम्युनिष्ट पार्टीको नेतृत्वमा रहेको सरकारले गरेका जनविरोधी कृत्यको विरोध प्रतिध्रुबीय दलसम्बद्ध कलमले मात्र गर्ने हो कि प्रगतिवादी कलमले पनि गर्नुपर्ने हो ? वैचारिक प्रतिबद्धता बिनाको लेखनसत्ताको वकालती माक्र्सवादसम्मत छैन, तर पार्टीसत्ताभन्दा माथि छ वैचारिक प्रतिबद्धताले सुसज्जित लेखनसत्तारु भन्ने सच्चाइलाई प्रगतिवादी लेखनकर्मीले समयमै बुझ्न जरुरी छ ।
आफ्नो गोजीमा रहेको सदस्यतासँग मिल्दो दलको सरकारले शासनको बागडोर सम्हालेको आधारमा सत्ताले गरेका सबै काम जनपक्षीय हुन्छन् भनेर मान्न सकिँदैन, तर राम्रा कामको सदैव समर्थन गर्ने र नराम्रा काम सच्याउनका लागि आफ्ना अक्षरहरुले आवाज बुलन्द गर्ने लेखन धर्मिताबाट प्रगतिवादी लेखकहरुले विचलित भएका दिन सम्झनुपर्छ– अब मुलुकमा जनविरोधी कृत्यको बढोत्तरी हुने क्रमको शुरुवात भएको छ र आफू पनि सोही छालसँग हेलिँदै जनविरोधी खेमामा उभिने बाटोमा लामबद्ध हुँदैछु भनेर । लेखकको भूमिका जहिलेसुकै र जहाँसुकै रचनात्मक आलोचकको रूपमा रहन्छ । लेखकहरू सत्ताका त्यस्ता स्थायी प्रतिपक्षी हुन्, जसले रचनात्मक आलोचना गर्छन् । तर, उनीहरु ती सत्ताको ताबेदारीलाई आफ्नो अभिष्ट बनाउँदैनन् । हरेक लेखकमा प्रतिबद्धता र पक्षधरता हुन्छ, तर त्योे तरफदारी र ताबेदारी आफ्नो आस्था र विश्वासलाई तिलाञ्जली दिएर आफ्नो आस्थासँग मिल्ने सरकारले गरेका गलत कामको समर्थन गर्ने तहसम्म विकास हुनुहुँदैन ।
माक्र्सवादी दर्शनका अनुसार ब्रम्हाण्डमा रहेका हरेक वस्तुको अस्तित्व गतिशील रहन्छ भन्ने मान्यता छ । यस दर्शनले डार्विनको क्रमविकासको सिद्धान्तलाई आधार मान्दै प्रकृतिका हरेक पदार्थको नित्य निरन्तर रुपमा हुने परिवर्तनद्वारा त्यसको रुपमा परिवर्तन भएर त्यसले अर्कै पदार्थको रुप लिन पुगेको, ठिक त्यसरी नै समय र परिस्थितिले मानवीय जीवनलाई त्यसको सोचमा परिवर्तन गरेको तथा परम्परागत रुपमा स्वीकार गर्दै आएका मूल्यमान्यतालाई परिष्कार गर्दै व्यावहारीकरण गर्नु, जीवनमा बाधा र अड्चन गर्ने नमिल्दा कुराहरुको परिहार गरी जटिल कुराहरुको कारण पत्ता लगाउँदै त्यसलाई सरलीकरण गरेर समाजलाई जटिल परिस्थितिबाट मुक्त गराउनु माक्र्सवादी दर्शनले आफ्नो मूल अभिष्ट मानेको छ । मानिसद्वारा इच्छाइएका सकारात्मक कुरालाई परिमार्जन गरी समाज सापेक्ष तुल्याउनु जस्ता महत्वपूर्ण कुराहरुलाई आदर्शीकरण गर्दै साहित्यिक चिन्तन गर्ने परम्पराबाट प्रगतिवादको पृष्ठभूमि तयार भएको मानिन्छ । ज्ञानविज्ञानका प्रत्येक क्षेत्रमा आएका परिवर्तनले साहित्यलाई पनि प्रभावित गर्ने गर्दछ । संसारमा अनेक थरि विचार छन् तर सही विचार कुन हो भनेर कसरी छुट्याउने भन्ने कुरा पनि महत्वपूर्ण नै हो ।
यस क्रममा सही विचारले मानिसलाई कमजोर र शक्तिहीन पार्ने होइन आत्मबल र ऊर्जा भर्न सक्नु पर्छ । मान्छेको यथार्थ जीवन सुख–दुःखमय छ र अझभन्दा बढी दुःखमय नै छ । सो दुःखमय जीवनबारे शोक व्यक्त गर्नु र रोइ कराइ गर्नुको कुनै अर्थ छैन पनि । निराश बनेको मान्छेलाई थप निराशामा डुबाएर कमजोर, आत्मबलहीन बनाउनुभन्दा आशा र उमँगका किरण छर्नु निःसन्देह उचित कुरा हो । त्यस प्रकारको दुःखी र अनिच्छित जीवन भोगाइबाट सुखद् जीवनका निम्ति प्रयत्न गर्नु र मानिसलाई निराश, हतास र मृत्योन्मुख बनाउनु भन्दा जाँगरिलो, जोशिलो र आशावादी बनाउनु उचित हुन्छ । मान्छेको मनलाई निराश बनाउने पनि वास्तविक भौतिक परिवेश हो । समाजप्रति उत्तरदायित्व बोकेको सचेत स्रष्टाले मान्छेलाई निराश र हतास हुन प्रेरित गर्नु किमार्थ ठिक हुन सक्दैन । वस्तुवादी विचारको दाबी गर्ने प्रगतिवादले सम्भव कुरालाई नै पाठक समक्ष पस्केर यथार्थ बोध गराउन चाहन्छ । एउटा लेखकले यहीँनेर आफ्नो लेखनधर्मितालाई आत्मबोध गर्न सक्नुपर्छ र सत्तासँग आफूले गर्नुपर्ने अपेक्षा र आशाको मूल्यांकन गर्नुपर्दछ ।
नेपालमा २००६ सालमा कम्युनिष्ट पार्टीको स्थापना गरिएको थियो । यो देशको नयाँ इतिहास रचनामा वामपन्थी तथा कम्युनिष्ट पार्टीहरूले दिएको योगदानको कदर गर्नैपर्छ । तिनले हाँकेका आन्दोलन, विद्रोह र चलाएको वैचारिक दीक्षाको प्रभाव बलियो थियो । त्यसकै कारण यतिबेला उनीहरू सत्तासीन हुन सकेका छन् । नेपालमा लोकतान्त्रिक र गणतान्त्रिक व्यवस्थाको इतिहास रचनामा लेखकहरुको पनि ठूलो भूमिका छ । उनीहरुले कम्युनिष्ट पार्टीमा रहेर अथवा बाहिर रहेर पनि निरंकुशता, निर्दलीयता, जनविरोधी, अलोकतान्त्रिक राजनीतिक परिपाटीका विरुद्धमा उभिए र आफूले सकेको योगदान गरे । उदाहरणका लागि नेपाली प्रगतिवादी फाँटका महारथी मोदनाथ प्रश्रितका रचनाहरु मुलुककै कम्युनिष्ट आन्दोलनका विविध ऊर्जाशील घटनाभन्दा बढी धारिला, ओजिला र प्रभावकारी थिए । एउटा संगठकले महिनौं लगाएर निर्माण गर्न नसकेको काम प्रश्रितको एउटा रचना वा पुस्तकले गरेका सयौं–हजारौं उदाहरणहरु छन् नेपालमा ।
सबैले स्वीकार्नुपर्ने कुरा केहो भने आजको अवस्था मूलतः विगतका संघर्षहरूको परिणति नै होरु। र कम्युनिष्ट नेतृत्वसँग न्यूनतम् कम्युनिष्ट चरित्र होस् र नेपाली समाजमा विद्यमान आर्थिक, सामाजिक, सांस्कृतिक अन्तरद्वन्द्वहरु हल हुन सकून् भन्ने जनअपेक्षा छ । जनअपेक्षा अनुरुप सत्ता क्रियाशील भएन भने सत्तालाई सजग र सतर्क गराउनु लेखकको धर्म हो किनभने लेखक विचारले प्रतिबद्ध र दिशाबोधले सुसज्जित हुन्छ र हुनुपर्छ । वास्तवमा लेखक आफ्नो समयको बौद्धिक नेतृत्व हो । ऊ सत्ताको निरपेक्ष समर्थक पनि होइन र निरपेक्ष विरोधी पनि होइन ।
जनपक्षधरताका दृष्टिकोणले पार्टीका विचारको ऊ समर्थक हो र जनविरोधी कृत्य र प्रस्तावनाको उसले सदैव आलोचना गर्छ । लेखक पार्टीका विचारहरुको पक्षपाती हो, विचार निर्माणमा पनि ऊ राजनीतिक नेतृत्वसँगै वैचारिक विमर्श र संघर्षमा हुन्छ र विचार निर्माणपछि कार्यान्वयनको चरणमा चाहिँ ऊ न शक्तिकेन्द्रको गुलाम बन्न सक्छ, न सत्ताको भरिया बन्न राजी हुन्छ । प्रगतिवादले रातदिन मिहेनत गरेर पसिना वगाउने श्रमिक गरिबलाई विजयी बनाउने र बसी–बसी श्रममाथि शोषण गरिरहने, धनी र शोषकलाई पराजयी बनाउने मान्यता प्रस्तुत गर्दछ र यसमा पनि श्रमिक समूहलाई उत्साहित बनाउने आशावाद नै लुकेको पाइन्छ । के कुरा साँचो हो र सबैले मान्नुपर्छ भने संसार गरी खानेको मात्र हो र भविष्य पनि तिनै श्रमिक गरी खानेकै हुन्छ ।
प्रगतिवादले यही श्रमलाई र कर्मशीलतालाई केन्द्र मानेर समाज निर्माणको आधारशीला बुनेको हुन्छ । प्रगतिवादले मान्छेका लागि परिस्थिति कहिलेकाहीँ प्रतिकूल हुन सक्छ । तर, त्यस प्रतिकूलतालाई अनुकूलतामा बदल्ने काममा श्रम मार्फत सक्रियतापूर्वक लाग्न अभिप्रेरित गर्दछ । यसले मनभित्र ऊर्जा र आत्मबल भएको उत्साही एवम् जीवित मान्छेलाई साहित्यको चरित्र बनाउने गर्दछ । यसले समाजलाई पनि बदल्ने तथा आफू पनि बद्लिने चरित्रको निर्माण गर्दछ । यसले साहित्यबाट सामाजिक परिवर्तनको प्रक्रियालाई बुझ्न सकिने मान्दछ र साहित्यले जन चेतना जगाई श्रमजीवी वर्गलाई संगठित गर्न सघाउने पनि ठान्दछ । यसले निम्न वर्गका जनतालाई संगठित हुन र परिवर्तनको वैज्ञानिक विचारमा प्रतिबद्ध हुन प्रेरित गर्दछ ।
प्रगतिवादको यस साहित्य चिन्तनले श्रम विभाजन र निजी सम्पत्तिको सञ्चयका कारण समाजमा भेदभाव सुरु भएको र त्यसले मानव समाजलाई विखण्डित पारेको मान्दछ । यसले जाति, क्षेत्र, वर्ग, लिङ्ग आदि भेदभावबाट असमान हुन पुगेको मानव समाजलाई समानतामा मिलाउने प्रयत्न गर्दछ र पूर्ण मानवको निर्माण गर्न चाहन्छ । प्रगतिवादका यी मान्यताहरू दासयुग, सामन्तीयुग एवं पुँजीवादी युगको ऐतिहासिक विकास प्रक्रियाका सन्दर्भमा तथा द्वन्द्वात्मक तथा ऐतिहासिक भौतिकवादी दर्शनका आलोकमा परिभाषित गरिएका हुनाले वैज्ञानिक मानिन्छन् ।
यतिबेला नेपाली जनजीवन कम्युनिष्ट सरकारसँग आशालु नजरले हेरिरहेको छ, जुन स्वाभाविक पनि छ । नेपालको संविधान २०७२ ले निर्दिष्ट गरेको समाजवादोन्मुख अर्थव्यवस्थाको आधार तयार पार्ने बाटोमा मुलुक लाग्नुपर्ने हो र यसका लािग दलाल पुँजीवादको ठाउँमा राष्ट्रिय पूँजीलाई प्रश्रय दिनु पहिलो शर्त हो । तर प्रश्न उठ्न थालेको छ– समाजवादको सपना र आर्थिक समृद्धिको परिकल्पना कतै उत्पीडित वर्ग र समुदायका आशा र अपेक्षामाथिको प्रहसन त होइन ? मुलुक यतिबेला छोरीचेली बलात्कार र हत्याले आक्रान्त छ । कम्युनिष्ट पार्टीको सत्तारोहणपछि सत्ताका जनविरोधी कृत्यको कुनै आलोचना नगर्ने कसम खाएर प्रगतिवादी लेखक तथा साहित्यकार आफूलाई शासक सम्झन्छ भने ऊ सत्ताको तरफदारीमा आफ्ना क्षुद्र स्वार्थ पुरा गर्ने कृत्यमा अभिषप्त छ भन्ने बुझिन्छ । सत्ताको मझेरीमा रमाउने र जनविरोधी कृत्यको सहयात्री हुने लेखकको आयु दीर्घकालीन हुन सक्दैन ।