कोरोना नियन्त्रणमा खटिने सेना तथा प्रहरीले शतप्रतिशतसम्म प्रोत्साहन भत्ता पाउने भएका छन् । कामको प्रकृति हेरेर दैनिक तीन सय खाजा खर्चदेखि सुरु तलबमानअनुसार शतप्रतिशतसम्म भत्ता दिने निर्णय १६ चैतको मन्त्रिपरिषद् बैठकले गरेको हो ।
मन्त्रिपरिषद्को निर्णयअनुसार कोरोना नियन्त्रणमा खटिने नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका कर्मचारीले भत्ता पाउनेछन् ।
पिपिई लगाएर खटिनेलाई शतप्रतिशत भत्ता
पर्सनल प्रोटेक्सन इक्विपमेन्ट९पिपिई० लगाएर पेसेन्ट रिसिभिङ टिम ९पिआरटी०मा काम गर्नेहरूलाई सरकारले शतप्रतिशत भत्ता दिने भएको छ । संक्रमित तथा शंकास्पद बिरामीलाई अस्पताल लैजान सरकारले पिआरसी गठन गरेको हो ।
त्यस्तै, पिपिई नलगाई पिआरटीमा काम गर्ने र क्वारेन्टाइनको सुरक्षा तथा व्यवस्थापनमा खटिनेले तलबको ५० प्रतिशत भत्ता पाउनेछन् । ड्युटीमा खटिने अन्य सुरक्षाकर्मीले दैनिक तीन सय रुपैयाँ खाजा खर्च पाउनेछन् । त्यसका लागि कार्यालय प्रमुखले ड्रयुटीमा खटिएको भनेर प्रमाणित गर्नुपर्ने हुन्छ । यस्तो भत्ता हिनामिना नहोस् भनेर सम्बन्धित प्रहरीको बैंक खातामा जम्मा गर्न भनिएको छ ।
सरकारको निर्णय बिहीबार देशभरिका प्रहरी कार्यालयमा सर्कुलर गरिएको नेपाल प्रहरीका प्रवक्ता एसएसपी उमेशराज जोशीले बताए । यसबाट फ्रन्टलाइनमा खटिएका सुरक्षाकर्मीको मनोबल बढ्ने उनी बताउँछन् ।