बिर्तामोड । पूर्व सिमावर्ती भारतिय बजार नक्सलबारीमा अहिलेसम्म कोरोना भाइरसको संक्रमित नभेटीएको स्थानीय प्रशासनले जनाएको छ । भारतमा कोरोना संक्रमितको संख्या तिब्र रुपमा बढीरहेको अवस्थामा नेपालसंग सिमाना जोडिएको पश्चिम बंगालको नक्सलबारी क्षेत्रमा समेत कोरोनाका संक्रमित भेटीएको भन्ने हल्ला निराधार भएको नक्सलबारीका प्रहरी इन्चार्ज सुजित दासले मेचीनगरको रेडियो साथीलाई बताएका छन ।
इन्चार्ज दासले रेडियो साथीसंगको कुराकानीमा भनेका छन, ‘गलत हल्लाले हामीलाई पनि हैरान पारेको छ तर यहाँ कोही पनि कोरोनाको संक्रमित छैनन ।’ आशंका लागेका सबै ब्यक्तिलाई स्वास्थ्य परिक्षण गराउने ब्यवस्था गरिएको र अहिलेसम्म कोही पनि कोरोना संक्रमित नभेटिएको प्रहरी इन्चार्ज दासले स्पष्ट पारेका थिए।
नक्सलबारीमा कोरोना संक्रमित भेटीयो भनेर अफवाह फैलाइएको र यसको पछि नलाग्न सिलिगुडी प्रहरीका डिएसपी राजन क्षेत्रीले पनि भनेका छन। डिएसपी क्षेत्रीले उत्तर बंगालमा नयाँ संक्रमित फेला नपरेको र पहिला भेटिएका संक्रमितहरुको उपचार चलिरहेको बताए । उपचारमा रहेका संक्रमितहरुको अवस्था सामान्य रहेको डिएसपी क्षेत्रीको भनाई छ ।
यो समाचार तयार पारुनजेल सम्म कोराना भाइरसबाट भारतमा अहिलेसम्म ७ हजार ६०० जना संक्रमित भएका छन भने २४९ जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।