झापा। राष्ट्रिय परिषद् बैठकबाट पारित विधानलाई लिएर नेपाल शिक्षक महासंघको एक घटक संस्थाले असन्तुष्टि जनाएको छ ।
महासंघको राष्ट्रिय कार्यसमितिको कार्यकाल दुईबाट बढाएर चार वर्ष बनाउने गरी भएको संशोधनमा १४ घटकमध्ये एक घटक नेपाल शिक्षक संघले असन्तुष्टि जनाएको हो ।
गत असोज ४ र ५ गते सम्पन्न राष्ट्रिय परिषद् बैठकको कार्यादेशअनुसार सेवानिवृत्त शिक्षकलाई पनि महासंघको पदाधिकारीको बाँकी कार्यकाल पूरा गर्न मिल्ने गरी अवधि बढाउने निर्णय भएको विधान मस्यौदा समितिका संयोजक सहअध्यक्ष पूर्णप्रसाद दवाडीले बताए ।
उनले परिषद्ले तोकेनुसार कार्यालयीय पदाधिकारी र घटकीय संस्थाका महासचिवसहितको बैठकले संशोधनलाई अन्तिमरुप दिई प्रकाशनको निर्णय गरेको संयोजक दवाडीले बताए । वर्तमान अध्यक्ष बाबुराम थापा नेतृत्वको राष्ट्रिय कार्यसमितिको कार्यकाल दुई वर्ष दुई महिना भएको छ । सो निर्णयमा असन्तुष्ट संघका अध्यक्ष राजेन्द्रराज पौडेलले कार्यालयीय पदाधिकारी र घटकीय नेतृत्वको बैठकमा अवधि थप्ने प्रस्ताव सर्वसम्मत नभएको जनाउँदै संशोधित विधान मान्य नहुने प्रतिक्रिया दिए ।
विधानलाई अन्तिमरुप दिन गत मंसीर ३० गते बैठक बोलाइएको बैठकमा गणपूरक उपस्थिति नभएको दवाडीले जिकिर गरे । महासंघमा अध्यक्ष थापा नेपाल राष्ट्रिय शिक्षक सङ्गठन र महासचिव लक्ष्मीकिशोर सुवेदी संघका प्रतिनिधि रहेका छन् ।
अध्यक्ष थापाले संघभित्रको आन्तरिक कलहको प्रभाव महासंघमा पार्न खोजिएको उल्लेख गर्दै पारित विधान नमान्ने पदाधिकारीलाई विधान बमोजिम स्पष्टीकरण सोध्न सकिने बताए । उनले
भने– विधान संशोधनमा प्रक्रिया नपुगेको भन्ने साथीहरु मुद्दामा जान सक्नुहुन्छ । महासङ्घले आफ्नो विधिसम्मत् निर्णयको आधार स्पष्ट पार्ने नै छ ।
तत्कालीन नेपल शिक्षक युनियन वि.सं. २०७१ चैत २७ मा महासंघमा रुपान्तरण भएको थियो । यो समाचार आजको पूर्वाञ्चलमा दैनिकमा छ ।