Aamsanchar

 ६९ वर्षे इतिहासमा महिला सङ्घको तेस्रो महाधिवेशन हुँदै

Author Image
सोमवार, भदौ २७, २०७३

nepal-women-association

काठमाडौँ ।

नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल महिला सङ्घ स्थापनाको ६९ वर्षे इतिहासमा यही भदौ २९ गतेदेखि तेस्रो राष्ट्रिय महाधिवेशन हुँदैछ ।

सङ्घको महाधिवेशन ‘महिला सशक्तीकरणका चार निकास, समान सहभागिता, शान्ति, समृद्धि र संवैधानिक विकास’ भन्ने नाराका साथ भदौ २९ देखि ३१ गतेसम्म काठमाडौँमा हुँदैछ ।

विसं २००४ साउन २४ गते स्थापना भएको महिला सङ्घको हालसम्म २०५८ साल विराटनगरमा पहिलो र २०६४ साल काठमाडौँमा दोस्रो महाधिवेशन भएको थियो । यसबाहेक अन्य कार्यसमिति पार्टीको समन्वयमा गठन भएका थिए ।

स्व मङ्गलादेवी सिंह सङ्घको संस्थापक अध्यक्ष हुनुहुन्छ भने त्यसपछि कान्तासिंह श्रेष्ठ, मीना पाण्डे, उमा अधिकारी, अम्बिका बस्नेत र हाल डा डीला सङ्ग्रौला सङ्घको अध्यक्ष हुनुहुन्छ ।

महाधिवेशनको तयारीस्वरुप सबै जिल्ला कार्यसमितिको अधिवेशन सम्पन्न भई महाधिवेशनको सम्पूर्ण तयारी पूरा भएको सङ्घकी अध्यक्ष डा डीला सङ्ग्रौलाले राससलाई जानकारी दिनुभयो ।

विसं २०६८ माघ २१ गते महाधिवेशन सम्पन्न गर्नका लागि पार्टीले गठन गरेको हालको ४५ सदस्यीय तदर्थ समितिका कसैले पनि तेस्रो महाधिवेशनअन्तर्गत हुने निर्वाचनमा भाग लिन नपाउने निश्चित भएको छ । आगामी निर्वाचन प्रान्तीय संरचनाअनुसार ५१ सदस्यीय हुने अध्यक्ष सङ्ग्रौलाले बताउनुभयो ।

सङ्घको आगामी अध्यक्षको उम्मेदवारमा हालसम्म चित्रलेखा यादव, मीना पाण्डे, धना खतिवडा, रुक्मिणी कोइराला, अम्बिका बस्नेत, उमा रेग्मी, मञ्जु खाँणलगायत देखिनुभएको छ ।

शेरबहादुर देउवा पार्टी सभापति हुनुभएपछि विगत लामो समयदेखि हुन नसकेका भातृ संस्थाका महाधिवेशनहरु धमाधम हुन थालेका छन् । पार्टीका १३ भ्रातृ र १७ शुभेच्छुक संस्था छन् ।

महाधिवशेनमा मुलुकभरबाट आउने करिब दुई हजार २०० जना प्रतिनिधिलाई खानबस्नको उचित व्यवस्थापन भइसकेको र निर्वाचनका लागि विद्युतीय भोटिङ मेसिनको प्रयोग गर्ने तयारी भएको केन्द्रीय सदस्य एवम् भोजन व्यवस्थापन समिति संयोजक प्रशिष महराले बताउनुभयो ।

भदौ २९ गते बिहान १० बजे शान्तिवाटिकाबाट विभिन्न झाँकी र ¥यालीसहित भृकुटीमण्डपमा आउने र १२ बजे नेपाली काँग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कार्यक्रमको उद्घाटन गर्ने कार्यक्रम रहेको सङ्घकी प्रवक्ता निर्मला क्षेत्रीले जानकारी दिनुभयो ।

पार्टीले महिला सङ्घको महाधिवेशन सम्पन्न गर्न विधानअनुसार केन्द्रीय सदस्य एनपी साउदको संयोजकत्वमा निर्देशन समिति गठन गरेको छ । समितिको सदस्यमा नवीन्द्रराज जोशी, चन्द्र भण्डारी, कमला पन्त र प्रदीप पौडेल रहनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 143

प्रतिक्रिया (०)

सम्बन्धित खबर