चारपाने । ‘एकका लागि एक’ अभियानले झापाको कचनकवल गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ ।
झापामा सबैभन्दा धेरै संक्रमित देखा परेको पालिका कचनकवलमा कोरोना भाइरस परीक्षणको दायरा बढाउन आज सोमबार दुईसय थान पिसिआर किट, १००० थान मेडिकल मास्क, ९९५ थान साबुन प्रदान गरिएको अभियानको साझेदार संस्था बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष अभियन्ता कुमार भट्टराईले बताए ।
जिल्ला प्रशासन झापाको कार्यालयमा एक कार्यक्रमका बीच गाउँपालिकाको लागि अध्यक्ष अन्जार आलमलाई उक्त सामाग्री प्रदान गरिएको थियो ।
अभियानले यसअघि जिल्ला प्रशासन कार्यालय झापालाई पहिलो पटक ३४० थान भाइरल ट्रान्सपोर्ट मिडियम (भिटिएम) किट, दोस्रो पटक ३२० थान डबल पिसिआर, ८० थान आरसिटी (किट) प्रदान गरिसकेको छ । त्यसैगरी मेचीनगर नगरपालिकालाई एकसय थान आरडिटी किट हस्तान्तरण गरिसकेको छ ।
एक हजार किट खरिद गरेर झापामा परीक्षणका लागि हस्तान्तरण गर्ने, अभियानले अब स्वास्थ्यको क्षेत्रमा सहयोग पुर्याउने अभियन्ता भट्टराईले उल्लेख गरे ।
अभियानका सदस्य शिवकुमार कडेलले सहजीकरण गरेको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी उदय राना, जिल्ला प्रहरी प्रमुख कृष्णप्रसाद कोईराला, अभियानका सहसंयोजक बिनोद बस्नेत, साझेदार संस्था वीरता जेसीजका अध्यक्ष मिजास पोखरेल, रोटरी क्लव अफ सुरुंगाका अध्यक्ष कुमार पोखरेल, नेपाल जेसीजका उपाध्यक्ष विशाल थापा, बिर्तामोड उद्योग बाणिज्य संघका सदस्य सञ्जिव घिमिरे, वीरता जेसीजका महासचिव विकाश बस्नेतलगायतको उपस्थिति थियो ।