मैले प्रमाणपत्र तह पढ्दा रसियन लेखक लियो टोल्सटोयको एउटा कथा थियो अंग्रेजी पाठमा– ‘ह्वाट मेन लिभ बाई ।’ त्यस कथामा मान्छेलाई बचाउने एउटा कारणको रुपमा ‘प्रेम’ भनेर व्याख्या भएको छ । अर्थात् मान्छे प्रेमले बाँचेको हुन्छ भन्छ कथाले । कथाले भनेर मात्रै मान्छे प्रेमले बाँचेको हो र ? कि प्रेमले बाँचेकोछ भन्ने बुझेरै टोल्सटोयले कथा लेखेका हुन् ? त्यो कथा पढेपछि मात्र लागेको थियो– हो त नि ! हामीलाई प्रेमले नै त बचाएको छ । डा. संजीव उप्रेतीको ‘हंस’ पढेपछि मलाई त्यो कथा याद आयो ।
‘हंस’को आवरण चित्रलाई बुझ्नेले उपन्यासको मूल मर्म बुझ्छ । वा, म जस्ताले पूरै उपन्यास पढेपछि मात्र आवरणको अर्थ बुझ्छ । पुस्तक दुई सय उन्नाइस पेजको मात्र छ । आवरण चित्रले प्रस्तुत गरेको चित्रलाई कथाभित्रको बूढा र युवा हाँस सम्झिने र तीहरुलाई पनि हिन्दू शास्त्रले व्याख्या गरेको ज्योर्तिलिङ्गको फेद र टुप्पो खोज्न निस्किएका ब्रह्मा र विष्णुको प्रतीक ठान्दा हुन्छ । जसरी उनीहरुले ज्योर्तिलिङ्गको असीमिता भेट्न सकेनन्, कृतिले बुझाउन खोजेको बूढो हाँसले रोजेको गहिराईको अध्ययन र युवा हाँसले उड्न चाहेको उचाइ उस्तै लाग्छ । शास्त्रको भगवान् र यो कृतिका दुबै हाँसले त्यसको असीमितता भेटेको देखिंदैन ।
उड्न चाहाने रैथाने हाँसले उसले चाहेको उचाई पाउन सकेन, थाक्यो । गहिराई खोज्न निस्किएको बूढो हाँसले पनि चाहेको गहिराई पुग्न सकेन सायद, एक दिन ऊ आफै हरायो । यो विषय उमेरसँग प्राप्त हुने चेतनाको स्तरसँग मिल्छ क्यारे । अधिकांश व्यक्ति युवा अवस्थामा चिन्तनशील हुँदैन, यो उमेरमा हरेकलाई उड्ने रहर हुन्छ । उडेका सपनाहरु हुन्छन् र सपनाहरुसँगै उड्न खोज्छौं हामी जोकोही । आफ्नो क्षमता, भूगोल, आकार, वाध्यता, परिस्थितिको ख्याल गर्न नसक्दा कहिले काहीं आफ्नै परिवेश समेत नाघ्न नसक्ने गरी आफ्नै पखेटा भाँचिन्छन् भन्ने सुन्दर प्रस्तुति छ कृतिमा ।
बूढो हाँसले गहिराईमा डुब्न सिक्नुपर्छ भनेर चिन्तनशीलताको कुरा उठान गरेको छ । यहाँ नेर आएपछि समाज विज्ञानमा समेत न्यूटनको चाल सम्बन्धी तेस्रो नियम प्रयोग हुने प्रक्रिया बुझाउन खोजेको जस्तो लाग्छ । बूडो हाँस मार्फत लेखकले गहिराइमा पुगेपछि इतिहास बुझिने र इतिहास बुझेपछि मात्र भविष्य निश्चित हुने कुरा व्याख्या गर्छन् । अर्थात् हरेक कुराको उडानभित्र चिन्तनशीलता वा त्यसभित्रको गहिराइको अध्ययन पुगेन भने युवा हाँसले जस्तो पखेटामा चोके उनिएर फेरि उड्न नसक्ने हुने पो हो कि भन्ने चिन्तन प्रस्तुत भएको भान हुन्छ । यो दर्शन चलायमान पात्रका लागि बुझाउन खोजिएको छ । कृतिको मूल मर्म यही हो ।
तर यहाँ अर्को एउटा पात्र छ बूढो बकुल्लो । उसको दर्शन छ– गहिराइमा डुब्न वा माथि–माथि उड्न कहीं जानु पर्दैन । त्यो त एकै ठाउँ बसेर पनि धैर्यता र एकाग्रताले प्राप्त गर्न सकिन्छ । गहिराइ र उचाइमा भौंतारिनेहरुले कहिल्यै शान्ति पाउन सक्दैनन् ।
हामी जे–जति संघर्ष गरिरहेका छौं, खासमा त्यो के प्राप्ति होला भनेर गरिरहेका छौं ? त्यस तर्फ हामी कसैले सोचेकै छैनौं । शान्ति पो खोजेको हो कि ? भौतिक सुखको पो खोजेको हो कि ? मानसिक सुख खोजेको हो कि ? लोभले हामीलाई डो¥याइरहेको छ कि ? मोहको पासोले पो बाँध्यो कि ? शक्तिको आडम्बरले डो¥यायो कि ? के कुराले हामी यतिविघ्न चिन्तित छौं ? हामी आफैंसँगै त्यसको उत्तर छैन ।
बालअवस्था पार गरेपछि जीवनका तीन चरणहरु छन् यहाँ । युवा अवस्थाको उडान चरण, प्रौठ अवस्थाको चिन्तन चरण, वृद्ध अवस्थाको ध्यान चरण । जीवनको उत्तराद्र्धमा कल्पनाशीलताको ध्यानबाट प्राप्त हुने मानसिक शान्ति र सन्तुष्टि नै अन्तिम मार्ग हो भन्ने कुरामा उपन्यासले विट मार्छ । एउटै जीवनमा प्राप्त उमेर अनुसार जाँगर, सोच्ने क्षमता, क्रियाशीलता र ज्ञानको तहका रुपहरु प्रस्तुत गरिएको छ । हाम्रो शास्त्रीय ज्ञानमा समेत ऋषिमुनिहरुले ध्यान चरणबाटै सबै सिद्धि प्राप्त गरेको भन्ने हामी पाउँछौं । यस कृतिमा समेत सो कुरालाई प्रस्तुत गरिएको छ । उपन्यास लीलामय छ ।
कृति प्रेममय छ । मैले नढाँटी भन्नु पर्छ– कृतिको आधा भाग चराका प्रजातिहरु समेटेर कृति लेखिएको भए पनि कृति पढिरहँदा आफूलाई चरा भएको भए हुने भन्ने गरेको अनुभूति गर्न सकिन्न । बरु कृतिभित्रका चराहरु नै आफूजस्तै भएको भएको अनुभूति हुन्छ । त्यसैले कृति पढ्नुभन्दा अगाडि सुने जसरी पढेपछि यो चराको कथा होइन लाग्यो । बरु चराहरुको पात्ररुपभित्र मान्छेहरु नै बाँचेको अनुभूति हुन्छ ।
आर्थिक अभाव, रोजगारीको खोजी, जीवनको सुरक्षा र शान्ति लगायत थुप्रै कारणले नेपाली नागरिकहरु आफ्नो देश बस्न चाहँदैनन् । यसले हाम्रो नयाँ सँस्कृति विकसित हुँदैआएको छ । जसले गर्दा आज एकल परिवार हुन थालेको छ । रोजगारीका लागि विदेश जानेहरु मध्ये धेरै परिवारहरुमा पारिवारिक खटपट देखिएको छ भने सम्बन्ध विच्छेदनका घटनाहरु बढेका छन् । सुविधा र संघर्षमा फसेकाहरु त त्यसैभित्र रुमलिएर जीवन सोच्न फुर्सद पाउँदैनन् होला, तर प्रेममा फसेका मनहरु आज पनि सकिएका छैनन् भन्ने कुरा उपन्यासले दर्शाउँछ ।
घर टुट्नुमा पुरुष अहम् र धैर्यताको कमी हुनु पनि कारण रहेको बताउँछ कृतिले । प्रेम, सम्भोग र विवाहको त्रिकोणात्मक सम्बन्ध ओदान जस्तो रहेको छ । विवाहपछि त्यसलाई सन्तुलन गर्न सकिएन भने कसरी जीवन नर्क हुन्छ भन्ने कुरा पनि कृतिमा प्रस्ट पार्न खोजिएको छ ।
हाँसको प्रेम महाभारतकालीन् राधाको जस्तो छ । काली हँसिनी कृष्ण जस्तो लाग्छ । जीवनको सबैभन्दा ठूलो अर्थ बुझाउँछे काली हँसिनीले रैथाने युवा हाँसलाई । तर भावनामा बहेर उसले त्यो बुझ्दैन । काली हँसिनीले दह छोड्नु अघिल्लो दिन सँगै बस्नलाई युवा रैथाने हाँसलाई प्रस्ताव गर्छे, तर वियोगको पीडाले रैथाने युवा हाँस सँगै बस्न चाहँदैन ।
यहाँ आएपछि लाग्छ त्यो युवा हाँस होइन, हामी मध्ये कै कोही हो । किनकि हामीलाई वर्तमानको भन्दा बढी भविष्यको चिन्ता छ । हामी वर्तमानमा भन्दा बढी भविष्यमा सुरक्षित बाँच्न चाहान्छौं । कति सरल छ काली हँसिनीको जीवनको अर्थ, आज जे छ त्यसलाई पूरै सदुपयोग गर्नुपर्छ भविष्यकै लागि । भोलिको एकान्तपन अवश्य छ, आज बाँचेको जीवनको आनन्द नै भोलि आउने एकान्तको साथी हो । आज समय बाँच्न छुटाइयो भने यो समय भोलि फेरि कहाँ पाइन्छ र ?
यस कुराले मलाई एउटा कुरामा सोच्न वाध्य बनायो । के पशुपन्छीहरु पनि भावनामा बग्न सक्छन् ? के उनीहरुलाई पनि यस्ता भावनाका कुराहरुले भोलिको चिन्ता गर्ने स्तरसम्म पु¥याउन सक्छ ? म मान्छे भएर सोचिरहेको छु । त्यसैले हाँसले त्यो सोच्दैन होला लाग्छ । किनकि ऊ हामी जस्तो परिवारको जंजालमा बाँधिएर बस्दैन ।
हाँसले, पशुले, पन्छीले त्यसरी नै सोच्छन् कि सोच्दैनन् हामीसँग जाँच्ने कुनै औजार छैन । तर हाँसभित्र लेखक संजीव उप्रेतीको आत्माको बास भएकाले हाँसहरुले सोचेको, भोगेको देख्नु भयो । यदि हाँँस मात्र हुँदो हो भने भोलिको चिन्ता पक्कै गर्ने थिएन होला भन्ने लाग्छ एक मनले । तर फेरि अर्को मन भन्छ– मान्छेको आँखाबाट हेरेपछि हाँसको संसार कसरी देख्न सकिन्छ र ?
जे सुकै भए पनि हामी मान्छेहरु मान्छेका लागि मात्र सोच्ने भएर रहेका छौं । आफू दासत्व र थिचोमिचो स्वीकार गर्न नसक्नेहरु थाहै नपाइकन अन्य जीवका घरहरुमाथि औपनिवेशिकता स्थापित गर्दै गइरहेकै छौं । हाँसको पोखरी जस्तै गहिरो कृतिका लागि लेखकलाई बधाई, जसको गहिराई उठेर पछारिने हाँस जस्तै मैले भेट्न सकिनँ ।