पाँच हजार वर्ष पहिले भगवान श्रीकृष्ण ले श्रीमत भागवत महापुराण गीतामा मानिस बर्बादिका तीन कारण बताउनुभएको थियो । उहाँले यो पनि भन्नुभएको थियो कि मानिस बर्बादी र समस्याका कारक स्वयं आफू हुने र यिनिहरु खुद तपाइलाई पर्खिरहेका हुन्छन । जुन अहिले पनि प्रष्ट देख्न र अनुभव गर्न पाइन्छ । यसै क्रममा भगवान श्रीकृष्ण भन्नुभएको एउटा रोचक कहानी सविस्तार उल्लेख गर्ने अनुमती चाहान्छु ।
प्राचीन समयमा एउटा शाही परिवारमा छोराको जन्म भयो । सानै उमेरमा शाही ठाडबाड छोडी घरभन्दा टाढाको गुरुकुलमा शिक्षा प्राप्त गर्नका लागि पठाइयो । गुरुकुलमा उनी सबैभन्दा ज्ञानि, मेहेनती र जेहन्दार पनि थिए । उनले गुरुकुलमा बेद र अन्य शास्त्रको अध्ययन गरे । गुरुकुल शिक्षा समाप्त नहुदै उनका माता, पिता र भाइबहिनीको प्राकृतिक कारणबस देहावसान भयो । अब उनको राज खान्दान पनि रहेन मातापिता पनि रहनुभएन । गुरुकुल शिक्षा समाप्त हुने बित्तिकै उनले आफ्नो सारा जीवन लोककल्याण र भलाईका लागि व्यतित गर्ने प्रण लिए । केही समय पश्चात् साम्सारिक जीवन त्याग गरि महत्वाकांक्षी उदेश्य सहित तपस्याका लागि उत्तरी घनाघोर जङ्गल मा गए । उनले त्यहा लामो समयको तपस्या पछि ध्यान प्राप्त गरे । समयक्रम सङगै उनको ज्ञानको चर्चा दिन दुई गुणा र रात चौगुणा बढ्दै गयो । उनी ठुलै सन्यासी बने । उनले प्रवचन पनि दिन थाले, उनले जे भनेपनी सबैको इच्छा पूरा हुन्थ्यो । त्यही ठाँउमा एक राजा पनि बस्थे । यो कुरा राजाले थाहा पाएपछि उनलाई भेट्नको लागि पुगे । भेटिसकेपछी राजाले म यिनि सङगै बसे भने मेरो भविश्य अझ उज्वल हुन्छ होला भन्ने कल्पना गरे र सन्यासीलाई दरबार हिड्न आग्रह पनि गरे । सन्यासीले राजाको कुरा स्विकार गरी दरबारमा गए र दरबारमा भब्यताका साथ उनको स्वागत भयो ।
राम्रै भोजपान कार्यक्रम पनि सम्पन्न भयो । केही समयपछि सन्यासीले जाने अनुमती मागे । यो कुरा राजाले अस्विकार गरि सन्यासीलाई सधैका लागि तपाईंको हेरचाहको जिम्मा हाम्रो भयो यहि बस्नुपर्यो भनी आग्रहसमेत गरे ।राजाको कुरा अस्विकार गर्न नसकी सन्यासीले दरबारमा नै बस्ने निधो गरे । सन्यासीका लागि दरबार छेउको बगैंचामा कुटी निर्माण गरियो र सन्यासी त्यही बस्ने भए । उनका लागि सधै जसो खाने कुराको ब्यबस्था दरबारबाटै हुन्थ्यो । एकदिन काम विशेषले केही दिन राजाको स–परिवार दरबार बाहिर जानुपर्ने भयो । सन्यासीका लागि खानेकुराको बन्दोबस्त सहयोगिलाइ जिम्मा लगाई राजा निस्के । एकदिन सहयोगी बिरामी पर्यो र केही दिन सन्यासी भोकै बस्नुपर्यो । राजा दरबार फर्किसकेपछी सन्यासीले राजालाई भेटे । भोक रिसले कुर भएका सन्यासीले राजालाई थला पर्ने गरी झपारे । गैरजिम्मेवारीको पनी हद हुन्छ नि । म जुन ठाँउमा थिए त्यही ठिक थिए मलाइ यो हालतमा राख्ने भए किन राखेको त भनी प्रश्न गरे ? राजा लाहाचार भएर सन्यासी समक्ष माफी मागे । यस पश्चात् राजाले यस्तो नहुने कुरा प्रतिबद्धता गरे ।
समय निरन्तर अघि बढिरहेको थियो एकदिन राजालाइ फेरि अर्को पल्ट राजदरबार छोडेर बाहिर जानुपर्ने भयो । यसपाली रानीलाई आफ्नो साथ नलिइ सन्यासीको हेरचाह गर्न निर्देशन गरी आफू मात्र गए । रानीले सन्यासीलाई सधै खाना दिइरहेकी थिइन । एकदिन रानी नुहाउन गैइन । सन्यासीलाई खाना दिन भुलिन । सन्यासी भोकले तड्पिरहेका थिए । भोक सहन नसकी आफै रानीसमक्ष गए । रानी भर्खरै नुहाएर आउदै थिइन । त्यही बेला सन्यासीले रानीलाई देखे । सन्यासीले त्यहीवेला रानीको सुन्दरताको मोहमा डुबिसकेछन । उनको भोक, प्यास सबै हरायो । उनी केही नबोली कुटीमा गए र नुन खाको कुखुरा झै झोक्राएर बसे । केही दिनमै राजा दरबारमा आए कही कतै नहेरी सरासर सन्यासीको कुटीतर्फ गएर भेटघाट गरे । उनीसँग भलाकुसारी गरे । राजाले सोधे, ‘किन तपाईं यति निरास हुनुभयो ? सन्यासीले भने, ‘माहाराज म तपाइको रानीको सुन्दरताको मोहमा परिसके । म अब तपाईंको रानीविना रहन सक्दिन ।
यो कुरा सुनेपछि राजाले भने, ‘उसो भए तपाई चिन्ता नलिनुहोस, म मेरो रानी तपाइलाई सुम्पिदिन्छु ।’ राजाले सन्यासीलाई लिएर रानी समक्ष आए । रानी त्यो दिन जीवन भरकै सबैभन्दा महँगा गरगहना र पोसाक लगाएर श्रृंगार पटार गरी अझै सुन्दरी देखिएकी थिइन । राजाले रानीलाई भने, ‘तिमी बिना सन्यासी एकपल पनि बाच्न नसक्ने हुनुभैसक्यो, उहाँलाई तिम्रो साथको जरुरत छ ।’ रानीले उक्त कुरा अस्विकार नगरी हुन्छ भनी समर्थन जनाइन । सन्यासीले रानिलाई लिएर कुटितर्फ लागे । रानीले उनलाई भनिन, ‘म यो कुटीमा रहन सक्दिन ।’ रानीले भनेको अस्वभाविक होइन किनकी उनी दरबारमा रहने मान्छे हुन । मेरो लागि घर चाहिन्छ । त्यसपछि सन्यासी राजा कहाँ गएर घर चाहियो भनी आग्रह गरे । राजाले घरको पनि बन्दोबस्त मिलाइदिए । रानी र सन्यासी नयाँ घरमा गए । घर त्यही राम्रो थिएन ढुसी परेको, गन्हाउने , बस्नको लागि असहज नै थियो । रानीले फेरी सन्यासीलाई भनिन, ‘म यस्तो घरमा पनि बस्न सक्दिन । यो घरको राम्रोसँग सरसफाइ गर्नुपर्यो ।’ फेरी त्यही कुरालाइ लिएर सन्यासी राजाकहाँ गएर भने, ‘घरको सरसफाइ गराइदिनुपर्यो ।’ राजाले त्यो कुरालाई पनि सहजै सम्पन्न गराइ बस्न योग्य बनाइदिए । अब रानी घरमा गइन । साथसाथ सन्यासी पनि गएर बसि कुराकानी गर्न थाले । रानीले सन्यासीलाई भनिन, ‘तपाईं को हुनुहुन्थ्यो ? अहिले कहाँ हुनुहुन्छ ? तपाईं त महान सन्यासी ज्ञानी पुरुष हुनुहुन्थ्यो । त्यसैको कारण राजाले तपाईलाई दरबार ल्याएर आउनुभयो । अहिले तपाईं मेरो गुलामी गर्नुहुन्छ, किन ? रानीले सोधिन । सन्यासीले दरबारको सुख सयल र आरामदायी जीवनका कारण आफू को थिए र अहिले कुन अबस्थामा छु ? भन्ने विर्सिसकेका थिए ।
सन्यासीले रानी समक्ष माफी मागे, मेरो भुल, गल्ती भयो मैले यसो गर्न नहुने थियो । म तपाईंको दरबारमा बसेर लोभ, लालचमा परे, म सान्सारिक जीवनको त्याग गरि जङ्गलमा गएको थिए, । त्यहाँ मलाई खाना पानी समयमा मिल्दैनथ्यो । मलाइ त्यहाँ कुनै कुराको आवस्यकता र लोभ थिएन । जव म यहाँ आए, हर आवस्यक कुरा समयमा उपलब्ध हुन थाल्यो । कारण बस नहुने भएपछि मलाइ क्रोध उत्पन्न हुन थाल्यो ।यस कथामाको मुख्य सार नै के हो भने, मानिसका जव इच्छा पूरा हुँदै जादा लोभ लालच बढ्दै जाने र पूरा नहुदा क्रोध, रिस उत्पन्न हुने कुरा प्रष्ट हुन्छ । मानिसका समस्या भनेकै काम, क्रोध र लालच हुन भनी भागवत गिताको सोह्र अध्यायको एक्काईस श्लोक मा उल्लेख गरिएको छ।