ज्वरोले थलिएको धेरै समयपछि बल्लतल्ल दयाराम उठ्न सक्ने भए ।आफू ओछ्यान परेदेखि घर व्यवहार ,खेतीपाती ,वस्तुभाउ सबै उनकी अर्धाङ्गीनी रूपमतीले सम्हाल्दै आएकी थिइन्।बिरामी लोग्नेको स्याहारसुसार गर्नु,घरमा आएका मानिसको सत्कार गर्नु,खेतीपाती ,वस्तुभाउ सबैकुरा जसोतसो भ्याएर दयारामलाई ओछ्यान बाट उठाइन् रूपमतीले।दिउँसोको चिया खाने बेला भा’ थ्यो।रूपमतीले चिया बनाएर ल्याइन्, दुबैजना चिया पिउँदै दुखसुखका कुरा गर्न लागे।यत्तिकैमा दयारामले आफू बिरामी परेदेखि अहिलेसम्मका व्यावहारिक कठिनाइ,खेतीपाती आदिका कुरा झिके ।सबैकुरा जसोतसो चलेको तर घरमा बिरामी छोडेर टाढाको गैरीखेत चाहिँ आजसम्म पुग्न नभ्याएको रूपमतीको कुरा सुनेपछि दयारामले भने(हेर रूपमती तिम्रो मधुर बोली,स्याहार सुसार,माया र ढाडसले म आफूलाई बिरामी छु भन्ने नपरिकनै म तङ्ग्रिएँ।धेरै समय नहिँडेकाले खुट्टा कुँजिएका छन् ।
अब म बिस्तारै गैरी खेत पुगेर आउँछु,तिमी सार्है गलेकी छ्यौ आराम गर।रूपमतीलाई यति भन्दै दयाराम बिस्तारै गैरी खेततिर लागे।सधैं आधा घन्टामा पुगिने आज उनलाई एक घन्टा लाग्यो खेतमा पुग्न।बल्ल उनलाई आफू ज्यादै कमजोर भएको महसुस भयो।आफ्नो खेतमा पुगेपछि सबै खेत घुमेर हेर्न मन लाग्यो।सबैतिर डुल्न थाले।डुल्दै जाँदा उनी अचम्ममा परे।उनको जग्गाको तिनतिरको सँधियार एउटै व्यक्ति थिए छलनारायाण र उत्तरतिरका सँधियार थिए सेवकमान।दयाराम बिरामी परेपछि छिमेकीले उनको जग्गा जोतिदिएर खेतीपाती लगाइदिएका थिए ।यसै क्रममा सेवकमानको साँधतिरको अलिकति जग्गा खाली नै थियो दयारामको।तर पनि सेवकमान आफ्नो सिमाना भन्दा एक इन्च अघि बढेका थिएनन् तर छलनारायणले भने तिनैतिरबाट आफ्नो जग्गा मिचेर सिमाना वरसम्म ल्याएको देख्दा दयाराम अचम्ममा परे।
यो भन्दा अघि पनि धान रोपाइँको समयमा सिमानाको आली लगाउन छलनारायण नै अघि सर्थे र भन्थे,हेर दयाराम मेरो जग्गाको भन्दा तिम्रो जग्गाको माटो चिम्ट्याइलो छ।यस्तो माटो थप्यो भने सिमानाको आली बलियो हुन्छ त्यसैले म तिम्रो पट्टि बाट आलीमा माटो थप्छु है।होला भनेर दयाराम चुप लाग्थे।तर आज उनलाई छलनारायणको कर्तुत एकएक गर्दै आँखामा नाच्न लागे।अर्काको तिरबाट माटो थप्दै आफ्नो तिरबाट आली काट्दै सिमाना मिचेको कुरा बल्ल दयारामले थाहा पाए।ज्वरोले शिथिल बनाएको शरीर रिसले पुरै भिजिसकेको थियो।घरतिर पाइला बढाउन के पछाडि फर्केका थिए छलनारायण टुप्लुक्क त्यहीँ आइपुगे र सोधे-दयाराम भाइ अब त पुरै जाती भयौ नि,यो पाली बिरामले तिमीलाई लामो समयसम्म सुतायो,निकै कमजोर पनि बनाएछ,अलि अलि उठ्दैमा यसरी हिंड्न् हुन्न,फेरि बल्झ्यो भने जाती नहुन सक्छ ,घर गएर आराम गर।
छलनारायण दाइ अब त म पूरै जाती भएँ,फेरि नबल्झेला।म बिरामी भएदेखि रूपमती नि खेतसम्म आउन भ्याइनछिन् ।आज धेरै पछी खेतसम्म पुगेर आउँछु भनेर हिंडेको।यहाँ आइपुगेर हेर्दा त अचम्म लाग्यो दाइ मलाई त।तपाईंले तिनैतिरबाट सिमानाको आली सार्दै सार्दै मेरो धेरै जग्गा मिचिसक्नुभएछ।यो त राम्रो भएन नि!मलाई त तपाईं आफ्नै दाइजस्तो लाग्थ्यो।तर तपाईंको त हात्तीको चपाउने र देखाउने दाँत भएजस्तै बोली एकखालको अनि व्यवहार चाहिँ अर्कै खालको रहेछ ।जबसम्म मानिस आफ्नो बोली र व्यवहारमा तालमेल गर्दैन नि त्यसलाई विश्वास गर्नु नहुने रहेछ ।अब तपाईंले यसरी अर्काको जग्गा मिच्न पाउनुहुन्न,म अमिनी ल्याएर नक्शा बमोजिमको आफ्नो जग्गा सिमाना कायम गर्छु।अब म अन्याय सहन्न दाइ।छलनारायण बोले दयाराम तिमी बित्थामा जङ्गिदैछौ,तिम्रा हजुरबुबाले हाम्रा बालाई यहाँसम्म तिमीले कमाएर खानु भनेर उहिले बालाई देखाइदिनुभाको जग्गा हो मैले उपभोग गरेसम्मको।हेर्नुस् छलनारायण दाइ मेरा हजुरबुबाले तपाईंको बालाई गाईको गोठ बनाउने जग्गा छैन भन्दा अहिलेलाई मेरो जग्गामा गोठ बनाउनु,पछी मेरा छोरा नातिलाई अंश गरेपछि छोडनु भनेर गोठ बनाउन दिएको जग्गा पनि लाजै पचाएर तपाईं मेरो भन्दै हुनुहुन्छ ?छलनारायण जङ्गिए मेरै भन्छु म किनकि आजसम्म यो मैले उपभोग गरेको जग्गा हो।
व्यावहारिक रूपमा जसले उपभोग गरेको छ त्यो जग्गा उसैको हुन्छ ।तिमीले भनेर हुन्छ ? जाऊ के गर्न सक्छौ गर।छलनारायणको यस्तो खालको धम्की सुनेपछि दयारामलाई सार्है रिस उठ्यो।उनले पनि जङ्गिदै भने( मसँग लालपुर्जा छ,लालपुर्जा बमोजिमको एक इन्च जग्गा पनि म छोड्ने छैन ।तिम्रो इन्साफले होइन कानुनले निर्णय दिन्छ ,मेरा पछि पनि गाउँका सबै छरछिमेकीहरु छन् ,भद्र भलाद्मीहरु छन् ,सत्यको पक्षमा बोल्न कोही पछि हट्दैन बुझ्नुभो तपाईंले ?दयाराम यति भन्दै आफ्नो बाटो लागे।दयारामको यो साहस देखेर छलनारायण किंकर्तव्यविमुढ हुँदै बर्बराउँदै आफ्नो बाटो लागे।।