Aamsanchar

लिम्बू भाषामा आधारभूत तहको पाठ्यक्रम छापियो

Author Image
शुक्रवार, भदौ ३१, २०७३

limbu vasa

पाँचथर ।

पाँचथरमा पहिलोपटक निर्माण गरिएको लिम्बू भाषामा आधारभूत तहको पाठ््यक्रम छपाई कार्य सम्पन्न भएको छ ।

पहिलो चरणमा आधारभूत तह अन्तर्गत कक्षा ६ देखि ८ सम्मको ७० थान पाठ््यक्रम छपाई गरिएको पाठ््यक्रम निर्माण समितिका संयोजक हरिचन्द्र लावतीले बताउनुभयो ।

भाषाविद् तथा पाठ््यक्रमविद् लावती नेतृत्वको समितिले दुई महिना लगाएर उक्त पाठ््यक्रम तयार पारेको थियो । पाठ््यक्रमलाई सुरुमा पाँचथर र क्रमशः लिम्बू विद्यार्थीको बाहुल्यता रहेको ताप्लेजुङ, इलाम, झापा, मोरङ, सुनसरी, धनकुटा, सङ्खुवासभा र तेह्रथुमलगायतका जिल्लामा पनि पठनपाठनका लागि पठाइने बताइएको छ ।

पाठ््यक्रम लिम्बू भाषा र सिरिजाङ लिपिमा तयार पारिएको छ । पान्थरे भाषिकालाई मानक मानेर तयार गरिएको पाठ््यक्रममा फेदापे, छथरे र तमोरखोले भाषिकालाई पनि समेटिएको संयोजक लावतीले बताउनुभयो ।

सो पाठ््यक्रम १०० पूर्णाङ्कको हुने छ । चार खण्डमा विभाजित पाठ््यक्रमको पहिलो खण्डमा लिम्बू भाषा र संस्कृति, दोस्रोमा पेसा र प्रविधि, तेस्रोमा विज्ञान र चौँथोमा गणित रहेको छ । पहिलो खण्ड ५०, दोस्रो ३० र तेस्रो तथा चौँथो खण्ड १०÷१० पूर्णाङ्कको छ । पाठ््यक्रमको मूल उद्देश्य लिम्बू भाषा, संस्कृतिको संरक्षणप्रति विद्यार्थीमा प्रेमभाव जगाउनु रहेको निर्माण समितिले जनाएको छ ।

पाठ््यक्रमले लिम्बू भाषाको भाषिक परम्परालाई प्रयोग गर्न तथा यसको सन्तुलित विकास गर्न, भाषा विज्ञानको नयाँ आयामलाई अङ्गाल्न, मौलिक लवज बचाउन र जीवन निर्वाहमा सहयोग गर्न पनि भूमिका निर्वाह गर्ने पाठ््यक्रम निर्माण समितिका सदस्य राजेन्द्रकुमार जवेगूले बताउनुभयो ।

बहुभाषिक शिक्षा नीति अनुरुप मातृभाषामा आधारभूत तहसम्म शिक्षा लिन पाउने सरकारी निर्णय अनुसार लिम्बू विद्यार्थी मञ्चको अगुवाइमा जिल्लास्थित लिम्बू शिक्षासेवी र जिल्ला शिक्षा कार्यालय पाँचथरको संयुक्त प्रयासमा सो पाठ््यक्रम निर्माण भएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 141

प्रतिक्रिया (०)