Aamsanchar

झापाबाट महाअभियान शुरु / पहिलोपटक दुर्घटनारहीत राष्ट्रिय दिवस

Author Image
आइतवार, असोज २, २०७३

बिर्तामोड।

12

पहिलोपटक झापाका नागरिक अगुवाहरुले आज आइतबार सवारी दुर्घटना न्यूनीकरण महाअभियान शुरु गरेका छन् । महाअभियान अन्तर्गत असोज २ गतेलाई यसै बर्षबाट दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउन थालिएको छ ।

पछिल्लो समय सवारी दुर्घटना र त्यसका कारण हुने मानिसको मृत्युदर अप्रत्याशित रुपमा बढेपछि नागरिक अगुवाहरु असोज २ लाई देशव्यापी रुपमा दुर्घटनारहीत राष्ट्रिय दिवस मनाउने लक्ष्यका साथ महाअभियानमा जुटेका हुन् ।

महाअभियान मूल आयोजक समितिका संयोजक गोपालकुमार बस्नेतको अध्यक्षतामा बिर्तामोडको पश्चिम बिसौनीमा भएको मूल समारोहमा झापाका प्रमुख जिल्ला अधिकारी मदन भुजेलले महाअभियान अन्तर्गत दुर्घटनारहीत राष्ट्रिय दिवसको शुभारम्भ गरे । उनले यात्रु वसका चालकलाई खादा र अविर पहि¥याएर सम्मान गर्दै ‘आजसम्म राम्रोसँग सवारी चलाएकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ राम्रोसँग सवाारी चलाउन आग्रह’ सहित हौसला प्रदान गरे । प्रमुख अतिथि रहेका प्रजिअ भुजेलले नागरिकको तहबाट पहिलोपटक फरक ढंगको उक्त महाअभियानको प्रशंसा गर्दै यसलाई देशव्यापी बनाउनुपर्नेमा जोड दिए ।
महाअभियानका संयोजक बस्नेतले सवारीसाधनका चालकलाई जिम्मेवार बनाउँदै अझ राम्रोसँग सवारी साधन चलाउनका लागि महाअभियान अन्तर्गत प्रेरित गरिएको बताए । सबै चालक, यातायात मजदुर र व्यवसायीले विश्वकर्मा बाबालाई आस्थाको केन्द्र मान्ने भएकोले असोज १ गते विश्वकर्मा बाबाको पूजाको भोलिपल्टै २ गतेको दिनलाई दुर्घटनारहीत राष्ट्रिय दिवसको रुपमा मनाइएको समितिका सह–संयोजक मदन गोपाला सुब्बाले बताए । ‘विश्वकर्मा बाबाको आस्थासँग चालकहरुलाई नजिक गराएर यस्तो अभियान चलाउँदा अझ प्रभावकारी हुने हाम्रो ठहर छ’– सह–संयोजक सुब्बाले भने ।
चालकहरुलाई अहिलेसम्म राम्रोसँग सवारी साधन चलाएकोमा धन्यवाद र प्रशंसासहित आगामी दिनमा अझ होशियारी अपनाउन र अरुलाई पनि होशियारी साथ सवारी साधन चलाउनका लागि प्रेरित गराउनु अभियानको मूल लक्ष्य रहेको राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष समेत रहेका महाअभियानका सह–संयोजक सुब्बाको भनाइ छ ।
महाअभियान अन्तर्गत ५ सय सार्वजनिक सवारी साधनका चालकलाई खादा र अविर पहि¥यार सम्मान गर्दै अझ जिम्मेवार बन्न आग्रह गरिएको, सवारीसाधनमा चेतनामूलक स्टीकर टाँसिएको र पर्चा वितरण गरिएको महाअभियानका महासचिव एकराज गिरीले जानकारी दिए ।
महाअभियान उद्घाटन समारोहमा उपस्थित मेचीका प्रहरी प्रमुख एसएसपी केदार रिजाल, झापाका प्रहरी प्रमुख शैलेश थापा क्षेत्री, नेपाल यातायात व्यवसायी महासंघका सल्लाहकार श्रीप्रसाद मैनाली, मेचीका अध्यक्ष राजेन्द्र रिजाल, बिर्तामोडका डीएसपी खड्गबहादुर खत्री, झापाका ट्राफिक प्रहरी प्रमुख डुण्डीराज गिरी, लोकबन्धु कन्दङ्वा, टंक कटुवाल लगायतले सामाजिक संघ–संस्था र नागरिक अगुवाको पहलमा भएको अभियान अनुकरणीय भएको बताए ।

महाअभियानमा पुनर्जन्म नेपनल,वीरता जेसीज, वीरता लेडी जेसीज, रोडट्राक क्लब, नेप्लिज टिन्स, मारवाडी युवा मञ्च, झापा ११, तमू समाज, यातायात व्यवसायी लगायत विभिन्न सामाजिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि, सञ्चारकर्मी सरिक भएका थिए । महाअभियानमा नेपाल यातायात व्यवसायी महासंघ, बिर्तामोड उद्योग वाणिज्य संघ, वीरता जेसीज, रेडक्रस, बिर्तासिटी हस्पिटल, सन्तोष भेराइटिज लगायतले आवश्यक सामग्रीको संयोजन गरेर सहयोग गरेका थिए ।
महाअभियानका सदस्य एवम् बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष बलराम कार्कीले यो अभियान सबै नागरिकको सरोकार र साझा भएको बताए ।
झापाबाट यस वर्ष शुरु गर्न लागिएको यो महाअभियान आगामी वर्षबाट देशव्यापी रुपमा एकसाथ सञ्चालन गरिने बताइएको छ ।  ‘झापाबाट शुरु भएको यो अभियानलाई देशव्यापी बनाएर हरेक बर्ष राष्ट्रिय दिवसको रुपमा यसलाई मनाउँदै हरेक दिन दुर्घटनारहीत बनाउने अभियानको मुख्य लक्ष्य रहेको छ’– महाअभियानका संयोजक बस्नेत भन्छन्– ‘महाअभियान सफल पार्नका लागि झापाका ३० भन्दाबढी नागरिक संघ–संस्थाको भेलाले ती संस्थाका प्रतिनिधि रहने गरी मूल समिति समेत गठन गरेर पहिलोपटक यस बर्ष अभियान चलाएका हौं ।’
‘हरेक दुर्घटनाको कारणलाई चालकको कमजोरी र लापर्वाहीको रुपमा हेर्ने गरिएको छ, चालकको हातमा कैयौं यात्रु र यात्रीको जीवन निर्भर रहेको हुन्छ’– जिल्ला ट्राफिक प्रहरी कार्यालय बिर्तामोडका प्रमुख ढुण्डीराज गिरी भन्छन्– ‘सवारीसाधन चलाउने सन्दर्भमा चालक अत्यन्त संवेदनशील हुन जरुरी छ । यसको लागि जनचेतना र सावधानी नै मुख्य कुरा हो ।’
‘चेतनाको पाटोमा सरकारीस्तरबाट मात्र भएका प्रयास पर्याप्त छैनन्’– गिरीको कुरामा थप्दै बिर्तामोड रेडक्रसका सभापति एवम् वीरता जेसीजका अध्यक्ष सजेस शिवाकोटीले भने– ‘यसै सन्दर्भलाई मनन् गरी प्रशंसासहित चालकलाई जिम्मेवार बनाउन झापामा नागरिक स्तरबाट सवारी दुर्घटना न्यूनीकरण महाअभियान शुभारम्भ गर्न लागिएको हो । यो सबैको सरोकार र साझा अभियान हो ।’
आज विश्वमा सडक (सवारी) दुर्घटनाको अवस्था भयानक बन्दै गएको छ । नेपालकै सन्दर्भमा हेर्ने हो भने पनि दुर्घटनाको कारण सशस्त्र द्वन्द्वको समयभन्दा धेरै गुणाबढी अकाल मृत्युवरण भइरहेको छ । हरेक दिन सवारी दुर्घटनाका कारण कैयौंले अकालमा ज्यान गुमाइरहेका छन् ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार विश्वमा प्रत्येक बर्ष १३ लाख मानिसको मृत्यु सडक दुर्घटनाका कारण हुने गरेको छ । त्यसमध्ये प्रतिदिन तीन हजारका दरले मानिसको मृत्युको कारण सडक दुर्घटना बनेको छ । निम्न र मध्यम आय भएका देशहरुमा उक्त दुर्घटना र मृत्युवरण ९० प्रतिशतले रहेको अध्ययनले देखाएको छ ।
नेपालको सन्दर्भमा प्रत्येक बर्ष २ हजार बढी र प्रत्येक दिन ५ जनाको मृत्युको कारण सडक दुर्घटना देखिएको छ । नेपालमा हरेक दिन दुर्घटनाकै कारण ३३ जना मानिस घाइते हुने गरेको तथ्यांक छ । झापाकै सन्दर्भमा मात्र एक बर्षमा ७० जना भन्दा बढी मानिसको मृत्यु र दुई सय १५ भन्दा बढी सडक दुर्घटनाकै कारण घाइते हुने गरेका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)