Aamsanchar

झापाका ८२% घरमा शौचालय

Author Image
शुक्रवार, मंसिर १, २०७४

झापा।

झापामा ८२ प्रतिशत घरमा शौचालय निर्माण भएको पछिल्लो तथ्यांक सार्वजनिक भएको छ ।आगामी पुस १६ गते झापालाई खुल्ला दिसामुक्त क्षेत्र घोषणाको तयारी गरिएको र हालसम्म ८२ प्रतिशत घरमा शौचालय निर्माण भइसकेको जिल्ला समन्वय समिति झापाका सभापति सोम पोर्तेलले बताए ।

सन् २०१६ सम्ममा झापालाई खुला दिसामुक्त जिल्ला घोषणा गर्ने तयारी गरिए पनि विभिन्न कारणले सन् २०१६मा झापा खुल्ला दिशामुक्त घोषणा हुन सकेको थिएन । झापाका १ लाख ८० हजार ९ सय ८२ घरधुरीमध्ये ३१ हजार ७ सय ६८ घरमा अझै शौचालय निर्माण हुन सकेको छैन । राष्ट्रिय योजना अनुरुप लक्ष्य पूरा गर्न झापा सफल हुनेमा विश्वस्त छन् जिल्ला समन्वय समितिका अध्यक्ष पोर्तेल ।

झापाका १५ स्थानीय तहमध्ये बुद्धशान्ति गाउँपालिकामात्रै खुल्ला दिसामुक्त क्षेत्र घोषणा भएको छ भने अन्य १४ वटा स्थानीय तह घोषणा हुन बाँकी छ । त्यसमध्ये पनि कचनकवल, झापा र गौरीगञ्ज गाउँपालिकामा ५० प्रतिशतभन्दा कम घरधुरीमा मात्रै शौचालय बनिएका छन् ।

सरकारको सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१७ सम्ममा नेपालका सबै घरमा शौचालय पु¥याउनु पर्छ । नेपाल सरकारले २०६८ साउन १९ गते मन्त्री परिषद्बाट ‘सरसफाई गुरु योजना २०६८ स्वीकृत गर्दै तत्कालीन राष्ट्रपति डा. रामबरण यादवबाट २०६८ साल असोज १२ गते ‘सरसफाई गुरु योजना’ सार्वजनिक गरेको थियो । सोही गुरु योजनाले निर्धारण गरेका मापदण्ड र नीतिलाई आधार मानेर सन् २०१७ सम्ममा नेपालका सबै घरमा शौचालय निर्माण गरिसक्ने लक्ष्य राखिएको थियो ।

सहस्राब्दी विकास लक्ष्य अनुसार सन् २०१७ सकिन डेढ महिना बाँकी रहँदा नेपालका ४२ जिल्ला मात्र खुला दिसामुक्त जिल्ला घोषणा भएका छन् । खुल्ला दिसामुक्त घोषणाका लागि ४६ दिनमात्रै बाँकी रहँदा नेपालका साविक ४२ वटा जिल्ला खुल्ला दिसामुक्त घोषणा गरिएपनि ३३ जिल्लाका सबै घरधुरीमा अझै शौचालय निर्माण हुन नसकेको बताइएको छ ।

वि.स. २०६८ सालबाट शुरु भएको खुला दिसामुक्त राष्ट्रिय अभियान सन् २०१७को डिसेम्बर सम्ममा समापन हुने लक्ष्य रहेको छ । झापाको कचनकवल र गौरीगञ्ज गाउँपालिकामा ५० प्रतिशत भन्दा कम घरमा मात्र शौचालय निर्माण भएको छ । तर, दमकमा ९८.६४, कनकाईमा ९३, हल्दिवारी गाउँपालिका र अर्जुनधारा नगरपालिकामा ९६ प्रतिशत घरधुरीमा चर्पी निर्माण भइसकेको छ ।

दक्षिणी झापाका अधिकांश आदिवासी, मुस्लिम, पिछडिएको र सीमान्तकृत समुदायका मानिसले शौचालय निर्माण गरेका छैनन् । सहरी क्षेत्रका केही शिक्षित र सम्पन्न मानिसले पनि घरमा शौचालय बनाएका छैनन् । परिवारका सवै सदस्यले एउटै शौचालय प्रयोग गर्नुहुन्न भन्ने मान्यताका कारण पनि शिक्षितकै घरमा शौचालय बनाइँदैन । शौचालय प्रयोग गर्नुपर्छ भन्ने जानेर पनि अटेरी गर्नेलाई सामाजिक कारवाही गरेर भएपनि सन् २०१७ सम्ममा झापालाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेरै छाड्ने बताउँछन्– जिल्ला समन्वय समिति झापाका अध्यक्ष पोर्तेल ।

जिल्ला खानेपानी तथा सरसफाई डिभिजन कार्यालय झापाको आयोजनामा बिर्तामोडमा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ झापाका अध्यक्ष तारामणि सापकोटाले खुल्ला दिसामुक्त क्षेत्रका लागि सञ्चारक्षेत्रले गरेको कार्यबारे जानकारी गराएका थिए । युएन् ह्याविट्याटका बिनोद शर्माले खुल्ला दिसामुक्त क्षेत्र घोषणाका सम्भावना र चुनौतिबारे सहजीकरण गर्दै सहजीकरणको अभावका कारण झापामा खुल्ला दिसामुक्त अभियान सफल नभएको धारणा राखेका थिए ।

पत्रकार महासंघका उपाध्यक्ष एकराज गिरीले स्वागत गरेको कार्यक्रमको सञ्चालन खुल्ला दिसामुक्त क्षेत्र अभियानका फोकल पर्सन रुद्र न्यौपानेले गरेका थिए । तथ्याङ्क अनुसार संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को संयुक्त प्रतिवेदन अनुसार विश्वमा अहिले पनि ४० करोड मानिस शौचालय प्रयोग गर्दैनन् । शौचालय प्रयोग नगरेकै कारण फोहोरजन्य रोगका कराण बर्षेनि ५ वर्षमुनिका ६ हजार ५सय वालवालिकाको मृत्यु हुने गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 150

प्रतिक्रिया (०)

सम्बन्धित खबर