Aamsanchar

बन्दमुक्त सुरुङ्गाका जिउँदा शहीद : विष्णुप्रसाद ओली

Author Image
आइतवार, माघ २८, २०७४

 हामी जब रूख हेर्दछौं, त्यसमा लागेका पात, फूल र फल हेर्दछौं, हामी खुशी हुन्छौं । कुनै समाज, राष्ट्र वा मानिसले गरेका प्रगति देखेर हामी आफू पनि त्यस्तै हुने सपना देख्छौं । तर त्यो सफलताका पछि त्यो रुखले कति धेरै संघर्ष बेहोरेको हुन्छ, कति धेरै शीत, तुषारो, हुरी र प्रतिकूलतासँग जुधेको हुन्छ, त्यसलाई हामी विचार गर्दैनौ । यही कुरा मानव जीवनमा पनि लागू हुन्छ । तर वास्तवमा हरेक प्रगतिका पछि पृष्ठभूमिले काम गरेको हुन्छ । जग नभई पूर्वाधार संरचना निर्माण गर्न सम्भव छैन । आज सुरुङ्गा बन्दमुक्त शान्तिक्षेत्रको रुपमा राष्ट्रिय मात्र होइन, अन्तर्राष्ट्रिय प्रसिद्धिसहित आफ्नो गरिमामय पहिचानसहित प्रतिष्ठापित छ । जुनसुकै राजनीतिक दल, संघसंगठनले आयोजना गरेको बन्दहडतालमा सुरुङ्गा बन्द हुँदैन । बन्दका दिन पनि शिक्षणसंस्था, बन्दव्यापार, उद्योग, कलकारखाना नियमित रुपमा सञ्चालन हुन्छन् सुरुङ्गामा । मुलुकभर बन्द भएका बेलामा पनि सुरुङ्गालाई कुनै प्रभाव पर्दैन ।

सुरुङ्गेलीले २०४६ सालको जनआन्दोलनमा अग्रणी भूमिका खेले । २०६२/०६३ को दोस्रो जनआन्दोलनमा पनि सुरुङ्गा जनआन्दोलनको अग्रिम मोर्चामै थियो । सुरुङ्गेली जनतामा रहेको बहुदलीय व्यवस्थाको सहउत्पादनका रुपमा ऐँजेरुझैं पलाएको बन्दहडतालको संस्कृतिप्रतिको वितृष्णा थियो । बन्दका कारण सुरुङ्गेलीहरु भित्रभित्रै रुष्ट पनि थिए । उनीहरुमा सुरुङ्गालाई बन्दमुक्त गराउने तीब्र अभिलाषा थियो । बन्दहडतालसँगै जोडिएर २०६३ साल माघ २८ गते आइतबार सुरुङ्गामा अकल्पनीय घटना घट्यो । १४ वटा संघसंस्थाको सहकार्यमा संघीय गणतान्त्रिक मोर्चाका नाममा पूर्वाञ्चलका ३ वटा जिल्लालाई स्वायत्त प्रदेश घोषणाको मुख्य मागसहित बन्दको आव्हान गरिएको थियो ।

सुरुङ्गा अघिल्ला बन्दहरुझैं बन्द नै थियो । तर संघीय गणतान्त्रिक मोर्चाका कार्यकर्ताहरुले पार्किङमा राखिएका मे १ प ५४६२ र को १ प १४६२ का दुईवटा मोटरसाइकल तोडफोड गरे । सुरुङ्गाचौकमा रहेको भवानी लुइँटेलको तीर्थ कम्युनिकेशन पनि तोडफोड गरे र सँगै रहेको भरतकुमार ढकालको अस्मिता मेडिसिन सेन्टरमा पनि तोडफोड गरे । पार्किङमा राखिएका मोटरसाइकल, निर्वाध रुपमा सञ्चालन हुनुपर्ने कम्युनिकेशन सेन्टर र औषधि पसल तोडफोड भएपछि सुरुङ्गेलीहरु आक्रोशित भए । यसै क्रममा फेरि बन्द गराउनका लागि अनियन्त्रित रुपमा सुरुङ्गातर्फ आइरहेको बन्दकर्ताहरुको समूह र स्थानीयवीच भिडन्त भयो । भिडन्तका क्रममा तत्कालीन सुरुङ्गा–२ का स्थायी बासिन्दा विष्णुप्रसाद ओलीमाथि सांघातिक आक्रमण भयो ।

सुरुङ्गावासीतर्फ आधा दर्जन र बन्दकर्तातर्फ १ दर्जन बढी घाइते भए । मोर्चाका कार्यकर्तामा जातीय अहंकार रहेको र साम्प्रदायिक भडकाव रहेको आम सुरुङ्गावासीको बुझाइ रह्यो । प्रहरीप्रशासनले हस्तक्षेप गरी भिडन्तलाई नियन्त्रणमा लिएको थियो । सुरुङ्गावासीमाथि कुनै पनि प्रकारको दबाब हुनुहुन्न र स्वतन्त्र रुपमा बन्दव्यापार गर्न पाउनुपर्छ भन्ने सोचका साथ सुरुङ्गालाई बन्दमुक्त बनाउने अभियानमा अघि बढ्दा ओलीलाई भालाले रोपिएको थियो । भालाले पछाडिबाट छेडेर देब्रे कोखा वारपार भएर आन्द्रा २ ठाउँमा चुँडिएको थियो । उनको दाहिने हातको हाड धेरै टुक्रामा फुटेको थियो । उक्त घटनाको सबै पक्षबाट तीब्र विरोध भयामे । जिल्लाका पार्टीहरु, संघसंस्थाहरुले उक्त घटनाको भत्र्सना गरेका थिए । उनलाई घटना भए लगत्तै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान घोपा धरान लगियो ।

शल्यक्रिया गरेर ११ दिनसम्मको उपचारपछि उनले पुनर्जीवन पाएका थिए । लगत्तै पछि उनलाई काठमाण्डौंस्थित शिक्षण अस्पतालमा लगियो र दाहिने हातमा २ ठाउँमा स्टिल हालियो र अहिले पनि उनका हातमा स्टिल रहेको छ । मृत्यु र जीवनको दोसाँधमा उभिएको एउटा जीवन फेरि फर्केको छ । आज उनी जिउँदा शहीदका रुपमा सुरुङ्गा र समस्त कनकाई नगरवासीसँगसँगै समाजसेवामा क्रियाशिल छन् । बन्दमुक्त क्षेत्रका रुपमा आज सुरुङ्गा देशविदेशमा परिचित हुनुमा विष्णुजस्तै जागरुक सुरुङ्गेलीको हात रहेको छ । सुरुङ्गेलीको कुनै राजनीतिक दलहरुप्रति आग्रह–पूर्वाग्रह नभएको तर बन्दमुक्त शान्तिक्षेत्रको गरिमालाई आँच पु¥याउने काम कोही कतैबाट हुन नहुने उनको विचार छ ।

उनी भन्छन्, ‘ आज मलाई सन्तोष छ, सुरुङ्गा बन्दमुक्त शान्तिक्षेत्र भएकोमा । यो सबै राजनीतिक दल, उद्योग वाणिज्य संघ, सामाजिक संघसंस्था, बुद्धिजीवी, नागकि समाज, व्यापारी–व्यवसायीहरुको एकताबाट सम्भव भएको हो ।’ उनी सुरुङ्गेलीहरुवीचको एकता, सहकार्य र सद्भाव कहिले नटुटोस् भन्छन् । २०२५ साल बैसाख १८ गते पिता स्व. गंगाप्रसाद र माता देवीमायाका ४ छोरामध्ये माइला छोराका रुपमा सुरुङ्गा–२ जामुनावारीमा जन्मेका ओलीले पूर्वाञ्चल इञ्जिनियरिङ क्याम्पस धरानबाट ट्रेड लेभलसम्मको अध्ययन गरेका छन् । हाल उनी राष्ट्रिय प्रजातन्त्र पार्टी झापा क्षेत्र नं. ४ का क्षेत्रीय सदस्य, कनकाई बहुउद्देश्यीय सहकारी संस्था विर्तामोडका सञ्चालक समितिका उपाध्यक्ष, कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका सञ्चालक समिति सदस्य लगायतका जिममेवारीमा रही समाजसेवा तथा राजनीतिक क्षेत्रमा अग्रणी भूमिका निभाइरहेका छन् ।

सुरुङ्गाको गरिमा सदैव अक्षुण्ण रहोस् भन्ने उनको कामना रहेको छ । उनी सुरुङ्गालाई मात्र होइन, सम्पूर्ण कनकाई नगरपालिका क्षेत्रलाई बन्द हडतालमुक्त बनाउनुपर्ने विचार राख्छन् र भन्छन्, ‘कनकाई उद्योग वाणिज्य संघको नेतृत्वमा स्थानीय सरकारको रुपमा रहेको जननिर्वाचित कनकाई नगरपालिका, व्यापारी–व्यवसायी, बुद्धिजीवी, नागरिक समाज लगायत सबै पक्षबाट बन्द निषेधित क्षेत्रलाई विस्तार गर्दै नगरलाई नै बन्दमुक्त बनाउनुपर्छ ।’
प्रस्तुति : तीर्थराज खरेल

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 132

प्रतिक्रिया (०)

सम्बन्धित खबर