Aamsanchar

ठट्टा गरे लट्टा पर्छ

Author Image
शनिवार, वैशाख ४, २०७३

[- मनोज गजुरेल]

एकादेशमा एक जना ज्वाइँ थिए, जो असाध्यै चकचके थिए । सासू–ससुरा भित्र सुतेका हुन्थे, बाहिरबाट चुकुल लगाइदिएर ज्वाइँ घुम्न हिंड्थे । खुसुक्क तल गएर सालाको बाइकको हावा खोलिदिन्थे र लुसुक्क माथि आएर ‘मलाई पनि लैजाऊ है’ भन्दै पछि लाग्थे । केटाकेटीलाई किटिक्क चिमोटिदिन्थे । रुन थालेपछि काखमा लिन्थे र भन्थे, ‘कस्तो कमिलो रहेछ नानीलाई टोक्ने !’ आफूलाई टोक्ने त्यही दुईखुट्टे कमिलो हो भन्ने कुरा उनीहरूलाई पत्तै हुँदैनथ्यो । टोक्ने कमिलोले बोकेपछि बच्चाहरू फुरुङ्ग भैहाल्थे ।
ज्वाइँका यस्ता ठट्टा भने कसैले थाहा पाउँदैनथे । शंका पनि गर्दैनथे, किनभने उनी भूमिगत शैलीमा ठट्टा/चकचक गर्थे । यस्तो लाग्थ्यो, ज्वाइँले ठट्टा र चकचकमा पिएचडी नै गरेका छन् ।
एक दिनको घटना । चकचके ज्वाइँ एकाबिहानै ससुराली आइपुगे । ससुराली समूह टिभी हेरेर बसिरहेको थियो । ज्वाइँ कान्छी सालीको नजिकै गएर बसे । केटाकेटीलाई जिस्क्याइरहनु ज्वाइँको पुरानै बानी थियो । त्यसमाथि हुर्किएकी साली भेटेपछि ठट्टा नगर्ने कुरै भएन ।

साली मुख आँ गरेर ‘फूल मुड’मा सिरियल हेरिरहेकी थिइन् । आँ परेको मुखमा भिनाजुले आफ्नो चोर औंलो स्वाट्ट घुसाएर फ्याट्ट निकालेपछि सोधे, ‘टोक्न सक्छ्यौ ?’
पात्तिएका भिनाजुको मात्तिएको बानीबाट आत्तिएकी साली झर्किइन्, ‘फेरि गर्नु त, टोकेर चुँडाइदिन्छु भने !’ भिनाजुलाई ‘के खोज्छस् भेना ? साली !’ भनेजस्तो भैहाल्यो । पुन: हर्कत देखाउन थाले । ‘लौ, टोक’ भन्दै औंलो दिए, दोस्रो पटक पनि साली असफल भइन् ।
तेस्रो पटक पनि सुत्त पसाएर फुत्त निकालिहाले । ज्वाइँको यो हर्कत कसैलाई मन परेको थिएन, तर भन्न कसैले सकेन ।
चौथो पटक परिस्थिति बदिलियो । ‘लौ टोक’ भनेर चोर औंलो सालीको मुखमा घुसाएका मात्र के थिए, पात्तिएका भिनाजु आत्तिएकी सालीको फेला परिहाले । बिरालोले मुसो नछोडेझैं सालीले पनि भिनाजुको औंलो टोकेको टोक्यै गरिन् । राताराता आँखा बनाउँदै बन्द मुखभित्रैबाट भनिन्, ‘कति चल्न सक्या त, आज टुक्रा पारेरै छाड्छु ।’ भिनाजुको औंला छुटाउने प्रयास पूर्णत: असफल भयो, किनभने सालीले यतिसार्‍हो टोकिरहिन् कि उनी र्‍याल–सिंगानसहित रुन थाले ।
कसैले छुटाउने प्रयास पनि गरेनन् । औंलाबाट रगत नै बग्न थालेपछि सालीको आक्रमणबाट फुत्कने अन्तिम अस्त्र प्रयोग गरे । औंला टोकिरहेकी सालीको गालामा देब्रेहातले घुम्माएर बजाए । तोरीका फूलको दर्शन गरेकी साली उछिट्टिएर चिया पिइरहेका बाबुका गिलासमा बजारिइन् । गिलासको तातो चिया ल्यापटप चलाइरहेको भाईको टाउकामा खनियो, भाइ ऐया र आत्था गर्दै उफ्रिन थाल्यो ।
अघिदेखि भिनाजुको हर्कत सूक्ष्म निरीक्षण गरिरहेको सालो भिनाजुमाथि खनियो । ‘जिस्किने पनि सीमा हुन्छ, त्यो बहिनीलाई त्यसरी किन पिटेको ?’ भन्दै भिनाजुलाई कस्सिएर दुई बक्सिङ बर्सायो । भिनाजु रन्थनिंदै ढोकाछेउमा पुगे । त्यहीबेला दिदी भित्र आउँदै थिइन्, उनको टाउकोमा नराम्रोसँग भिनाजुको टाउको ठोकियो ।
आफ्नै सुरमा आइरहेकी दिदीलाई लाग्यो, लोग्नेले मलाई पिट्यो । दिदीले पनि रिस थाम्न सकिनन्, आग्लो निकालेर भिनाजुलाई बजाइन्, ‘घरमा त पिट्थ्यौ–पिट्थ्यौ, माइतीमा पनि छाडेनौ !’ आँगनमा छिमेकी माइली काम गर्दै थिइन्, आग्लोले रन्थनिएका भिनाजु सोझै माइलीमाथि बजारिए ।
माइलीलाई लाग्यो, ज्वाइँले आफूमाथि हातपात गर्दैछन् ! ‘गुहार–गुहार, मेरो इज्जत लुटियो !’ पल्लो घरबाट उनको श्रीमान् माइलो दौडिएर आए । हेर्छन्, ज्वाइँ आफ्नी श्रीमतीमाथि चढिरहेको छ । रिसले आगो भएको माइला ज्वाइँमाथि जाई लाग्छन् । त्यो दृश्य देखिरहेको सालो कराउँदै आउँछ, ‘ठोक ठोक ठोक !’
सालाको ‘ठोक ठोक’लाई माइलाले अर्कै अर्थमा लिन्छन् । उसलाई लाग्छ, सालो भिनाजुलाई कुकर्म गर्न हौस्याइरहेको छ । अब माइलो सालातिर जाइलाग्छ, ‘तँ मास्साला, यस्तो कुकर्मलाई रोक् भन्नुपर्छ कि ठोक् भन्नुपर्छ ?‘ घुम्ने गरी घुस्सा हान्छ, केटो रन्थनिएर रुँदै बाबु–आमाछेउ पुग्छ, ‘मलाई हिर्कायो ।’
बाबु–आमालाई लाग्छ, ज्वाइँले हिर्काएछन् । सबै जना माइलीमा पसारिएको ज्वाइँमाथि धावा बोल्छन्, ‘छोरीले पुगेन, काम गर्नेमाथि लागिस् !’ सबैले एक–एक लात दक्षिणा प्रदान गर्छन् । समाज बटुल्न गएको माइलो भुत्भुताउँदै आइपुग्छ, ‘ल हेर्नोस्, अहिलेसम्म मेरी श्रीमतीलाई छोडेको छैन ।’
सालीको टोकाइ, सालाको ठोकाइ, पत्नीको भकुराइ, माइलाको पिटाइले ज्वाइँ अर्धचेत थिए, ज्वाइँको थिचाइले माइली पनि अचेत भैसकेकी थिइन् । एक जना बुज्रुक बोले, ‘दिउँसै रात पार्ने कस्ता लबस्तरा हुन् त ! हेर् माइला, तेरी श्रीमती पनि उस्तै रहिछे, कस्तो आनन्द मानेर सुतिरहेकी छे । यिनीहरूलाई गाउँ निकाला गर्नुपर्छ !’ महिला अधिकारकर्मी बोलिन्, ‘यस्तो गहिरो प्रेम रहेछ, छुटाउन हुन्न, बिहे गराइदिनुपर्छ ।’
सबैले होमा हो मिलाए । माइलो सुस्तरी बोल्यो, ‘यस्तो रहेछ र पो मसँग रिसाइरहँदी रै’छे ।’ ज्वाइँकी छोरी बोलिन्, ‘तिमीबाहेक मेरो कोही छैन भन्थ्यो, पापी यस्तो रहेछ र पो !’
यसरी सामान्य ठट्टाबाट लट्टा पर्दै अचेत र अर्धलास हुन पुगेको ठट्टे ज्वाइँ र ज्वाइँको बज्राइबाट बेहोस भएकी माइलीबीच बेहोसीमै विवाह सम्पन्न भयो ।
सुन्नेलाई सुनको माला, पढ्नेलाई पित्तलको माला, ठट्टा र चकचके ज्वाइँको बेहोसीमै बिहे भैजाला ।[साप्ताहिक]

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 369

प्रतिक्रिया (०)

सम्बन्धित खबर