झापा, १० वैशाख । झापा जिल्ला अदालतले झुटो मुद्दा लगाएको अभियोगमा पहिलोपटक शान्तिनगरकी एक महिलालाई जरिवाना र पीडितलाई क्षतिपूर्ति भराउने फैसला गरेको छ ।
अदालतले पहिलोपटक चोरीको झुटा आरोप लागेका झापा शान्तिनगरका १७ वर्षीय विशाल साँवा लिम्बूलाई निर्दोष साबित गर्दै रु पाँच हजार क्षतिपूर्ति दिने फैसला सुनाएको छ ।
जिल्ला न्यायाधीश बाबुकाजी बानियाँको इजलासले साँवालाई निर्दोष साबित गर्दै रु पाँच हजार क्षतिपूर्ति भराउने निर्णय गरेको झापा जिल्ला मै पहिलो हो । अदालतले झुटा जाहेरी दिई अनाहकमा अदालतको समय बर्बाद गरेको भन्दै झापा शान्तिनगर–१ की सुकमाया थाम्सुहाङलाई रु तीन हजार जरिवाना र पाँच हजार क्षतिपूर्ति भराउने फैसला गरेको झापा जिल्ला अदालतका स्रेस्तेदार नवराज आचार्यले जनकारी दिनुभयो ।
सुकमायाले २०७२ पुस २२ गते राति साँवाले आफ्नो घरबाट रु १६ हजार मूल्यको मोबाइल, नगद १६ हजार, कुवेती ६ रुपैयाँसहित रु १ लाख ५७ हजार ३०० मूल्य बराबरको चोरी गरेको आरोप लगाउँदै प्रहरीमा जाहेरी दिएकी थिइन् ।
उनको जाहेरीलगत्तै प्रहरीले पुस २७ गते साँवालाई पक्राउ गरेको थियो । चोरीको आरोप लागेका साँवाले थुनछेकको आदेशमा रु १८ हजार धरौटी बुझाउन नसक्दा फैसला नहुन्जेलसम्म थुनामा बस्नु परेको थियो । फैसला भएपछि उनी कारागारबाट रिहा भएका छन् ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)