Aamsanchar

भेटेको १२ लाख फिर्ता गर्ने दुई युवतीलाई सम्मान

Author Image
मङ्गलवार, वैशाख २१, २०७३

ChhwhxZU8AIivd5

धरान–सडक दुर्घटनामा परेर ज्यान गुमाएका व्यक्तिको दुर्घटनास्थलमा फेला परेको १२ लाख रुपैयाँ सम्बन्धित परिवारलाई फिर्ता गरेर उदाहरणीय कार्य गर्ने दुई युवती सम्मानित भएका छन्।

उनीहरुलाई महिला सञ्जाल धरान र राष्ट्रिय आदिबासी जनजाति महिला महासंघ सुनसरीले मंगलबार एक कार्यक्रम आयोजना गरी सम्मान गरेको हो । पैसा फिर्ता गरेर महिलाको शिर उँचो बनाएको भन्दै ती संस्थाले धरान १५ की २२ वर्षीय ज्योति राई र मोरङ उर्लाबारी ८ की २१ वर्षीय सुनिता राई सम्मान गरेको हो। उनीहरुसँगै सम्बन्धित व्यक्तिको परिवार खोजी गरेर पैसा फिर्ता गर्न समन्वयकारी भूमिका खेल्ने टिका पाख्रिनलाई पनि सोही अवसरमा सम्मान गरिएको छ। ज्योति, सुनिता र पाख्रिन छिमेकी हुन्। तीनै जनालाई महिला सञ्जालकी अध्यक्ष शिला बज्रचार्य, उपाध्यक्ष सविता राई, निवर्तमान अध्यक्ष मिना पुलामी र जनजाति महिला महासंघकी अध्यक्ष कल्पना शेर्पालगायतले खादासँगै सम्मान पत्र प्रदान गरेका थिए । मंगलबार नै नेपाली कांग्रेस धरान उपमहानगर कमिटिले पनि एक कार्यक्रम आयोजना गरि सम्मान गर्यो ।

सञ्जालकी अध्यक्ष बज्रचार्यले लोभ, लचल नभएको व्यक्ति सत्य युगमा मात्रै हुनसक्ने भन्दै तीनै जना सम्मानको हकदार भएको बताइन्। ‘कलियुग हो भन्छ, तर यो घटनाले सत्य युग लागेजस्तै भयो। सत्य युगमा मात्रै यस्तो हुन्छ जस्तो लाग्छ’, उनले भनिन्, ‘बहिनीहरुको कारण सबै महिलाहरुको शिर उचो बनाएको छ, प्रतिष्ठान बढाएको छ र महिलाहरु साच्चै नै इमान्दार हुन्छ भन्ने पुष्टि पनि गरिदिएको छ ।’ सञ्जालकी निवर्तमान अध्यक्ष पुलामीले ज्योति र सुनिताको निश्वार्थ भावना सबैको लागि अनुकरणीय भएको बताइन्। यो समयमा १२ लाख भेटेर पनि फर्काउनु सामान्य कुरा नभएको उनले बताइन् । ‘यो समयमा बाटोमा भेटेको १२ लाख कसको हो भन्दै खोजी गरेर कस्ले फर्काउला ? तर बहिनीहरुले उदाहरणीय काम गर्नुभएको छ । सबैले अनुकरण गर्नुपर्छ’,पुलामीले भनिन् ।

गत बिहीबार राति कोशी राजमार्गअन्र्तगत धरान–इटहरी सडक खण्डमा टेम्पो र मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार धरान १७ का ओमबहादुर गेलालको मृत्यु भएको थियो। आइएमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा १२ लाख रुपैयाँ भएको ब्याग ज्योति र सुनिताले भेटाएका थिए। पैसासहितको ब्याग मृतक गेलालको परिवारलाई बुझाउन उनीहरुका छिमेकी दाई पाख्रिनले सहयोगी भुमिका निर्वाह गरेका थिए । गेलालको शुक्रबार चतरामा दाह सँस्कार गरेर परिवार घर फिरेपछि साँझ उनीहरु घरमा पुगेर पैसा बुझाएका थिए । उनीहरुको इमान्दारीताबाट प्रभावित भएपछि आफन्तजनको सुझावले गेलाल परिवारले शनिबार पत्रकार माझ सार्वजनिक गरेका थिए । भेटेको लाखौं रुपैया फिर्ता गरेको घटना मिडियामा सार्वजनिक भएपछि आश्चर्य मान्दै उनीहरुलाई सामाजिक सञ्जाल र व्यक्तिगतरुपमा नै प्रशंसा गर्नेहरुको ओइरो छ ।

सम्मान थापेपछि ज्योतिले बिहिबार राती नै पैसा फर्काउन छिमेकी टिका पाख्रिन बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान गएपनि गेलालको मृत्यु भइसकेको र सहज नभएर फर्किनु परेको बताइन् । अर्काको लाखौं रुपैया बोकेर रातभरि डरले सुत्न नसकेको उनले बताइन् । ‘जसको पैसा हो, उसैको परिवारलाई बुझाइदिन पाए हुन्थ्यो भन्ने लागिरह्यो, डरले रातभरि सुत्नै सकिएन’, ज्योतिले भनिन्, ‘टिका अंकलले नडराउ, राम्रो सोचे पनि नसोचे पनि फिर्ता दिनुपर्छ, धर्म हुन्छ भनेर हौसला दिनुभयो । जसको पैसा हो, उहाँलाई नै फिर्ता गरेको हो, यसरी सम्मान पाउछौं भन्ने सोचेकै थिएनौ ।’ सहयोगी पाख्रिनले लाखौं रुपैया बोकेपछि असुक्षित महसुस गरेको साथै सम्बन्धित परिवारले पैसा अपुरो छ भनेर बुझिदिएन भने के गर्ने भनेर ज्योति र सुनिता त्यसबेला निक्कै तनावमा भएको बताए । ‘पैसाबारे प्रहरीले अनुसन्धान गर्न लैजला भनेर पनि डर थियो, तर जब सम्बन्धित परिवारलाई भेटेर पैसा बुझायौं, १ रुपैयाँ पनि तलमाथि भएन  ढुक्क भयौं’, पाख्रिनले भने ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 278

प्रतिक्रिया (०)

सम्बन्धित खबर