

काठमाडौँ – प्रतिनिधि सभा सदस्य महावीर पुनले सम्पत्ति विवरण सार्वजनिक गरेका छन्। उनले आफूसँग करिब तीन तोला सुन र कास्कीको पोखरा महानगरपालिका-७ माझठानामा चार ठाउँमा करिब २८ रोपनी जग्गा रहेको जनाएका छन्।
यो जग्गा २०५२ सालमा ४ लाख रुपैयाँ जतिमा पदम पुनसँग मिलेर किनेको उनले जनाएका छन् । जग्गा प्राप्तिको स्रोतमा उनले स्वआर्जन (अमेरिकाबाट फर्किँदा बचेको रुपैयाँ)उल्लेख गरेका छन् । जग्गा राष्ट्रिय आविष्कार केन्द्र सञ्चालनका लागि बिक्रीमा राखेको तर अझै नबिकेको उनले बताएका छन्।
उनले करिब तीन तोला सुन २०६० सालतिर किनेको तर प्राप्तिको स्रोतमा भने श्रीमतीलाई इष्टमित्रहरुले ‘उपहार दिएको’ जनाएका छन् ।

पुनले राष्ट्रिय वाणिज्य बैंकमा २५ लाख रुपैयाँ जति नगद मौज्दात रहेको उनले बताएका छन्। यसैगरी नेपाल बैंक लिमिटेडमा ४ लाख रुपैयाँ जति रहेको उनले बताएका छन्। यो रकम साथीहरूबाट व्यक्तिगत खर्चका लागि प्राप्त भएको पुनले विवरणमा लेखेका छन्
राष्ट्रिय वाणिज्य बैंकमा रहेको २५ लाख रकम भने प्रतिनिधि सभा निर्वाचन लड्दा सहयोगीहरूले दिएको चन्दाबाट बचेको उनले उल्लेख गरेका छन् ।
यसबाहेक आत्मकथा पुस्तक २ लाख ५० हजार जति बेचेको र त्यसबाट प्राप्त सम्पूर्ण रकम राष्ट्रिय आविष्कार केन्द्र तथा वीरगञ्ज कृषि औजार कारखा सञ्चालनका लागि राष्ट्रिय आविष्कार केन्द्रको नाममा नेपाल बैंक लिमिटेडमा जम्मा गरेको उनले जनाएका छन्।
यीबाहेक आफूसँग ऋण, सवारी साधन, कृषि तथा पशुधन लगायत अन्य सम्पत्ति केही नभएको जनाएका उनले छन्।
।



