![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
डोटी, २४ वैशाख । सुन्दा अचम्म लाग्छ, तर डोटी जिल्लाका धेरै ग्रामीण भेकमा बसोबास गर्ने जनताले रु १०० महसुल तिर्न एक हजार ५०० रुपैयाँ खर्च गर्नु परिरहेको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
सदरमुकाम सिल्गढी, दीपायलबाट करिब ६० किलोमिटरभन्दा बढी टाढा बसोबास गरेका जनताले यस्तो समस्या भोग्ने गरेका छन् । नेपाल विद्युत् प्राधिकरण, मुख्य शाखा कार्यालय दीपायलमा विद्युत् महसुल बुझाउन जिल्लाका बाझकाकाँनी, कालिकास्थान, खातिवडा, दहकालिका लगायतका गाविसबाट उपभोक्ता आउने गरेका छन् ।
बाझकाकाँनीका नरेश खड्काले भन्नुभयो, “हामी त अलि नजिक छौँ, दहकालिका, खातिवडा लगायतका गाविसका जनताले त रु ३०० सम्म गाडी भाडा तिरेर महसुल बुझाउन आउनुपर्छ । त्यति मात्र होइन कहिलेकाहीँ विद्युत् कार्यालयको कम्प्युटर बिग्रियो वा पालो पुगेन भने दुई दिनसम्म दीपायलमै बस्नुपर्छ ।”
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
दहकालिकाका भुवन दाहालका अनुसार गाउँमा टिभी पनि छैन, फ्रिज हँुदैन, मोटर छैन खाली बत्ती मात्र बाल्ने गर्छौं, महसुल कम आउँछ, कसैको त एक सय रुपैयाँसम्म पनि पुग्दैन । त्यही रकम तिर्न एक हजार ५०० भन्दा बढी रुपैयाँ खर्च हुन्छ । दाहालले थपे, “पहिला पहिला त नुन, तेल, साबुन, चिनी, लुगाकपडा ल्याउने निहुँले दीपायल आउँथ्यौँ, अहिले सबैकुरा यताको भन्दा गाउँमा पाइन्छ, पैसा नभए पनि व्यापारीको काम गरेर हामी सामग्री लिन्छौँ ।”
बढ्दो महँगीसँगै हरेक सामग्रीको मूल्य बढ्दैछ, दिपायलका होटेलमा १४० भन्दा तलमा खाना पाइँदैन, सुत्नको तिर्नुपर्छ, गाडी भाडा महँगो छ, सिलगढीमा बस्दै आएका एक नागरिक सचेतक तेज डुम्रेलले बताउनुभयो । विद्युत् प्राधिकरणको यो सरासर लापरबाही र ढिलासुस्ती भएको डुम्रेलको बुझाइ छ । गाउँमा बैंकिङ सेवा विस्तार भएका छन्, एनएमबी बैंकका शाखा खुलेका छन्, त्यसमार्फत समेत महसुल बुझाउन सहज बनाउन सकिन्थ्यो, तर विद्युत् प्राधिकरणले त्यसतर्फ ध्यान नदिँदा धेरै जनताले दुःख भोग्नु परेको छ ।
नेपाल विद्युत् प्राधिकरण दीपायलका प्रमुख नारायण चौधरीले डोटीका ती ग्रामीण भेकमा महसुल बुझाउने काउन्टर खोल्न समस्या हुने बताउनुभयो । टाढा पनि छ र कर्मचारीको पनि अभाव रहेको उहाँको भनाइ छ । ती ग्रामीण भेकमा रहेका बैंकिङ सेवा दिइरहेका बैंकमार्फत महसुल बुझाउने व्यवस्था गरे सहज हुने देखिएकोले यस विषयमा विचार गरिने चौधरी बताउनु हुन्छ । रासस
–––––––