Aamsanchar

भ्रम नछरे हुन्छ, बुद्ध र बुद्धत्व नेपालमै प्रादुर्भाव

Author Image
मङ्गलवार, जेठ ४, २०७३

buddha

 

[कालिका खड्का र कृष्णराज गौतम ]

काठमाडौँ ।

यस वर्ष नेपालमा मनाउन लागिएको दुई हजार ५६० औँ बुद्धजयन्ती बौद्धदर्शनको पनि उद्गम थलो नेपाल नै भएको प्रमाणित गराउन अन्तर्राष्ट्रिय बौद्ध गोष्ठीका साथ हुँदैछ ।
यही जेठ ६ र ७ गते काठमाडौँमा हुने अन्तर्राष्ट्रिय बौद्धगोष्ठीको नारा नै ‘लुम्बिनी, नेपाल ः भगवान बुद्धको जन्मस्थल तथा बुद्ध दर्शनको उद्गम भूमि’ रहेको छ । मूल नारालाई लिएर राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका बुद्धधर्म र बुद्ध दर्शनसम्बन्धी नेपाली र विदेशी गरी २४ प्राज्ञिक व्यक्तित्व, अनुसन्धानकर्ताले एक एक कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम छ ।
जेठ ६ गते उद्घाटनपछि सोही दिन १९ कार्यपत्र प्रस्तुत हुनाका साथै नायक रमित ढुङ्गानाद्वारा निर्माण गरिएको ‘बुद्ध वन इन नेपाल’ नामक चलचित्रको दोस्रो भाग देखाइने छ । जेठ ७ गते पाँच कार्यपत्र प्रस्तुत भएपछि आमन्त्रित पाहुना लुम्बिनी जाने कार्यक्रम छ । जेठ ८ गते बिहान लुम्बिनीमा बुद्धजयन्तीको उद्घाटन गर्नुहुनेछ ।

मन्त्रिपरिषद्को गत माघ २० गतेको निर्णयअनुसार प्रधानमन्त्रीको अध्यक्षतामा ५०१ सदस्यीय मूल समारोह समिति गठन भएको छ । सम्मेलन मूल आयोजकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय रहेको छ । मन्त्री आनन्दप्रसाद पोखरेलको अध्यक्षतामा १०१ सदस्यीय कार्यसमिति गठन भएको छ । सम्मेलन सफल पार्न विषयगत १३ उपसमिति निर्माण गरिएको छ ।

गोष्ठीले सिद्धार्थ गौतम बुद्धसम्बन्धी भ्रम चिर्नेछ, बुद्धको जन्मस्थल र कर्मथलो नेपाल भएकाले बुद्धको उद्गमस्थल नेपाल भएको गोष्ठीले प्रमाणित गर्नेछ भन्नुभयो । बौद्ध गोष्ठीले बुद्धसम्बन्धी अहिलेसम्म भएको तथ्य पुष्टि गर्ने उहाँको ठहर छ ।

सरकारले हरेक वर्ष बुद्धजयन्तीका दिनमा सार्वजनिक बिदा दिने गरेको छ । संयुक्त राष्ट्र सङ्घले पनि बुद्धजयन्तीलाई ‘लुम्बिनी डे’का रुपमा मनाउने गरेको छ । मूल आयोजक समारोह समितिका सदस्य सचिव बच्चुनारायण श्रेष्ठका अनुसार गोष्ठीमा भाग लिनका लागि अतिथि आउने क्रम आइतबारदेखि नै सुरु भएको छ । पाहुनालाई स्वागत गर्नका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सहयोगी कक्ष राखिएको छ र त्यसबाट बस्ने स्थानसम्म पाहुनालाई पु¥याउने लगायत सुविधा दिइने छ ।

सरकारी निमन्त्रणामा आएका पाहुनालाई कार्यक्रमस्थल होटल सोल्टीमै राख्ने चयन भएको छ भने विभिन्न बौद्धसम्बन्धी सङ्घसंस्थामार्फत आउनुभएका पाहुनालाई सोही संस्थाले व्यवस्थापन गरिने छ ।

नेपाल अन्तर्राष्ट्रिय बौद्ध अध्ययनको केन्द्र
नेपालमा बौद्धदर्शन तथा बौद्ध साहित्यको प्रादुर्भाव भएकाले यसलाई अन्तर्राष्ट्रिय बौद्ध अध्ययन केन्द्रका रुपमा विकास गर्नुपर्ने देखिन्छ ।

अहिले विश्वमा बौद्ध दर्शन तथा साहित्यको लोकप्रियताले बौद्ध धर्मका धेरै अनुयायी बनेका छन् । तत्कालीन कपिलवस्तु गणराज्यका राजा शुद्धोदनका सुपुत्रका रुपमा लुम्बिनीमा जन्म लिएका सिद्धार्थ बुद्धत्व प्राप्त गरेपछि बुद्ध कहलिएका हुन् । विभिन्न समयमा बुद्धको जन्मथलोका रुपमा परिचित लुम्बिनीलाई विभिन्न भ्रम फैलाउन विदेशीले विभिन्न हतकण्डा प्रयोग गरेको पाइन्छ ।

बौद्ध धर्मावलम्बीले बुद्धको जन्मस्थान लुम्बिनी, उनले ज्ञान प्राप्त गरेको स्थान बोधगया, बुद्धत्व हासिल गरेपछि पहिलो पटक ज्ञानको प्रवाह ( धर्मचक्र प्रवर्तन) गरेको स्थान सारनाथ र मुक्ति (महापरिनिर्वाण) स्थान कुशीनगरलाई पवित्र तीर्थस्थलका रुपमा सम्मान गर्छन् । लुम्बिनी बाहेकका क्षेत्र आज भारतमै परेको तर जन्मस्थल लुम्बिनी भने नेपालमा परेकाले भारतबाट विवादमा ल्याउने प्रयास हुँदै आएको छ ।

त्रिवि केन्द्रीय बौद्ध अध्ययन विभागका उपप्राध्यापक वेदराज ज्ञवालीले भारतले बुद्धको जन्मथलो भारत नै हो भनेर कृत्रिम लुम्बिनीको संरचना गरेर अन्तर्राष्ट्रिय जगत्लाई भ्रम फैलाएकामा चिन्ता व्यक्त गर्दै यस्तो मान्यता खण्डन गर्न कूटनीतिक माध्यमबाट भूमिका निर्वाह हुनपर्नेमा जोड दिनुभयो ।

शाक्यमुनि गौतमले प्रतिपादन गरेको दर्शनले उनको लोकप्रियता तत्कालीन समयमा बढेको र पछि पनि निरन्तर रुपमा एउटा गति लिएको थियो । तत्कालीन समयमा अहिलेको दक्षिण एसियाका अधिकांश भूभाग भारत वर्षमा परे पनि सिद्धार्थले लुम्बिनी बगैँचामा जन्म लिएको स्थान आधुनिक नेपालभित्र पर्न सकेको थिएन । समय बित्दै जाँदा लुम्बिनी नेपालको भूगोलमा एकीकृत भएपछि उक्त स्थान नेपालीको गौरव र प्रतिष्ठासँग जोडिएको छ ।

थेरवादी र महायानी परम्परामा बौद्ध धर्मको अभ्यास सुरु भएपछि सोही अनुसारका सम्प्रदायको विकास भएको पाइन्छ । त्यसैगरी शिक्षा तथा साहित्यमा समेत त्यसको प्रभाव रहेको छ । अखिल नेपाल भिक्षु महासङ्घका महासचिव भिक्षु कौडिण्यका अनुसार बुद्धले सांसारिक जीवनमा देह त्याग गरिसकेपछि तत्कालीन समयमा अस्तित्वमा रहेका विभिन्न धर्म,संस्कृति आफ्नै किसिमबाट सञ्चालन तथा अभ्यासमा थिए ।

बुद्ध दर्शनबाट भारतका तत्कालीन सम्राट् अशोक समेत प्रभावित भए । उनले गरेको युद्धबाट ठूलो नरसंहार भएको थियो । कलिङ्गको युद्धपछि उनी शस्त्रास्त्र त्यागी बौद्धदर्शन तथा उपदेशको प्रचारप्रसारमा लागे । उनले त्यस क्षेत्रमा राख्न लगाएको अशोकस्तम्भ नै लुम्बिनी नेपालको हो भन्ने ठूलो आधार हो । अशोकले आफ्नी छोरी चारुमती मार्फत चाबहिलमा चारुमती विहार निर्माण गर्न लगाएका थिए, जुन प्राचीन विहारमध्ये एक मानिन्छ ।

त्यस्तै चीनका हुयेन साङले नेपालमा आएर लेखेको यात्रा विवरण लुम्बिनी नेपालको भएको अर्को आधार हो । यस्ता थुपै्र आधार भेटिन्छ जसले बुद्ध जन्मथलो लुम्बिनी भएको प्रमाण दिन्छ । बुद्ध जन्मेको राष्ट्र नेपाल भए पनि यहाँ बुद्ध धर्मले दोस्रो धर्मका रुपमा उचाइ लिएको छ । बुद्ध धर्मका महत्वपूर्ण र ऐतिहासिक सम्पदा देशका विभिन्न स्थानमा छन् ।

बुद्धको महापरिनिर्वाणपछि त्यस धर्ममा आएका विभिन्न सम्प्रदायका कारण धर्मावलम्बीमा समेत केही विभाजन पाइएको बौद्ध विद्धान् टीका शेर्पाले बताउनुभयो ।

केन्द्रीय तथ्याङ्क विभागले गरेको राष्ट्रिय जनगणना २०६८ अनुसार नेपालमा हिन्दू ८१. ३४ प्रतिशत, बौद्ध ९.०४ प्रतिशत, इस्लाम ४.३९ प्रतिशत, किराँत ३.०५ प्रतिशत, इसाइ १.४२ र अन्य धर्म ०.७६ प्रतिशत छ ।

देशमा विभिन्न समयमा भएका राजनीतिक घटनाक्रम तथा आन्दोलनका प्रभाव र देशमा भएको समग्र जनसङ्ख्यामध्ये बहुसङ्ख्यक हिन्दू धर्मावलम्बीको बसोवास रहँदै आएकाले नेपालमा लामो समयदेखि राज्यले नै हिन्दू धर्मको संरक्षण गर्दै आएको हो । धर्मनिरपेक्षता तथा हिन्दू राष्ट्रको बहस अहिले पेचिलो बन्दै गएको छ । रासस

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 293

प्रतिक्रिया (०)

सम्बन्धित खबर