Aamsanchar

महिना नपुगी बच्चा जन्मनुको कारण धुम्रपान

Author Image
शनिवार, जेठ ८, २०७३

garva

भक्तपुर।

समय अगावै प्रसव सुरु हुनामा गर्भवतीले गर्ने धूमपान एक प्रमुख कारण भएको सरोकार भएकाहरुले बताएका छन् ।
स्वास्थ्य अधिकार तथा सुर्ती नियन्त्रण जिल्ला सञ्जाल, भक्तपुर र चित्तपोल सामुदायिक अध्ययन केन्द्रले शुक्रबार आयोजना गरेको कार्यक्रममा विज्ञले गर्भवतीका नजिक अन्य व्यक्तिले गर्ने धूमपानले समेत महिलाको प्रसव समयलाई असर गर्ने बताए ।

गर्भवती र बालबालिकाको नजिकै गरिने धूमपानको धुवाँले सेवनकर्तालाई भन्दा नजिकै बसेकाहरुको स्वास्थयमा ४० गुणा बढी असर गर्ने बताइएको छ ।

कार्यक्रममा स्त्रीरोग विज्ञ डा कृष्णप्यारी दुगुजुले नौ महिना नपुग्दै प्रसव व्यथा लागेर अस्पताल आउनेको सङ्ख्या बढ्नाको प्रमुख कारणमध्ये एक अप्रत्यक्ष धूमपान रहेको बताउनुभयो । दिन नपुग्दै व्यथाले च्यापिनेको यकिन तथ्याङ्क नभएकाले अनुसन्धानको खाँचो आँैंल्याउँदै उहाँले भ्रूण तुहिनाको प्रमुख कारण पनि अप्रत्यक्ष धूमपान रहेको जानकारी दिनुभयो ।

सिद्धार्थ ज्योति नेपालको संयोजनमा भएको सो कार्यक्रममा डा दुगुजुले नेपालमा गर्भवती अवस्थामा धूमपान गर्नुहुन्न भन्ने सन्देश पुगे तापनि गाउँघरमा गर्भवतीले सुर्तीयुक्त गुट्खा र पान सेवन गर्ने प्रवृत्तिले आमा र शिशुको स्वास्थ्यमा नकारात्मक असर गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “श्रीमान् र सासूससुराले गर्भवतीकै छेउमा धूमपान गरिदिँदा अप्रत्यक्ष धूमपान हुन गई बच्चाको टाउको ठूलो हुने, सुस्त मनस्थितिको बच्चा जन्मिने, गर्भ तुहिने, शिशु र आमाको रोगप्रतिरोधात्मक क्षमता ह््रास भइरहेको छ ।”

कार्यक्रममा चित्तपोल स्वास्थ्य चौकीका इन्चार्ज खेमनन्द पौडेलले प्रत्यक्ष र अप्रत्यक्ष धूमपानका कारण गर्भवतीले जन्म दिएको शिशुको तौलमा कमी आउने, पूर्ण रुपले विकास नभइकन शिशु जन्मने खतरा हुने र शिशुमा दीर्घकालीन रोग निम्तिने जानकारी दिनुभयो । उहाँले समुदायको सहयोगमा कम्तीमा स्वास्थ्य चौकीको वरपरलाई सुर्ती निषेधित क्षेत्र घोषणा गरिने प्रतिबद्धता जनाउनुभयो ।

सञ्जालका जिल्ला संयोजक रत्नश्वरी चवालले नेपालमा ३७ प्रतिशत महिलाले प्रत्यक्ष धूमपान गर्ने गरेको जानकारी दिनुभयो । विगतमा गाउँघरका महिलाले नबुझेका कारण र सहरी महिलाले सौखिनता प्रदर्शन गर्न मात्र धूमपान गर्ने गरेकामा हाल धूमपानसेवनकर्तामा शिक्षित किशोरीको सङ्ख्या बढ्नाले चिन्तित तुल्याएको बताउनुभयो ।

हिन्दी र पश्चिमा चलचित्र अनि युट्युबमा पाइने सी ग्रेडका अश्लील नेपाली छोटा चलचित्रमा नायिकाले धूमपान गर्ने दृष्य अधिक हुँदा किशोरीलाई सुर्ती सेवन गर्न उक्साएको उहाँको ठम्याइ छ । “यसलाई नियन्त्रण गर्न सरकारले कानुनको कार्यान्वयनमा तदारुकता देखाउनुपर्छ,” उहाँले भन्नुभयो ।

चित्तपोल सामुदायिक अध्ययन केन्द्रका मनशोभा त्वाती र देउजागाउँ माविका निमित्त प्रअ निर्मल माकले आफ्नो गाउँघरका सार्वजनिक ठाउँलाई धूमपान निषेधित क्षेत्र बनाउने प्रतिबद्धता व्यक्त गर्नुभयोे ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 222

प्रतिक्रिया (०)

सम्बन्धित खबर